विद्यालय अझै नखुल्ने, बजारमा नियमन नहुने ?

प्रशासनको निर्णय यथावत, सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य

बाँकेका विद्यालय अझै सञ्चालनमा नआउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले शनिबार यसअघिको निर्णय अर्को आदेश नहुँदासम्मका लागि कार्यान्वयनमा रहने आदेश दिएसँगै भौतिक उपस्थितिमा विद्यालयको अध्ययन, अध्यापन नहुने भएको हो । हेर्नुस् आदेश

बाँकेका कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले पालना गर्नुपर्ने सचेतनाका नियमहरु सार्वजनिक यसअघि गरेको थियो । प्रशासनले निर्णय यथावत राखेपछि २५ जना भन्दा बढी भेला हुन नपाइने, भेला हुनुपरे प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने भएको छ । प्रशासनका अनुसार, सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरेको छ । प्रशासनले खोप कार्ड मोबाइलमा भएपनि खिचेर राख्नुपर्ने निर्देशन जारी गरेको छ । निर्देशन पालना भएनभएको नियमन वा निगरानी भने भएको छैन ।

प्रशासनले माघ मसान्तसम्म जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कार्यक्रमहरु सञ्चालन नगर्न यसअघि सूचित गरेको छ । प्रशासनले माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्रै उपस्थित हुने गरी भेला गर्न भनेको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिम खाना, फुटसल, पटके हाटबजार लगायतमा रोक लगाएको प्रशासनले त्यसलाई निरन्तरता दिएको छ ।

प्रशासनले धार्मिक स्थलमा नित्य पुजा, ध्यान र प्रार्थना बाहेकका कार्यमा पनि रोक लगाएको छ । सपिङ, मल, डिपार्टमेन्ट स्टोर लगायतमा २५ जना भन्दा बढी भेला नहुने र स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न प्रशासनले यसअघि नै निर्देशन जारी गरेको थियो ।

बाँकेमा विवाह, ब्रतबन्ध, न्वारन, पास्नी जस्ता सांस्कृतिक कार्यक्रममा ५० जना भन्दा बढी भेला हुँदा प्रशासनको पूर्व स्वीकृति अनिवार्य गरिएको छ । प्रशासनले सार्वजनिक यातायातमा सुरु स्थानदेखि अन्तिम गन्तव्यसम्म बीचमा यात्रु नचढाउन, क्षमता भन्दा बढी यात्रु नराख्न, यात्रुहरुको विवरण जिल्ला कोभिड व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

होटल तथा रेष्टुरेन्टमा पनि कोभिड विरुद्धको मापदण्ड पालना गराउन प्रशासनले निर्देशन दिएको छ । प्रशासनले होटलमा बास बस्ने ग्राहकको एन्टिजेन परीक्षण गर्न र सोको विवरण उपलब्ध गराउन समेत निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया