नेपालगन्जमा ह्वात्तै घट्यो तापक्रम

नेपालगन्जको तापक्रम ह्वात्तै कमी भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार नेपालगन्जको अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

आइतबार दिउँसोसम्म बाँकेमा हुस्सु र कुहिरो लागेको थियो । विहानपख लागेको कुहिरोका कारण सडक यातायात समेत सञ्चालनमा अप्ठ्यारो परेको छ । चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्न थालेका छन् । स्थानीय स्वास्थ्य संस्थाहरुमा चिसोका बिरामीहरुको चाप बढ्न थालेको पाइन्छ ।

आइतबार बाक्लो हुस्सु र शितलहरका कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विहान र दिउँसोका उडान प्रभावित भएपनि साँझ पुनः उडान र अवतरण भएको थियो ।

हुम्लामा लाखौँको क्षति

शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आइतबार दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ ।

बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।
हावाहुरीका कारण नेपालगन्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगन्जमै रोकिएका हुन् ।

यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पास भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यसैगरी हावाहुरीले छानो उडाएपछि रु सात लाख बराबरको क्षति पुगेको प्रहरीको आँकलन छ । क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । कोरोना महामारिपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया