बाँकेको राप्तीसोनारीमा हालै भएका बाघ आक्रमणको मानवीय तथा पशु क्षतिका लागि नेकपा एमालेले सरोकारवालाहरुसँग राहतको पहल सुरु गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बाँके जिल्ला इन्चार्ज सुर्य ढकालको नेतृत्वमा क्षेत्रीय अध्यक्ष बलराम भट्टराई, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष मनोज केसी तथा सचिव सुधा चौधरी सहितको टोली घटनास्थल, पीडित परिवारलाई भेटघाट पछि राहतका लागि सम्बद्ध निकायसम्म पुगेको हो ।
‘स्थानीय प्रशासनको समन्वयमा राहतका लागि प्रक्रिया अगाडि बढाउन डिभिजन वन कार्यालय बाँकेमा पुगेर छलफल, परामर्श पनि गरेका छौं’, एमाले बाँकेका इन्चार्ज ढकालले डिभिजनल वन अधिकृत दधिलाल कँडेलसँगको औपचारिक भेटपछि दैनिक नेपालगन्जसँग भने, ‘आवश्यक कागजी प्रक्रियाबारे बुझेर आएका छौं ।’
नेता ढकालले पीडित घर परिवारसँग भेटघाट गरी आवश्यक कागजपत्रका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिए । ‘१० लाख रुपैयाँ क्षतिपूर्ति वापत दिने सरकारी व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न हाम्रो पहल हो’, इन्चार्ज ढकालले भने ।
एमाले टोलीले बाघ खोजीका लागि आएको प्राविधिक टोलसँग पनि आवश्यक परामर्श गरी यथाशक्य छिटो बाघ नियन्त्रणमा लिन माग गरेको जनाएको छ । ‘दुई फरक बाघ भएको खुलेको छ, एउटा हिंस्रक र बच्चा सहितको बस्ती नजिक डुलेको पाइयो’, ढकालले दुवैलाई प्राविधिक टोलीले आवश्यक उपाय लगाएर नियन्त्रणमा लिन कोशिश गरिरहेको जानकारी दिंदै भने ।