परिचय
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके जिल्ला कर्णाली तथा सुदुर पश्चिमाञ्चल प्रदेशकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र, मध्ये हिमाली र सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् यस क्षेत्रको प्रवेशद्वार मानिन्छ । बाँके जिल्लालाई नयाँ मुलुक भनेर चिनिने गरिन्छ । वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएको भू–भाग मध्ये वि.सं. १०१७ मा ईष्ट ईन्डिया कम्पनीबाट नेपालले पुरस्कार स्वरुप बाँके, बर्दिया, कैलालीर कञ्चनपुरलाई प्राप्त गरेको थियो जसलाई कालान्तरमा नयाँ मुलुकका रुपमा पहिचान प्राप्त भयो ।

आर्थिक दृष्टिकोणले समग्र पश्चिम तथा सुदुर पश्चिम नेपालको मेरुदण्डको रुपमा यो जिल्ला रहि आएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठूलो शहर नेपालगंजको नाका भारतसंग जोडिएको छ । नेपालगन्ज देखि १६ कि.मि. को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपूर्ण व्यापारिक केन्द्र हो ।

नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको प्रवेशद्वार हो । बाँके जिल्ला यो क्षेत्रकै शैक्षिक तथा स्वास्थ्यको राजधानी मानिन्छ । अति विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ । नेपालगन्ज विमान स्थल क्षेत्रीय विमानस्थलको रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषतता भनेको सदियौं देखि हरेक धर्म र जातजातीका मानिसहरु मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो ।

यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार, र बौद्ध गुम्बाहरु यहाँका सांस्कृतिक धरोहरहरु हुन । साथै नेपालको काञ्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यस जिल्लाको गौरव हो । स्वास्थ्य सुविधा तर्फ भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल जस्ता ठुला तथा अन्य स–साना अस्पताल रहिआएका छन् । यहाँको नेपालगन्ज मेडिकल कलेजमा छिमेकी देश भारत सहित श्रीलंका, बंगलादेश, पाकिस्तान आदी देशहरुबाट विद्यार्थी आइ अध्ययन गर्ने गर्दछन् । यस क्षेत्रकै सबभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पस, भेरी प्राविधिक शिक्षालय तथा अन्य विभिन्न शैक्षिक प्रतिष्ठानहरु समेत रहि आएको छ । यस जिल्लालाई ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ६ प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर, राप्ती सोनारी, खजुरा, बैजनाथ, जानकी र डुडुवा गाउँपालिका गरी ८ पालिकामा विभाजन गरिएको छ ।

आधार क्षेत्रहरु
आर्थिक सम्वृद्धिको सम्भावना रहेको यस जिल्लालाई निम्न आधार क्षेत्रहरुमा समेट्न सकिन्छ ।

१. कृषि क्षेत्र
यस जिल्लामा प्रसस्त खेतीयोग्य जमिन रहेको र अन्नको भण्डार मानिने पश्चिम तराईका जल्लिा मध्ये बाँके जिल्लामा कृषि व्यवसायीकरण तथा उत्पादन वृद्धिको प्रचुर सम्भावना रहेको छ ।

सम्भावनाहरु
– यस जिल्लाको तराई भू–भागमा अधिकाँश कृषि उपजको उत्पादनको लागि आवश्यक मौसमी अनुकूलता रहेकोले अन्नबाली, फलफूल, तरकारी साथै जडिवुटी खेती गर्न उपयुक्त रहेको ।
– यस जिल्लाकोसबै पालिकाहरु सडक यातायातको पहुँचमा पुगी रहेकाले कृषि उपजहरु सजिलै बजारसम्म पु¥याउन सकिने अवस्था रहेको ।
– यस जिल्लामा सँचार र विद्युत आदि पूर्वाधारको पहुँच बृद्धि भैरहेका कारण कृषि उत्पादन बढाउन टेवा पुगेको ।
– यस जिल्लामा कृषि उपजका साथै, माछा, मासु एवम् दूधको बढ्दो मागले गर्दा कृषि उत्पादनले स्थानीयस्तरमै बजार पाउन सक्ने अवस्था रहेको ।
– सिँचाइ सुविधा उपलव्ध गराउन विभिन्न सिक्टा सिँचाई आयोजना जस्ता परियोजनाहरु निर्माण सम्पन्न हुने क्रममा रहेकाले आगामी दिनमा कृषियोग्य जमीनमा सिँचाइको सुविधा बढ्ने सम्भावना देखिएको ।
– कृषि क्षेत्रमा लगानी बढाउन सबै कृषकको पहुँच पुग्ने गरी सरल तरीकाबाट न्यूुनतम ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने राष्ट्रिय नीति रहेकोले कृषकहरुलाई राहत पुग्ने देखिएको ।
– बीउबिजन, दूध उत्पादन तथा कृषि उपकरण खरिद आदि जस्ता शीर्षकमा सरकारले अनुदानको व्यवस्था गरेकोले कृषकलाई यस क्षेत्रमा आकर्षण बढाउन मद्दत पुगेको ।
– अन्न बाली, फलफूल तथा तरकारी खेतीका लागि पकेट क्षेत्र बनाई उन्नत बीउबिजन उपलब्ध गराई कृषकलाई आकर्षण गर्ने गरेकाले युवा जनशक्तिलाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको ।
– नेपाल राष्ट्र बंैकवाट जारी गरिएका कृषि कर्जा सम्बन्धी विभिन्न नीति, परिपत्रहरुको पालनाका लागि बैंक तथा वित्तीय संस्था, कृषक एवम् अन्य सरोकारवाला निकायहरुसँग बेलाबखत अन्तरक्रिया एवम् छलफल भइरहेको हुँदा आगामी दिनमा कृषि लगानी वृद्धि हुँदै जाने देखिन्छ ।

समस्या तथा चुनौतिहरु
– मुलुककै कृषि उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको यस जिल्लामा अव्यवस्थित जग्गा विकास एवम् आन्तरिक बसाई सराई बाढी जस्ता गतिविधिका कारण कृषि भूमिको खण्डीकरण क्षयीकरणको समस्या बढ्दो क्रममा रहेको छ । सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण र हस्तक्षेपको समस्या पनि चुनौतीका रुपमा रहेको छ ।
– प्रयाप्त कृषि श्रमिकको अभावमा कतिपय क्षेत्रमा समस्या रहेको छ भने उचित पूर्वाधार एवम् बजारको अभावका कारण उत्पादित कृषि वस्तुले समेत यथोचित मूल्य पाउन सकिरहेका छैनन् । युवाहरु कृषि क्षेत्रतर्फ आकर्षित भएका छैनन् । खुला सीमानाबाट सस्तोमा सहजै आयात हुने भारतीय कृषि उपजसँग प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको अवस्था छ ।
– खेतीपाती समयमा मलखाद तथा उन्नत बीउबिजन, किटनाशक औषधी, कृषि उपकरण प्रर्याप्त मात्रामा उपलब्ध नहुनु ।
– कोभिड–१९ का कारण कृषकहरुले उत्पादन गरेका फलफूल, तरकारी, दूध तथा मासुजन्य उत्पादनको उचित बजार व्यवस्थापन हुन नसक्नु ।
– सरकारले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न यस क्षेत्रमा अनुदानका कार्यक्रमहरु ल्याई कृषकलार्ई कृषि तथा पशु व्यवसायतर्फ आकर्षित गर्न नसक्नु ।
– कृषकहरुमा बाली तथा पशुपंक्षी बीमा सम्बन्धी चेतना अभिवृद्धि गर्नु नसक्नु ।
– कृषकहरुलाई आफ्नो उत्पादनले उचित बजार मूल्य प्राप्त गर्छ भन्ने विस्वास दिलाउन उत्पादक र उपभोक्ताकाबीचमा सोझो सम्बन्ध स्थापित गर्न कृषि बजारको विकास गर्नु नसक्नु ।
– वर्षभरि सिँचाई सुविधा उपलब्ध गराउन सिँचाई पूर्वाधारको विकास र विस्तार गर्नु नसक्नु ।
– तरकारी तथा फलफूलजन्य उत्पादनहरुको भण्डारण गर्न भौगोलिक हिसावले विभिन्न स्थानहरुमा आवश्यक पर्ने शीत भण्डारको व्यवस्था गर्नु नसक्नु ।
– कृषि क्षेत्रमा पर्याप्त मात्रामा संस्थागत लगानी बढाउनु नसक्नु ।
– सीमावर्ती क्षेत्रबाट खुला रुपले आयात हुने कृषि उत्पादनसँग यस क्षेत्रको कृषि उपजले प्रतिस्पर्धा गर्न नसकिरहेको र भारतबाट भित्रिने खाद्य पदार्थको प्रभावकारी क्वारेन्टाइन नहुनु ।
– संख्यात्मक रुपमा सहकारीहरुको बाक्लो उपस्थिति रहेता पनि सहकारीको मर्म अनुरुप आर्थिक गतिविधिमा सक्रियता बढ्न सकेको देखिदैंन । सहकारीहरुको कामकारवाही सहकारी सिद्धान्त अनुरुप बनाउनु नसक्नु ।
– पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवावर्ग विदेशिने क्रम उल्लेख्य रुपमा रहेको छ । युवाहरुलाई उत्पादनमुलक, उद्यमशील र सिर्जनशील कार्यमा संलग्न गराउनु नसक्नु जस्ता कार्य चुनौतिपूर्ण रहेको छ ।

२. उद्योग क्षेत्र

यो जिल्ला कर्णाली र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र रहेको र यस स्थानमा बागेश्वरी आइरन एण्ड स्टील प्रा.लि. , शौरभ आयल मिल, रारा केमिकल्स तथा पानस फर्माक्युटिकल जस्ता लगायतका विभिन्न उद्योग तथा औद्योगिक क्षेत्र स्थापनाबाट उद्योग तथा व्यवसाय क्षेत्रमा विकास भएको देखिन्छ । सो क्षेत्रमा निम्न सम्भावना तथा चुनौतीहरु रहि आएका छन् ।

सम्भावनाहरु
-यस जिल्लामा उद्योगको लागि आवश्यक पर्ने युवाहरुलाई औद्योगिक वातावरण सृजना गरी युवा जनशक्ति परिचालन गर्न सकिने ।
-विद्युतीय उर्जाको निरन्तर आपूर्तिले उद्योगको विकास र विस्तारमा सकारात्मक प्रभाव परेकोले थप उद्योगहरु खोल्न सकिने ।
-खनिज लगायतका कच्चा पदार्थको सहज उपलब्धता तथा बढ्दो मागले गर्दा उद्योग खोल्न र संचालन गर्न सहज वातावरण रहेको ।
-यस जिल्लाको उत्पादनलाई छिमेकी प्रदेश जिल्लाहरु तथा भारतमा निकासी गर्न सहज स्थिति रहेको ।
-सरकारले प्राविधिक शिक्षा तथा तालिमहरुलाई प्राथमिकतमा राखेको हुँदा आगामी दिनहरुमा दक्ष जनशक्ति उत्पादन हुने सम्भावना रहेको ।

चुनौतीहरु
– युवा जनशक्ति वैदेशिक रोजगारमा जाने क्रम बढेका तर स्वदेशी उद्योगहरुमा श्रमशक्तिको अभाव भएको हुनाले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्न नसक्नु ।
– कच्चा पदार्थ तथा तयारी वस्तुहरुको आपूर्ति, ढुवानी तथा भण्डारणको प्रभावकारी व्यवस्थापन गर्नु नसक्नु ।
– धेरै सम्भावना रहेका खानीजन्य पदार्थहरुको अन्वेषण र उत्खनन् गर्नु तथा खानीजन्य उद्योगको विकासलाई वातावरण सन्तुलनसँग तालमेल मिलाउनु नसक्नु ।
– उत्पादित वस्तुको भरपर्दो बजार नहुनु ।
– उद्योगलाई चाहिने कच्चा पदार्थको लागि भारतीय बजारमा निर्भर रहनु पर्ने अवस्थाको अन्त्य गर्न नसक्नु ।
– सीमावर्ती बजारको भन्दा नेपाली बजारको मूल्य केही बढी हुने गरेकोले नेपाली उत्पादनले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु ।
– उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न स्थानीय स्तरमा तालिम तथा प्रशिक्षण दिने निकायकोे उल्लेख्य भुमिका निर्वाह गर्नु नसक्नु ।
– उद्योग क्षेत्रमा उल्लेख्य रुपमा निजी तथा वैदेशिक लगानी आकर्षित गर्न नसक्नु ।

३ सेवा क्षेत्र
आजको मानव जीवन अत्यन्तै व्यस्त भएका कारण उसले पाएको फुर्सदको समयलाई कुनै मनोरञ्जनात्मक तथा रचनात्मक क्रियाकलापमा सदुपयोग गर्न चहान्छ । त्यसको रोजाई भनेको पहिलो पर्यटन, दोस्रो अध्ययन क्षेत्र हुन सक्छ । यस जिल्लाको नेपालगंज, कोहलपुर र खजुरा जस्ता बजारहरु तीव्र रुपमा विस्तार हुंदै गएका शहरहरुलाई पर्यटन, उद्योग, व्यापार, बैंकिङ्ग, पुँजीबजार, शिक्षा, स्थास्थ्य जस्ता क्षेत्रको मुख्य केन्द्रको रुपमा विकास र विस्तार गर्न सकिने देखिन्छ । यी सम्भावित महानगर नगरहरु सिंगो जिल्लाको आर्थिक समृद्धिको सम्वाहक हुन सक्नेछन् ।

संभावनाहरु
– आन्तरिक पर्यटनको वृद्धि हुँदा ग्रामिण तहमा उत्पादनमा वृद्धि हुनेछ ।
– उत्पादनमा वृद्धि आउदा स्वरोजगारीमा वृद्धि हुनेछ ।
– पर्यटनको विकासले सामाजिक सम्बन्धको विकास गरी आत्मनिर्भरता बढाउनेछ ।
– विमानस्थलको निर्माण तथा राजमार्गहरुको विस्तार हुनु ।
– यस जिल्लामा पर्यटकीय क्षेत्रहरुमा होटल तथा रेष्टुरेण्टहरु थपिदै जानु ।
– ग्रामीण क्षेत्रमा बैंैक तथा वित्तीय संस्थाहरुको उपस्थिति बढाउने नीति अनुरुप यस्ता संस्थाहरुको उपस्थिति बढनु ।
– सडक विकासका लागि चाहिने ज्ञान, अनुभव तथा प्रविधि, निर्माण सामग्री तथा उपकरणहरुको सहज उपलब्धता हुनु, सडक तथा रेल यातायातमा संघीय सरकारको विशेष प्राथमिकता रहनुले आगामी दिनमा यातायात पूर्वाधारको विकास हुने देखिएको ।
– समावेशी र लैङ्गिक शिक्षालाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखिएको ।
– स्वास्थ्य संस्थाहरुको बृद्धि हुनु, दक्ष स्वास्थ्यकर्मी तथा अत्याधुनिक प्रविधि र उपकरण सहितका मेडिकल कलेज संचालनमा आएको हुँदा स्वास्थ्य क्षेत्रले आगामी दिनमा राम्रो संभावना रहेको ।

चुनौतीहरु
-कोरोना महामारीका कारण उपलब्ध पर्यटन पूर्वाधारहरु समेत शत प्रतिशत उपयोगमा नरहेकोले यस क्षेत्रमा थप लगानी विस्तार नहुनु ।
-जिल्लाभित्रका पर्यटकीय स्थलहरुको पहिचान गरी पर्याप्त पूर्वाधार निर्माण, होटलहरुको पर्याप्त सुविधा, सूचना र सुरक्षाको वातावरण तयार नहुनु ।
-यस प्रदेशमा रहेका पर्यटकीय स्थलहरु तथा पर्यटक सम्पर्क केन्द्रहरुको उचित व्यवस्थापन नहुनु ।

४. पूर्वाधार तथा रोजगारी क्षेत्र
पूर्वाधार तर्फ हुलाकी राजमार्गले बाँके जिल्लालाई समेटेकोे छ । सिक्टा सिँचाइ आयोजनाले बाँके जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ । यस्तै स्थानीय तहबाट समेत विभिन्न पूर्वाधारका कार्यहरु भैरहेका छन् भने रोजगारीतर्फ यस जिल्लाहरुबाट वैदेशिक राजगारीमा जाने युवाहरुको संख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगारीमा जाने मुख्य गन्तब्य देशहरुमा कतार, मलेसिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स् रहेका छन् । जसबाट जिल्लामा निम्न सम्भावना तथा चुनौती थपिएका छन् ।

सम्भावनाहरु
– पूर्वाधार विकासका लागि जनतासँग रहेको पुँजी परिचालन गर्ने संभावना हुनु ,
– उत्पादनमा लगानीकर्ताहरुको उल्लेख्य आकर्षण हुनु,
– विद्युत प्रविधिको विकासले गर्दा सौर्य उर्जा उत्पादनको लागतमा भारी गिरावट आएको,
– स्थानिय तहहरुबाट विकास निर्माणका कामहरु तीब्र पारिनु ।

चुनौतीहरु
– भन्सार नाकामा आवश्यक सबै पूर्वाधार एकीकृत रुपमा विकास गर्नु ,
– खुला सीमानाको कारण भारतबाट हुने अनौपचारिक व्यापार रोक्नु ,
– राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्नु ,
– प्रर्याप्त मात्रामा आन्तरिक रोजगारी सिर्जना गर्नु र
– युवाहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार योग्य बनाउनु ।
(लेखक अब्दूल करिम खान अडिटर एशोसिएसनका केन्द्रीय उपाध्यक्ष हुन्)

प्रतिक्रिया

प्रतिक्रिया