कोरोना संक्रमण बढेपछि समूहमा भेला हुने खालका कार्यक्रमहरु रोक लगाउन थालिएको छ । २५ जना भन्दा बढी भेला हुन नपाउन प्रशासन कार्यालयहरुले सूचना जारी गरेपछि देशका विभिन्न ठाउँमा निर्धारित मेला तथा महोत्सवहरु स्थगित गरिएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी माघ १४ देखि २४ गतेसम्म सञ्चालन निर्णय गरेको नेपालगन्ज महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवि ओलीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी सीसीएमसीको निर्णयबाट मेला महोत्सव रोक लगाइएकाले महोत्सव स्थगित गर्ने निर्णय गरिएको जनाएका छन् ।
‘कोरोनाको तेस्रो लहर विरुद्ध आवश्यक तयारी समयमा गर्न सरकारसँग माग गर्दै विगतमा जस्तो अर्थतन्त्र ध्वस्त हुने गरी लकडाउन जस्ता विकल्प ल्याउनु अघि अन्य विकल्पमा’ संघले जोड दिएको छ । हेर्नुस् विज्ञप्ति
यस्तै, पर्सि शुक्रबारदेखि बर्दियाको बाँसगढीमा हुने भनिएको औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव स्थगित गरिएको छ । माघ ९ गतेसम्मका लागि तय गरिएको मेला कोरोनाका कारण स्थगित गर्नुपरेको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले मंगलबार प्रेस विज्ञप्ति मार्फत जानकारी दियो । संघले अन्तिम समयमा मेला स्थगित गर्नुपर्दा १५ लाख रुपैयाँ क्षति भएको जनाएको छ ।
कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो ।
दाङ जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ । महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिए ।