मधेशवादी केन्द्रीय नेता रामकुमार दीक्षित एमाले प्रवेश
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश विकासका काम गर्दा एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी गरिएको बताएका छन् ।
नेकपा एमाले बाँकेले शनिबार नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले जनतामा लोकप्रिय भएपछि एमाले विरुद्ध गठबन्धन बनेको बताए । ‘जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन’, महासचिव पोखरेलले भने, ‘एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।’
एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, सहइन्चार्ज मोहम्मद हारुन हलवाई र जिल्ला अध्यक्ष निरक गुरुङलगायतले बोलेका थिए ।
कार्यक्रममा मधेशवादी केन्द्रीय नेता रामकुमार दीक्षितको नेतृत्वमा ४ हजार २ सय बढी एमाले प्रवेश गरेको स्थानीय पत्रकार विनय दीक्षित जानकारी दिए ।