पर्यटन भित्र एउटा पक्ष छ ग्रामीण पर्यटक । पर्यटन भन्ने बित्तीकै धरैको बुझाइमा कैला कपाल, कुहिरो आँखा भएका तेस्रो मुलुकको मानिसहरुलाई लिने गरिन्छ । तर त्यस्तो बुझाई गलत हो । पर्यटक जो पनि हुन सक्दछ । पछिल्लो समय हामी नेपालीहरुमा पनि घुमघामको सस्कृतिको विकास भएको छ । पर्यटनको विकासमा यसलाई राम्रो मान्नु पर्दछ । जाजरकोट ग्रामीण पर्यटनको लागि उपयुक्तस्थल मानिन्छ । जाजरकोटमा पर्यटनसंग जोडिएको इतिहास र दर्जनौ सम्पदा र सस्कृति रहेका छन् ।

नेपाल सरकारले सार्वजनिक गरेको देशभरका एक सय पर्यटकिय गन्तब्यमा जाजरकोट दरबारलाई पनि सुचिकृत गरिएको छ । यो दरवार जाजरकोटको ऐतिहासिक, राजनैतिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय बर्ष पुरानो दरबार हो । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको खलगामा रहेको दरबार पर्यटकको गन्तब्य मात्र होइन जिल्ला प्रशासनको केन्द्र पनि हो । जाजरकोट घुमघामको लागि जाने पर्यटकहरुको अध्यन अवलोकन धेरै पर्यटकहरुको यहि दरवारबाट सुरुहुन्छ जाजरकोट जिल्लामा वाह्य पर्यटकहरु धेरै नपुगे पनि ग्रामणि पर्यटनको लागि घुमफिर गर्ने धेरै स्थलहरु छन् । जाजरकोटको खलगाबाट रुकुम र सल्यान जिल्लाका धेरै गाउँहरु अवलोकन गर्न सकिन्छ । डोल्पा देखि बग्दै आएको भेरीनदीको नागवेली आकारको सुन्दरताले जाजरकोट पुग्ने सबै पर्यटकहरु आकर्षित हुन्छन् ।

जाजरकोटको राजधानी शुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य तत्कालिन राजा देव सिंहको घोडाले चरिचरण गर्दा खलंगाको टाकुरामा मन पराएको र बाईसे चौविसे राज्यको लडाई चलिरहेका बेला सुरक्षा दृष्ट्रिकोणले पनि उपयुक्तस्थान भएको ले १६ औ शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो । खलगामा शुरुमा सामान्य दरबार निर्माण भए पनि १८ औ शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले सात तले दरबारको निर्माण गरेका थिए । दरवार निर्माण गर्न भक्तपुरका कालिगढले डिजाइन गरेका थिए । दरवारमा रुकुमको चौरजहारीको इँटा प्रयोग भएको थियो । दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायण थान लगायत रहेको थियो ।

वि.सं. १९९० सालको भूकम्पले दरबार भत्किएपछि पुन निर्माण गर्दा अहिलेको स्वरुप चार तला मात्र बनाइएको हो । दरबार बीच रानीहरुले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वार भने अहिले छैन । वि.सं. १९१४ मा ताक्लाकोटको लडाइँमा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले विजय हासिल गर्दाका छालाको तोप र अन्य हतियार अहिले राष्ट्रिय संग्रहालय छाउनीमा रहेको छ  । सरकारले २०१७ सालमा राजा रजौटाको उन्मूलन गरेपछि जाजरकोट राज्यका अन्तिम राजा प्रकाश विक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा दरबार बिक्री गरेका थिए । त्यसपछि दरबारमा जिल्ला प्रशासन कार्यालय बस्दै आएको छ । इतिहासमा रुचि भएका पर्यटकहरुलाई यो दरवारको अध्यन अवलोकनले धेरै कुरा सिकाउछ ।
जाजरकोट सस्कृतिको धनि जिल्ला मानिन्छ । जाजरकोटमा धामी झाक्रीको विस्वास गर्ने प्रचलन छ । मेला पर्वमा गाउँमा धामी नाच हुने गर्दछ । ग्रामीण भेगमा घुमफिर गर्दा धामी सस्कृति र नाचँहरु पर्यटकहरुले देख्न सक्दछन् । पैंक, नायकबाडा, रामीडाडा, रोकायगाउ, सक्ला, लहा, टालेगाउ, अर्छानी, दसेरा, पजारु, थालारैकर, मजकोट, ढिमे, गर्खाकोट लगायतका विभिन्न गाउँमा अझै पनि धामी नाचँ नाच्ने प्रचलन छ । गाउँमा भएका मष्ट्रा, महादेव, भइयार, मठोभइयार, बर्मा, पितर, सुवाकोटी, बुवाकोटी, रागामाजिलो, नदाइदेवी लगायतका देवीदेवताको पूजा आजामा धामी नाचँ नाच्ने गर्दछन ।

देवीदेवताको पूजाआजा र नाचले विभिन्न रोग नलाग्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने, अन्नबाली तथा पशुचौपाया उत्पादनमा वृद्धि हुने लगायतका भाकल पूरा हुने विश्वास अधिकाशं जाजरकोटीको छ । जाजरकोटका स्थानीयका लागि यो ठूलो पर्व मानिन्छ । माओवादी जनयुद्धमा समेत यो संस्कार रोकिएन । देवताको पूजाआजा गर्न र धामी नाचँ हेर्न हजारौंको ग्रामीण पर्यटकहरुको भीड लाग्ने गर्दछ । धामीहरु दमाहा, शंख, घण्ट, झ्याली, ट्याम्का, सहनाई जस्ता बाजागाजाको तालमा रमाउदै नाच्ने गर्दछन् । लामा लटा पालेका, हातमा ध्वजा, त्रिशूल, चौंरी गाईको पुच्छर, अक्षता, घण्ट र फलफूल समातेका उनीहरु उफ्रदै नाच्दै बीच–बीचमा झारफुक, ग्रहदशा हेर्दै भूतप्रेत भगाउने कार्यसमेत गर्ने गर्दछन् ।

जाजरकोटमा ग्रामीण पर्यटकहरुको लागि प्रशस्त सम्भावना रहेको छ । समुद्री सतहदेखि ५ हजार ४ सय १२ मिटरसम्मका अग्ला पहाड र जाजरकोटबाट सिस्ने एवं जलजला हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । भेरी नदी किनारमा तत्कालीन जाजरकोटी राजा दिपनारायण शाहले आफनी आमाको संझनामा वनाएको महामुक्तेस्वर तथा दिप दुर्गेस्वर मन्दिर र पछि निर्माण भएको शिवेस्वर मन्दिरमा जाजरकोट पुगेपछि तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् । यी मन्दिरहरुमा खास गरी तीज, चैते दशैं शिवरात्री र शिवालय क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । जाजरकोटको सबैभन्दा अग्लो डाँडा भैरीको लेक पर्दछ । भैरी लेकमा हिमाली मृगहरु को चरिचरन क्षेत्र हो । भैरी लेकबाट कैलाली, अछाम, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, सल्यान, रोल्पा, डोल्पा र हिमाली दृष्य पनि देख्न सकिन्छ ।

जाजरकोटी राजा हरिविक्रम शाहीकी छोरी बालकुमारीको विवाह श्री ३ चन्द्रशमशेरसगँ भएको थियो । चन्द्र शमशेरले विवाह गरेपछि जाजरकोटमा वि.स.१९८५ मा रुकुमको चौरजहारी र जगतीपुर, मटेला जाजरकोट जोड्ने भेरी नदीमा पुल बनाएका हुन । यो पुलनै नेपालको पहिलो झोलुङे पुल हो । वि.स.१९८५ सम्म नेपालमा झोलुंगे पुल नै थिएन । सर्वसाधारण नागरिक पौडेर वा विभिन्न माध्यमबाट नदीहरु तर्नुपर्ने बाध्यता थियो । भेरी नदीको यो पुल बृटिसहरुको सहयोगमा स्कटल्याण्डको इञ्जिनीयर द्वारा निर्माण भएको हो । मटेला भेरीनदीको पुल अझै केही बिग्रीएको छैन–जस्ताको तस्तै छ । चन्द्र शमसेरले जाजरकोट खलगामा खानेपानीको ब्यवस्था समेत गरिदिएका थिए । जुन खानेपानी अहिले सम्म पनि जाजरकोटको सदरमुकाम खलंगाका जनताले खान पाइराखेका छन ।

कुशे गाउँपालिका अन्तर्गत पर्ने ढिमे, पैंक, पजारु, टालेगाउँ र अर्छानी गाउँमा ग्रामीण पर्यटकहरुलाई घुमघामका धेरै स्थलहरु छन् । कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन सरुगाड र चैयागाडका दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो । यी गाउँमा घुमघाम गर्दा पर्यटकहरुले विभिन्न प्रजातिय जडिबुटी, बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन र कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा समेतको अवलोकन गर्न सक्दछन् । जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन पर्यटकहरुलाई आकर्षणको थलो पनि हो । च्याखुरे देउराली पाटनमा अर्थात जुम्ला र जाजरकोटको सिमानामा पर्ने साइक्वारी दह तीर्थाटन पर्यटकहरुको गन्तब्य हो । यस धार्मिक स्थलमा विशेष गरी जुम्ला र जाजरकोट मात्र होइन अन्य जिल्लाका धेरै ग्रामीण पर्यटकहरु पनि श्रावण पुर्णिमामा पुजा आजा गर्न पुग्ने गर्दछन् । यहा पुग्दा जाजरकोटको भूगोलमा ७ भन्दा बढी दहहरु र जुम्लाको भूगोलमा ३ भन्दा बढी दहहरु छन् ।

जाजरकोटको चाखुरे हिमाल अर्थात कुशे मुसे लेक पनि भनिन्छ । कुशे लेककाट जुम्ला जाने पैदल मार्ग छ । जाजरकोट घुमघाममा जाने पर्यटकहरुले खलंगां, पाचकाटे, ढिमे हुदै सरुखोला भएर कुशेको लेक पार गरी जुम्ला जान सकिन्छ । जुन मार्गबाट पहिला जुम्लाका ब्यापारीहरु घोडा लिएर ब्यापारको लागि जाजरकोट हुदै सल्यान दाङ झर्ने छोटो र प्रमुख पैदल मार्ग हो । जाजरकोट खलगादेखि पाँचकाटीया हुँदै बारेकोटबाट जुम्ला जोडने छोटो दूरीको सडक निर्माण हुन लागेको छ । कुशे लेकबाट जुम्ला र डोल्पामा पर्ने काञ्जिरोवा र कागमारा हिमालका लोभलाग्दा दृश्यहरु देख्न सकिन्छ । टालेगाँउ र अर्छानी गाउँको भूगोलमा काइनाइट र टुर्मालिन पत्थरका खानीहरु रहेका छन् । विश्वकै उत्कृष्ट बहुमूल्य काइनाइट, टुर्मालिन, गार्नेट, रुवीलगायतका रत्नपत्थरको भण्डार मात्र होइन जाजरकोटमा पाइने फलाम, तामा, ग्राफाइडजस्ता खनिजको बारेमा पर्यटकहरुले अध्यन अवलोकन गर्न सक्दछन् ।

जाजरकोट छिन्चु–जाजरकोट मोटरमार्गले जोडिएको छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको केन्द्रबिन्दुमा जाजरकोट जिल्ला पर्दछ । भारत र चीनलाई जोडने त्रिदेशीय दु्रतमार्गका रुपमा रहेको भेरी करिडोर जाजरकोट जिल्ला भएर डोल्पा हुदै चिनको सिमानामा जोडिन्छ । बाकेको भारतीय सिमा जमुनवा देखि चिनको सिमा सम्मको यो सडक एक हजार ७७६ किलोमिटर लम्बाई रहेको छ । अर्को तर्फ निर्मांणाधिन मध्यपहाडी लोकमार्गको कुल १ हजार ७६५ किलोमिटर मध्य जाजरकोट खण्डमा ८२ किलोमिटर पर्दछ । अहिले जाजरकोटमा छिन्चु–जाजरकोट र जाजरकोट–डोल्पा दुनै सडक सञ्जालले छोएको छ । जाजरकोट दुनै सडक रुकुम र जाजरकोट जिल्लाको भूगोलमा पर्ने गरी निर्माण भएको छ । जाजरकोट खलगा देखि एक सय १६ किलोमिटर लम्बाइको यो सडकमा अझै पनि धेरै ठाउमा पुल बनेको छैन ।

जाजरकोटका महत्वपुर्ण पर्यटकिय क्षेत्रलाई सरकारले सार्वजनिक गरिएको गन्तब्यमा परेको छैन । जाजरकोटमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु पर्ने जगतिपुर दरबार क्षेत्र, खलंगाका शिवालय मन्दिर, कालिका मन्दिर, मालिका मन्दिर, पैकको मष्टा मन्दिर, पजारुको चैत्य स्तुपा, बारेकोटका साइकुवारी, संख दह, कुकुर दह, राँगाबाचिलो, ठाकुरजी लगायतका पर्यटकिय क्षेत्रहरु छन् । जाजरकोटमा पर्यटन विकासको लागि यी पर्यटकियस्थल को पुर्वाधार निर्माणको सुरुवात भएको छ । पर्यटन विकासका लागि जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाहरुमा पदमार्ग र भौतिक संरचनाहरु निर्माण कार्य हुन थालेको छ ।

सामुदायिक वन क्षेत्रभित्र पर्या–पर्यटन प्रवद्र्धन विकासको लागि बडालेख–झ्याकुरे टाकुरा पदमार्गको निर्माण भएको छ । पल्सेनी–बाल्यतरा–फेरा पर्यटन पदमार्ग पनि निर्माण हुन थालेको छ । त्यसैगरि कुशे गाउँपालिकाको ताँकाचौर–अरछानी–नदहीडाब पर्यटन पदमार्गको निर्माण कार्य भईरहेको छ । अर्को तर्फ कुशे गाउँपालिकाको खुर्पा, समाईला, हानिसल्ला–बारेकोट पर्यटन पदमार्गको पनि निर्माण कार्य हुन लागेको छ । नलगाड नगरपालिका–१३ औलगुर्ता, खेत्तमा, व्युरुपा, सिउन हुदै मुटकेचुला पर्यटन पदमार्गको पनि निर्माण कार्य भईरहेको छ । पछिल्लो समय जाजरकोटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका ७५ भन्दा बढी पर्यटकीयस्थलको नाम सूचीकृत गरिएको छ ।

डोल्पा जिल्लाको प्रवेशद्धारको रुपमा रहेको जाजरकोटको जलाशययुक्त नलगाड जलविद्युतले पर्यटन विकासमा सहयोग पुग्ने अनुमान गरिएको छ । जाजरकोटमा घुमघाममा जाने ग्रामीण पर्यटकहरुले विभिन्न गाउँका जङ्गलमा पाइने ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी, विश्वकै दुलर्भ वन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, जलेवा, डाँफे, मुनाल, कस्तुरी लगायतका जनावर र पंक्षीले पनि पर्यटहरुलाई आकर्षण गर्दछ । छेडाखोलाका माछा, पाली, कल्पत र मैदेको कात्तिके मह र बारेकोटी गाभालाई जाजरकोट पुग्ने पर्यटकहरुको रोजाइमा पर्दछ ।

जाजरकोटको नाम झारकोट शब्दको अपभ्रंश भै जाजरकोट भएको हो । जाजरकोटमा पहिले चारैतिर बाक्लो झारजंगल भएको र बिचमा कोट भएकोले यसलाई झारकोट भन्दा भन्दै जाजरकोट भएको भन्ने भनाइ छ । खलगाको अर्थ डाडामा रहेको र पर्खालले घेरिएको किल्ला हो । जाजरकोटको खलंगा समुद्री सतहबाट करीब १२ सय मिटरको उचाइमा रहेको छ । राजनीतिक रुपबाट जाजरकोट अहिले तीन नगरपालिका र चार गाँउपालिकामा विभाजन गरिएको छ । जाजरकोटबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई सदस्य निर्वाचित हुन्छन । जाजरकोट जिल्लाको सिमाना पूर्वमा रुकुम र डोल्पा जिल्ला पश्चिममा– सुर्खेत र दैलेख जिल्ला उत्तरमा– जुम्ला र कालिकोट जिल्ला दक्षिण– रुकुम र सल्यानले सिमा दिएको छ ।

जाजरकोटको इतिहास
नेपाल एकिकरण हुनुभन्दा पहिले अर्थात २०१८ साल भन्दा पहिले जाजरकोट जिल्ला सल्यानमा थियो । सल्यान, रुकुम, रोल्पा र जाजरकोटको गौडा सल्यानमा रहेको थियो । ०१८ सालपछि १४ अञ्चल र ७५ जिल्ला नेपालको प्रशासनिक क्षेत्र बिभाजन गर्ने समयमा जाजरकोट छुट्टै जिल्ला बनेको हो । भुरे टाकुरे शासन कालमा कर्णाली भेगको जुम्ला जिल्लाको सिंजा क्षेत्रमा खस जातीका मल्ल राजाहरुले एउटा बिशाल राज्य थियो । अहिलेको जाजरकोट क्षेत्रपनि त्यस बेला सिजा राज्यमा थियो । धेरै राजाहरुले राज्य गरिसके पछि ई.स.१८३३ मा जुम्ला राज्य टुक्रिएर स–साना बाईसे चौबिसे राज्य भयो । त्यसै समयमा अर्थात शाके सम्वत १३००–१४५५ को अवधीमा भेरी नदीको पश्चिमी जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य संचालन गरेका थिए । त्यो समयमा जाजरकोट एउटा साम्राज्य राज्यको रुपमा बिकसित भएको थियो । त्यसको सिमाना जुम्लाबाट दक्षिण गंगा नदीसम्म, पश्चिममा दैलेख र पुर्वमा गण्डकी नदीसम्म फैलिएको थियो । पृथ्वी नारायण शाहले नेपाल एकीकरण बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रुपमा मान्यता दिएका थिए ।

कसरी पुग्ने जाजरकोट
काठमाण्डौ, नेपालगन्ज र सुर्खेत देखि दैनिक सार्वजनिक बससेबा छ । जाजरकोट पुगेपछि गाउँमा घुमघाम गर्न अधिकाशं गाउमा पुग्न कच्ची सडक छन् । तर पनि पैदल यात्रामा घुमघाम गर्न रुचाउने ग्रामीण पर्यटकहरुका लागि छुट्टै मज्जा र प्राकृतिक मनमोहक आनन्द लिन सकिने छ ।

प्रतिक्रिया

प्रतिक्रिया