नेतृत्व खोज्दै खजुरा खानेपानी

खजुरा खानेपानी तथा उपभोक्ता समितिको २२ औ साधारण सभा शनिवार सकिएसँगै आगामी कार्यकालको नेतृत्व खोजी शुरु भएको छ । शनिवार औपचारिक कार्यक्रमबीच खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले साधारणसभा उद्घाटन गरे ।


साधारण सभाले नयाँ कार्यसमितिको निर्वाचनका लागि मित्रलाल सापकोटाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन समितिले पहिलो बैठक बसि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्ने निर्णय गरेको संयोजक सापकोटाले जानकारी दिए ।


खजुराका ८४८ घरलाई पानीको सेवा प्रदान गर्दै आइरहेको खजुरा खानेपानी तथा उपभोक्ता समितिमा आफ्नो अनुकूल नेतृत्व लैजान राजनीतिक पार्टीहरुले कसरत थालेको देखिन्छ । सत्ता गठबन्धनले आफ्नो साझा प्यानल बनाएर जान कसरत गरेपनि कार्यकर्ताले मान्न तयार देखिएका छैनन् ।

‘काँग्रेसमै श्रवणधीर खड्का र अरबिन्द गोदार दाबेदार छन्,’ पार्टी स्रोत भन्छ, ‘गठबन्धन भनेर अब काँग्रेसले छाड्ने अवस्था छैन ।’ बहालवाला अध्यक्ष दीपक ढकाल माओवादी सम्बद्ध रहेपनि समझदारीमै नेतृत्व जिम्मेवारी सुम्पिएकाले अबपनि सर्वसम्मत हुनुपर्ने गठबन्धन सम्बद्धको भनाइ छ ।


नेकपा एमाले सम्बद्धहरु एक्लै लड्ने विचारमा छन् । यद्धपि, एमालेले अघि सारेका उम्मेदवार सतिश निरौलाले ‘सकेसम्म सहमतिमै उचित हुने’ बताए । ‘नभए त चुनाव नै हो विकल्प,’ निरौलाले भने, ‘यसलाई गैर राजनीतिक प्लेट फर्म बनाएर अघि बढौं भन्ने हाम्रो प्रस्ताव हो, राजनीतिक ढंगको निर्वाचन त स्थानीय तहमा लडांैला नि भन्ने हाम्रो प्रस्ताव छ ।’

प्रतिक्रिया

प्रतिक्रिया