चार पालिकामा मानवबेचविखन विरुद्ध रणनीति बन्दै

मानव बेचविखन रोकथामका लागि आवश्यक रणनीति बनाइने भएको छ । त्यसका लागि बाँके युनेस्को क्लबले बुधवार कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग कार्यशाला आयोजना गरेको हो । प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।


मानवबेचविखन नियन्त्रणका लागि रणनीति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा कार्यशाला गरिएको हो । कार्यशालामा सहभागी सबैले छिटै रणनीति बनाउने प्रतिबद्धता जनाएको बाँके युनेस्को क्लबका संंरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।


कार्यशालामा सहभागी चारवटै पालिकाका सरोकारवालाहरु रणनीति बनाउने कुरामा सहमत भएका हुन् । ‘रणनीतिको खाकाका बारेमा विस्तृत रुपमा छलफल पनि गरिसकिएको छ,’ अधिकारकर्मी सिद्दिकीले भने ।
कार्यशाला गोष्ठीमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको आयोजक बाँके युनेस्को क्लबले जनाएको छ ।


कार्यशालामा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर, नेपालगन्ज उपमहानगर शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा, नेपालगन्जका महिला विकास अधिकारीहरु मन्जु पाण्डे र पवित्रा पुरी, कोहलपुर नगरपालिकाका महिला विकास अधिकारी घट्ना शाह, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका सन्तोष पुलामी, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत विनिता आरसी र शंकरसिंह थारु लगायत सहभागी थिए ।


प्रशिक्षक आशिष बर्माले सहजीकरण गरेको कार्यशालामा मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि बाँकेका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा रणनीति कार्ययोजना छिटै तयार गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

प्रतिक्रिया