सीमा नाकामा हेलचक्रयाईँ, अस्पतालमा शुन्य तयारी
सीमामा न त स्वास्थ्य परीक्षणको लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफै संक्रमित भएका छन् ।
रामप्रसाद आचार्य
पहिलो र दोस्रो चरणको कोरोना संक्रमणमा हटस्पट बनेको लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा तेस्रो चरणको संक्रमण फैलिसकेको छ । दैनिक कोरोना संक्रमण बढ्दै गएको र रोजगारी पनि गुम्दै गएकाले कामको खोजीमा भारतमा गएकाहरु धमाधम नेपाल आइरहेका छन् । यसले पनि भारतसँग सीमा जोडिएका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा संक्रमणको जोखिम बढ्दो छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हरेक दिन यी जिल्लामा रहेका सीमा नाकाबाट आउनेको संख्या बढिरहेको छ भने संक्रमितको संख्या पनि बढ्दै गएको छ । यी जिल्लामा संक्रमण बढेसँगै प्रदेशका अन्य जिल्लामा पनि संक्रमणको जोखिम उत्तिकै बढेको छ । यस हिसावले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला यतिवेला तेस्रो चरणको संक्रमणको जोखिममा छन् ।
सीमा नाकामा लापरवाही
नेपाल–भारत सीमा नाकाबाट संक्रमित भएका व्यक्तिहरु चाहे नेपाली हुन् वा भारतीयहरु धमाधम भित्रिरहेका छन् । त्यसो त महामारी रोकथाम गर्न सीमा नाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइएको छ जहाँ सामान्य ज्वरो मापन गरिन्छ । तर, महामारी तीव्ररुपमा फैलिरहेको भारतीय बजारमा किनमेल गर्न जानेको भने ताँती नै लाग्ने गरेको छ । रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक सयांै नेपालीहरु भारतीय बजारमा सामान खरिद गर्न जान्छन् । तर, उनीहरुको न त कोरोना परीक्षण हुन्छ न त उनीहरु स्वंयले स्वास्थ्य मापदण्ड नै पालना गर्ने गरेका छन् ।
अहिले पनि रुपन्देहीसँग जोडिएको भारतीय बजार सुनौलीमा दैनिक उपभोग्य वस्तु खरिद गर्न जाने र खरिद गरेर फर्कने नेपालीहरुको भीड उस्तै छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा रुपन्देहीको बेलहिया नाका हुँदै दिनहुँ यसैगरी सामान खरिद गर्न जानेहरुको भीड हुन्छ । उनीहरुलाई कुनै रोकतोक छैन । महामारी रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश कार्यान्वयन भएको छैन । पर्यटक र भारतमा रोजगारी गरेर फर्किने नेपालीहरुबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण पनि हुँदैन । यसले संक्रमण फैलने जोखिम झनै बढाएको बेलहिया हेल्थ डेस्क रुपन्देहीका स्वास्थ्य संयोजक लालमोहन चौधरी बताउँछन् ।
पछिल्लो समय बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय र नेपालीहरुमा कोरोना संक्रमण बढी मात्रामा देखिएको छ । बुधबार मात्रै ३ सय ७ जनाको परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न संघसंस्थाले हेल्थ डेस्क राखेका छन् । सुरक्षाकर्मी तैनाथ छन् । तर, महामारीको हटस्पट बनिरहेको भारतीय बजार र नाकाबाट आउजाउ भने खुलमखुल्ला छ । यसरी आउजाउ गर्नेलाई परीक्षण त टाढाको कुरा सोधखोज र रोकतोकसमेत नगरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु बताउँछन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमा नाका स्वास्थ्य सर्तकता र चेकजाँचलाई कडाई गरिएको बताएपनि त्यहाँको जनशक्तिले त्यो भीड थेग्नसक्ने अवस्था नै देखिदैन । बेलहिया नाका हुँदै दैनिक पाँच सयको हाराहारीमा मालबाहक सवारी भित्रिन्छन् । ती सवारीका चालक, सह–चालकको पनि कोरोना परीक्षण हुने गरेको छैन । नाकामा संक्रमण देखिएकाहरु पनि होम आइसोलेसनमा बस्ने सर्तमा सिधै घर जाने गरेका छन् । तर, ती ब्यक्ति कहाँ र कसरी बसिरहेका छन् भन्ने विषयमा न सरकारी निकायले अनुगमन गरेको छ, न स्पष्ट तथ्यांक नै राख्ने गरेको छ । यसले गर्दा सहर मात्रै होइन, गाउँगाउँसम्म संक्रमण फैलिरहेको छ । नाकामा कडाई गर्ने भनिएपनि व्यवहारमा लागु हुन सकेको छैन ।
भारतमा बढ्दो संक्रमणका कारण रोजगारीमा गएका नेपाली फर्कने क्रम बढ्दो छ । बेलहिया नाकाबाट करिब ३ हजार, रुपैडिया नाकाबाट करिब ४ हजार, कृष्णनगर, महेशपुरबाट करिब २ हजार नेपालीहरु केही समययता दिनहँु आइरहेका छन् । योबाहेक अन्य जिल्लाका साना नाकाबाट पनि उत्तिकै संख्यामा नागरिकहरु आइरहेका छन् । यद्यपी, यो तथ्याङक राख्ने र त्यसैअनुसार अनुगमन गर्ने संयन्त्र र निकाय नै छैन ।
जनशक्ति र होल्डिङ सेन्टरको अभाव
कोरोना संक्रमण बढेपनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीयस्थल घुम्न आएका छन् । बेलहिया नाकाबाट मात्र दैनिक सरदरमा ७ सय (मालबाहक तथा यात्रुबाहक) गाडी नेपाल आइरहेको तथ्यांक भैरहवास्थित इलाका प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयको भनाइ छ । तर, सीमामा न त स्वास्थ्य परीक्षणको लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफै संक्रमित भएका छन् । रुपन्देहीको बेलहिया नाकाका ल्याब टेक्निसियन लोकनाथ कँडेलका अनुसार स्वास्थ्य चेकजाँच गर्ने नाकाका ८ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सतर्कता अपनाउँदै काम गर्दा पनि स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको बताए ।
नाकामा दैनिक ५ सयभन्दा बढीको एन्टिजेन परीक्षण हुने गरेपनि प्रवेश गर्ने सबैको परीक्षण हुँदैन । सुनौली नाका हुँदै नेपाल प्रवेश गर्ने सबै नागरिकको एन्टिजेन परीक्षण गरिँदैन । केही दिन भारतमा बसेर आएका नागरिकहरुलाई वा भारतमा रोजगारी गरेर फर्किएकाहरुलाई मात्र एन्टिजेन परीक्षण गरिन्छ । यसअघि पनि भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी व्यवसायीले सीमा नाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए । उनले कोरोना चेकजाँच सहज रुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।
त्यसो त प्रदेश सरकारले यसअघि बनाउने भनिएको होल्डिङ सेन्टर अहिलेसम्म बनेका छैनन् । रुपन्देही, कपिलवस्तु र बाँकेमा बनाउने भनिएको होल्डिङ सेन्टरका लागि रुपन्देहीमा जग्गा नै व्यवस्थापन भएन, बाँकेमा पनि निकै ढिलो काम भएको छ भने कपिलवस्तुको कृष्णनगरमा काम अन्तिम चरणमा पुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयका प्रवक्ता पुष्पराज पौडेलकाअनुसार बजेट अभावभन्दा पनि काम नै समयमा सुरु नभएर ढिलाई भएको हो ।
होल्डिङ सेन्टर नहुँदा कपिलवस्तु जिल्लाकै ठूलो नाका रहेको कृष्णनगरमा कोभिड संक्रमित भएका नागरिकलाई व्यवस्थापनमा समस्या भएको छ । कृष्णनगर नाका हुँदै स्वदेश प्रवेश गर्नेहरुको संख्या दिनप्रतिदिन दोब्बरले वृद्धि हुँदै गएको छ । नेपाल प्रवेश गर्नेहरुको कोरोना परिक्षणलाई हेल्पडेस्कले निरन्तरता दिएकोे स्वास्थ्य कर्मचारी पंकज गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार कोरोना पोजेटिभ भेटिएको मानिसलाई होम आइसोलेसनमा बस्न सुझाव दिई घर पठाइएको छ । कृष्णनगर नगरपालिका–१, शिवनगरमा रहेको ४ सय बेडको होल्डिङ सेन्टर पुस महिनाभित्र सञ्चालनमा आउने बताइएपनि कार्यन्वयनमा आएको छैन ।
होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तु प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टर ५ महिनाभित्र तयार गर्ने भनिएपनि वर्षात्का कारणले ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमा निर्माण कार्य सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्न सकिने कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाहले जानकारी दिए । होल्डिङ सेन्टर निर्माणको लागि २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँमा श्री हनुमान कन्ट्रक्शन ललितपुरले जिम्मा पाएको छ ।
होल्डिङ सेन्टर बनाउन रकम माग
लुम्बिनी प्रदेश सरकारले भारतसँग सीमा जोडिएका तीन नाकामा होल्डिङ सेन्टर बनाउन संघीय सरकारसँग रकम माग गरेको छ । भारतसँग सीमा जोडिएका प्रदेशका ६ जिल्लामध्ये तीन मुख्य नाका रहेका रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कपिलवस्तुको कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने योजनासहित रकम माग गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले योसहित कोरोना संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कूलप्रसाद केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग रकम उपलब्धताका लागि आग्रह गरेको उनका प्रेस संयोजक मानसिंह बिश्वकर्माले जानकारी दिए ।
लामो समय भारतबाट आएकाहरूलाई नाकामा गरिएको एन्टीजेन परीक्षणको भरमा प्रवेश गर्न दिँदा कोरोना संक्रमण बढेको हुनसक्ने भन्दै प्रदेशका अस्पतालहरूको तयारी थालिएको स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले बताए । ‘संक्रमित बढ्ने र अस्पताल भरिन सक्ने आंकलनसहित उपचारका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखेका हौं,’ गिरीले भने, ‘एचडीयू र अक्सिजनसहितका उपचारमा अझ बढी संवेदनशील छौं ।’ कोरोना संक्रमण फेरि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र पारेको दावी गरेपनि व्यवहारमा त्यस्तो देखिदैन ।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दुप्रसाद पाठकले नागरिकस्तरबाट सचेतना नअपनाउँदासम्म कोरोना संक्रमण रोकथाम गर्न नसकिने बताए । ‘सरकारले उपचारका लागि भर्ना भएकालाई उपचार गरेर मात्र पुग्दैन । सर्वसाधारणलाई कोभिडबाट बच्न अपनाउने मापदण्डबारे पनि सिकाउने र त्यसलाई व्यवहारमा लागू गर्ने बनाउनुपर्छ,’ उनले भने, ‘तर, सर्वसाधारण मास्क पनि नलगाई निस्फिक्री हिँडेका छन् जुन गलत छ ।’
प्रदेशमा १ हजार ७९ बेड
पहिलो चरणकै कोरोना संक्रमणको समयमा प्रदेश सरकारले प्रदेशका चार अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको थियो । रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल, दाङको बेलुझुण्डिस्थित कोरोना विशेष अस्पताल र बाँकेको भेरी अस्पताललाई कोभिड विशेष अस्पताल बनाइएको थियो । दोस्रो चरणको संक्रमणका समयमा ती अस्पतालले संक्रमित थेग्न नसकेपछि १५ निजी अस्पताललाई पनि यसको उपचारको जिम्मा दिइएको थियो । रुपन्देहीमा मेडिकल कलेज, देवदह मेडिकल कलेज, आम्दा अस्पतालसहित प्रदेशका १५ अस्पताललाई तत्कालीन समयमा कोरोनाको उपचारका लागि स्वीकृति दिइएको थियो । यो समयमा अक्सिजनको पनि निकै समस्या रहेकाले कोभिड संक्रमण बढ्न थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आपतकालीन सेवा सुरु गरेको छ । कोभिड बिरामीका लागि छुट्टै भवनमा आपतकालीन सेवा संचालन गरी त्यहाँ २२ शैया राखिएको छ । कोभिडका लागि ६० शय्या छुट्याइएको अस्पतालमा कोभिडका बिरामीका लागि २० शैया आईसीयू छ । बिरामी बढ्न सक्ने अनुमानमा चिकित्सकीय टोली तयारी अवस्थामा राखिएको मेसु डा. इन्द्र ढकालले बताए । ‘दोस्रो लहरमा अक्सिजन अभावले उपचारमा निकै सास्ती भोग्यौं । अक्सिजन अभावले बचाउन सक्ने बिरामीको छट्पटिएरै मृत्यु भयो,’ डा. ढकालले भने, ‘यसपाली त्यस्तो नहोस् भनेर अस्पतालमै दुईवटा अक्सिजन प्लान्ट जडान गरेका छौं ।’
अस्पतालको क्षमता
क्र.सं अस्पतालको नाम सामान्य बेड एचडीयु आईसीयू भेन्टिलेटर
१ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ३८ ३० २० ६
२ भेरी अस्ताल, बाँके १० ९६ ९० १५
३ युसिएमएस, भैरहवा ९० १० १०
४ कपिलवस्तु अस्पताल ६ १६ ६ ४
५ लुम्बिनी मेडिकल कलेज, पाल्पा ४३ ११ ५ ५
६ क्रिमसन अस्पताल, रुपन्देही १० १० ५ २
७ देवदह मेडिकल कलेज १० ९ ६ २
८ नेपालगञ्ज मेडिकल कलेज, बाँके ६० ७० २
९ राप्ती स्वास्थ्य विज्ञान संस्थान १० ५० १०
१० सिद्धार्थ महिला बाल अस्पताल, बुटवल १० १० ५ २
११ भिम अस्पताल भैरहवा ३७ २९ ५ २
१२ रुकुम पुर्व अस्पताल १०
१३ अर्घाखाँची अस्पताल १० १३
१४ रोल्पा अस्पताल, रोल्पा २३ ३
१५ पाल्पा अस्पताल, पाल्पा १४
१६ मिसन अस्पताल, तानसेन २०
१७ बर्दिया अस्पताल ७ १० १
१८ रामपुर अस्पताल, पाल्पा २ ८
१९ पृथ्वीचन्द्र अस्पताल, नवलपरासी ८
२० प्युठान अस्पताल ८ ५
२१ तम्घास अस्पताल, गुल्मी २८
२२ बेल्झुण्डी कोडिभ विशेष अस्पताल, दाङ २५ ५७ १५ ७
२३ नेपालगञ्ज सैनिक अस्पताल, बाँके ८ १५ २
प्रदेश सरकारले चिकित्सकसहित ४ सय ८३ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । उनीहरूलाई चैत मसान्तसम्म करारमा राखिएको छ भने अस्पतालका करिब ५ सय स्वास्थ्यकर्मीलाई मेडिकल केयर तालिम दिइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए । ‘प्रदेशका सबै नागरिकले खोप लगाइसकेका छैनन् । खोप नलगाएकालाई कोरोना संक्रमणका जटिल लक्षण देखिन सक्छन्,’ चौधरीले भने, ‘त्यस्ता संक्रमितको पनि सहज उपचार होस् । संक्रमणकै कारण ज्यान गुमाउनु नपरोस् भनेर सचेतना अपनाएका छौं ।’
पौस मसान्तसम्म लुम्बिनी प्रदेशमा १२ वर्षमाथिका कुल जनसंख्याको ५६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । संख्याका हिसाबले १८ लाख ९८ हजार २ सय ४३ जनाले खोप लगाएका छन् । धेरै जनसंख्या खोप लगाउनबाटै छुटेकाले जटिल बिरामी हुनसक्ने अनुमान गर्दै अस्पताल व्यवस्थापन र उपचारमा जोड दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले बताए । उनले स्थानीय सरकारको समन्वयमा सबै अस्पतालमा तयारीका लागि योजना बनाएको र सीमा क्षेत्रमा रहेका स्वास्थ्य इकाईलाई विशेष ध्यान दिइएको बताए ।
स्वास्थ्य निर्देशनालयका अनुसार बालबालिकालक्षित बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २५ शैय्याको एनआईसीयूसहितको कोभिड कक्ष निर्माण गरिएको छ । प्रदेश मातहतका १३ वटा अस्पतालमा कम्तीमा पाँचवटा आईसीयू शैय्या र २५ शैय्याका एचडीयू बन्ने प्रक्रियामा छन् । प्रदेशका ११ जिल्ला सरकारी अस्पताल र २ प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट संचालन भएका छन् । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारूका अनुसार कोरोनाको दर विस्तारै बढ्दै जाने संकेत देखिएकाले अस्पतालमा बेड तथा जनशक्ति र उपकरणहरु तयारी अवस्था राख्ने काम भइरहेको छ । उनले अस्पतालहरू पुरानै पूर्वाधारबाट काम गर्ने अवस्थामा रहेको बताए । विगतमा धेरै अस्पतालमा आईसीयू र भेन्टिलेटर तयार पारेको बताउँदै उनले भने, ‘अहिलेसम्म अस्पताल आएका केसहरु निकै कम भएपनि आवश्यक तयारी चाहिं गरिएको छ ।’
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले अस्पतालमा भर्ना हुने संख्या न्यून रहेपनि संक्रमणको ग्राफ वृद्धि हुँदै गएकाले अस्पतालमा कोरोनाको लागि हाल सामान्य बेड, आईसीयू, एचडीयू र भेन्टिलेटर तयारी अवस्थामा राख्ने काम भइरहेको बताए । उनले विगतमा सञ्चालनमा आएका बेडहरु र उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्ने काम भएको बताए । गिरीका भनाइमा प्रदेशका अस्पतालमा कुल १ हजार ७९ वटा बेड छन् । स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार प्रदेशका २३ वटा अस्पतालमा आईसीयू, एचडीयू बेडहरु विस्तारै थपिदै गएका छन् । हाल प्रदेशमा २ सय ३९ वटा आइसियु बेड छन् । यस्तै एचडियु बेड ५१२ वटा छन् भने भेन्टिलेटर ७९ वटा छन् । यो संख्या विगतमा दोस्रो लहरको अन्तिम समयकै हो । त्यसयता थप बेड थप्ने एवं अन्य भौतिक प्रगति केही हुन सकेको छैन ।
सरकारी अस्पताल नेतृत्वविहीन
प्रदेश सरकारले अघिल्लो सरकारले बनाएका सबै जिल्ला तथा दुईवटा प्रादेशिक विकास समितिका पदाधिकारी हटाएर खाली राखेको छ । कोरोनाको पहिलो र दोस्रो लहरबाट लुम्बिनी प्रदेश अति प्रभावित बन्यो । बेलाबेलामा अस्पतालमा जनशक्ति, उपकरण र स्थान अभावले उपचार सेवामा कठिनाइ देखापरे । त्यसबाट पाठ सिक्दै अस्पतालले यसपटक संक्रमित बिरामीको व्यवस्थापनमा अस्पतालको भौतिक अवस्था सुधारेको दावी गरेपनि प्रदेश सरकारले हालै आफू मातहतका अस्पतालमा अध्यक्षसहितका व्यवस्थापन समिति खारेज गरेकाले थप आलोचना भएको छ ।
‘उपचारका लागि अस्पतालमा चिकित्सक र उपकरणले मात्रै पुग्दैन । व्यवस्थापन पनि ठूलो कुरा हो, तर यस्तो अवस्थामा अस्पताललाई नेतृत्वविहीन बनाएर के गर्न खोजिएको हो’, लुम्बिनी प्रादेशिक अस्पतालबाट हटाइएका सुर्यबहादुर भट्टराईले भने, ‘कोरोना संक्रमण घरघरै पुगेका र अस्पताल भरिन लागेका बेला अस्पताललाई व्यवस्थापन समितिविहीन बनाउनु दुःखद हो ।’ प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले चाहिं सरकारी अस्पतालमा पदाधिकारी छिटै चयन हुने बताए । ‘नेतृत्व नभएर अस्पतालमा काम रोकिएको छैन’, उनले भने, ‘छिटै नयाँ नेतृत्व आऊँछ, सरकार यसमा अगाडि बढिसकेको छ ।’