नर्सिङ्गका लागि नाम निकालिदिन्छु भन्दै ३ लाख बढी ठगी

प्रहरीमा उजुरी, अझै पक्राउ परेनन् दोषी

विभिन्न बहाना बनाएर ठगीका बेलाबखत ठगीका विषय बाहिर आउने गरेका छन् । कहिले पुलिस, सेना त कहिले जागिर लगाइदिन्छु त कहिले नर्सिङ्ग बनाइदिन्छु भनेर ‘फ्रड’हरुले सोझा साझालाई झुक्याउँदै लाखौं रुपैयाँ कुम्ल्याउने गरेका छन् ।

बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै दुई महिला ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेको छ । घटनामा कोही पनि अझै समातिएका छैनन् । ‘नर्स बनाउँछु भनेर ठगिएको उजुरी आएको छ, हामी अनुसन्धानमा रहेका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘घटनाबारे अनुसन्धान अघि बढेको छ ।’

प्रहरी स्रोतका अनुसार, आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै तीन जनालाई ठगेका छन् । पीडित दाङ्ग र लमही महिलाले पैसा बुझाएपछि पनि आफ्नो काम नभएपछि अस्पताल पुगेपछि अस्पतालले प्रहरीलाई बोलाएको थियो । ‘नर्स हुँदै ठग्ने दुवै नर्स नभएको हाम्रो प्रारम्भिक अध्ययनबाट खुलेको छ’, प्रहरी अधिकारीले भने, ‘ठगीको विषय भएको पुष्टि भएको छ ।’

नर्स बनाउँछु भन्दै पैसा दिएका महिलाहरु घुस दिए वापत आफुलाई पनि सजाय हुन सक्ने भयले लामो समय प्रहरी समक्ष नपुगेको प्रहरी अधिकारी बताउँछन् । नर्स भन्दै असुली गर्ने प्युठान र दाङ्गको भएको बताइएको छ । उनीहरु नेपालगन्जका अस्पतालमा नर्स रहेको बताएकाले प्रहरीले त्यसबारे बुझ्दा झुट्टा ठहर भएको बताएको छ ।

केही साता अघि कोहलपुरमा पनि नर्स बनाइन्छु भन्दै ठगी भएको विषयमा मिलापत्र भएको थियो । ‘ठगिएको विषय आएपनि पैसाको लेनदेन भएकाले उजुरी नआएपछि कारवाही अगाडि बढाएनौ’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालले भने ।

यसअघि ठगी घटनामा एक जना पक्राउ परेको भनिएपनि त्यसको पुष्टि हुन सकेको छैन । बाँके प्रहरीले यसबारे अनुसन्धान भैरहेको बताएपनि घटनाको बिस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

साढे ३ बर्षमा ४२ मुद्दा

बाँकेमा बेला बेखत विभिन्न खालका ठगी मुद्दा दर्ता हुने गरेका छन् । कोरोनाका बेला समेत प्रहरीमा ठगी सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, जिल्लामा साढे ३ बर्षको अवधीमा ठगी सम्बन्धी ४२ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको मुद्दा फाँटका अनुसार, आ.व. २०७५/०७६ मा १३, आ.व. २०७६/०७७ मा १०, आ.व. २०७७/०७८ मा १३ र आ.व. २०७८/०७९ को कार्तिकसम्म ६ वटा मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया