न्याय माग्दै ३५ दिनदेखि माइतीघर मण्डलामा धर्ना

‘प्रथम दृष्टिमै घटना हेर्दा त्यहाँ केही अपराधजन्य गतिविधि भएको छ भन्ने अनुमान गर्न सकिन्छ’, माइती घर मण्डलामा निर्मला कुर्मीको न्यायका लागि जारी धर्ना स्थलमै पुगेर सत्तारुढ गठबन्धन दल जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने, ‘एउटा विधवा महिला जसका छोराहरु शंकास्पद ढंगले मारिएका छन्, उनको सम्पत्ति अपत्यारिलो ढंगले कसैको नाममा गरिएको छ र उनी आफै बेपत्ता पारिएकी छन् ।’ ‘१२ बर्षसम्म सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारवाही नगर्नुमा राज्यकै मिलेमतोमा भैरहेको छ कि वा अपराधीहरुले राज्यको संरक्षण पाएको छ कि भन्ने शंका चाहीँ लाग्छ’, पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने । उनले पार्टीको तर्फबाट सरकारसँग यसअघिको छानबिन प्रतिवेदन अनुसार कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन माग गरे ।

डा. गोविन्द केसी पनि धर्ना स्थल पुगेर आन्दोलनमा एक्यबद्धता जनाए । उनले हालै विभिन्न माग राख्दै जारी गरेको प्रेस विज्ञप्तिमार्फत पनि निर्मला कुर्मी सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र सिफारिसअनुसार अविलम्व आरोपीहरुलाई न्यायको कठघरामा उभ्याउन माग गरेका छन् ।

पुसको यो चिसोमा बाँकेका अधिकारकर्मी र पीडित परिवारका सदस्य निर्मला कुर्मीको न्यायका लागि भन्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेको ३५ दिन भैसकेको छ । हरेक दिन कुनै न कुनै संघ संस्था र अधिकारकर्मी तथा सरकारमै सामेल पार्टीका प्रतिनिधि त्यहाँ पुगेर न्याय पाउनुपर्दछ भनेर फर्कन्छन् । तर, उनीहरु अझै यसअघि सरकारले नै गठन गरेको समितिको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै दैनिक धर्ना प्रदर्शनमा रहेका छन् ।

अधिकारकर्मी रुबी खान सहितको टोली न्यायको सुनिश्चितता नहुँदा सम्म बाँके नफर्कने बताउँछन् । ‘सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनको सिफारिस तत्काल कार्यान्वयन गरिनुपर्दछ’, अधिकारकर्मी खानले दैनिक नेपालगन्जसँग भनिन्, ‘कि सरकारले न्याय दिन्छ, कि प्राण लिन्छ ।’ धर्नामा ३ जना निर्मला कुर्मीका आफन्त र १६ जना अधिकारकर्मी सहभागी रहेका छन् ।

अधिकारकर्मी खानले राजनीतिक प्रभावमा प्रहरीले अदालतमा मुद्दा नपुर्याएको भन्दै अपराधी जोगाउन खोजेको बताएकी छन् । निर्मला कुर्मी घटनामा यसअघि प्रहरीले संलग्न भनिएका ८ जनालाई नै नियन्त्रणमा लिएर सरकारी वकिल कार्यालयमा बयान पछि साधारण तारेखमा छाडेको छ । प्रहरीले यसअघि नै घटनामा थप अनुसन्धान गर्नुपर्ने भएकाले अदालतमा मुद्दा पुर्याउन समय लाग्ने बताउँदै आएको छ । ‘मुद्दा अदालतमा नै लगिएको छैन यो दोषीलाई बचाउने प्रयास हो’, अधिकारकर्मी खान भन्छिन् ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल निर्मला कुर्मीको घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको बताउँछन् । यसअघि पनि आयोगका केन्द्रीय पदाधिकारी, अधिकारकर्मी, प्रहरी, प्रशासन सहितको बैठक राखेर घटनाका बारेमा चासो लिएर आवश्यक कारवाही गर्न ध्यानाकर्षण गराएको उनी बताउँछन् । ‘आयोगले घटनाको छानबिन र कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ’, उनले भने ।


नेपालगन्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी बेपत्ता घटनामा अदालतमा मुद्दा, जिल्ला प्रशासन कार्यालय अगाडि नियमित प्रदर्शनपछि अधिकारकर्मी र पीडित परिवारको न्यायका लागि भन्दै काठमाडौंसम्मको पैदल यात्रा, अधिकारकर्मी रुबी खानको आमरण अनशन पछि बनेको गृह मन्त्रालयको छानबिन समिति, अदालतमा दायर मुद्दाका अभियोगी पक्राउ र थुना लगायतका घटना एकपछि अर्काे घटना यसअघि भएका थिए ।


निर्मला करोडौं मूल्य पर्ने जग्गाकी मालिक हुन् । त्यही जग्गा हडप्न विभिन्न प्रपञ्च भएको गृह मन्त्रालयको छानबिन समितिले आफ्नो प्रतिवेदनमा समेटेको छ । महिला अधिकार मञ्चले गत बर्ष मंसिर १६ गते निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको ८ जनालाई किटानी गरी जाहेरी दिएको थियो । सुरुमा दर्ता नभएको जाहेरी सरकारी वकिल कार्यालय मार्फत दर्ता भएको थियो । तर, आठै जना अहिले तारेखमा छुटिसकेका छन् ।


निर्मलाका श्रीमान्को ०६२ सालमै मृत्यु भएको थियो । उनका दुई छोराको पनि १५ दिनको फरकमा भएको मृत्यु रहस्यमयनै छ । तर, ती दुई छोराको मृत्युको रेकर्ड प्रहरीमा छैन । परिवारमा एक्लिएकी निर्मला माथि सम्पत्ति संरक्षणको बहानामा ज्यादति भएको स्थानीयबासी बताउँछन् ।


निर्मलाले भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको र उनको भारतमा नै मृत्यु भएको प्रमाण प्रहरीलाई प्राप्त भएको जानकारी यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको थियो ।

निर्मला कुर्मी प्रकरणः ‘मुख्य आरोपी समात’

प्रतिक्रिया

प्रतिक्रिया