आज सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस । दिवसका अवसरमा भूकम्पबाट जोगिन भुकम्प प्रतिरोधी पूर्वाधार निर्माणको सन्देश दिंदै विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना हुने गरेका छन् । तर, औपचारिकताका लागि मनाइने यस्ता दिवसले खासै प्रभाव भने पार्दैनन् ।
कमजोर भौतिक संरचना नै भुकपम्पबाट मृत्युको प्रमुख कारण हो । भुकम्प प्रतिरोधी भौतिक सरंचनाले भुकम्पका बेला मानवीय क्षति धेरै कम गर्न सकिने विश्वास छ । भुकम्पले आफैले मार्दैन कमजोर, अव्यस्थित भौतिक संरचनाले किचेर मार्ने हो ।
नेपालगन्ज दशकौं पुरानो सहर हो । सहरीकरण हुँदै जाँदा भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । जब भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि भवन निर्माण संहिता लागु भयो त्यतिखेर धेरै ढिलो भैसकेको थियो । नेपालगन्जमा बनेका नयाँ घरहरु मापदण्ड अनुसार नै छन् । तर, पुराना भौतिक संरचना भुकम्प आएमा धराप साबित हुने निश्चित नै छ । ‘अहिले पनि थोरै पैसा कम खर्चका लागि मापदण्ड अनुसार घर नबनाउने गरेको पाइन्छ’, जनप्रतिनिधि भन्छन्, ‘कमजोर घर छिमेकीका लागि पनि धराप हो ।’
विगतमा भुकम्पले ठूलो क्षति पुर्याएपछि सरकारी स्थलमा बन्ने संरचनाहरु भने भुकम्प प्रतिरोधी बनाउने गरिएको छ । तर, व्यक्तिगत रुपमा हुने निर्माणमा लापरवाही अझै पनि पाइने सम्बद्धहरु बताउँछन् ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।
यो दिवस मनाउन थालेपछि वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।