राष्ट्रगान छनोट समयका दोस्रो स्थान हासिल गर्ने कवि, गीतकार तथा उपन्यासकार हरिहर तिमिल्सिनाको शिक्षण सिकाइमा आधारित क ख रा उपन्यासको शनिबार औपचारिक कार्यक्रम बीच विभिन्न कोषबाट समीक्षा भएको छ ।

भेरी साहित्य समाजको मुख्य आयोजनामा भएको उक्त कार्यक्रममा प्रकाशक संस्था सिकाइ समूहका सुदर्शन घिमिरे, लेखक हरिहर तिमिल्सिना र अन्य विभिन्न स्रष्टा, समालोचक, शिक्षा प्रेमी, विभिन्न विद्यालयका प्राचार्य, प्रधानाध्यापक र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा सल्लाहकार सनत रेग्मीको प्रमुख आतिथ्यता र बाँके शाखा अध्यक्ष बोधराज प्याकुरेलको सञ्चालनमा सम्पन्न भएको हो ।
समाजका सचिवालय सदस्य लता शर्माले स्वागत मन्तव्य र अतिथि तथा सिकाइ समूहका प्रमुख सुदर्शन घिमिरेले कृतिको आवश्यकता, पृष्ठभूमि र महत्वका बारेमा प्रकाश पारेका थिए । समारोहमा विद्यार्थीका तर्फबाट यूनाइटेड एजुकेशनल एकेडेमी कक्षा ९ की छात्रा कृति फुयाँलले विद्यार्थीको दृष्टिकोण राखेकी थिइन् भने समालोचक लेक प्रसाद प्याकुरेल र इश्वरी रिजाल (उल्कापात)ले गहन समीक्षा गरेका थिए ।

कार्यक्रमका अतिथि प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शिक्षामा परिवर्तनको आवश्यकता देखेर क ख रा जस्ता कृतिहरु लेखिएकाले समाजमा उछृंखलता बढ्दै गएको, मान्छेहरु आफुनै जान्ने सोच्न थालेकाले आत्ममूल्यांकन र नैतिकता सँग सम्बन्धित पुस्तकहरु पनि लेखेर समाजका अराजकतालाई हटाउनु पर्ने विचार राखेका थिए ।
कार्यक्रममा लेखक हरिहर तिमिल्सिनाले कृतिले शैक्षिक अवश्य पनि योगदान पुग्ने भन्दै आआफ्ना बालबालिका र छोराछोरीलाई अंक ल्याउने उद्देश्यले नभई सीप सिकाउने, उनीहरुको इच्छा अनुसारको शिक्षा दिनुपर्ने र सोही उद्देश्यले आफुले उक्त कृति लेखेको बताएका थिए ।
प्रमुख अतिथि रेग्मीले नयाँ विषयवस्तुमा आधारित क ख रा को चर्चा र समीक्षा हुनु सुन्दर पक्ष भएको उल्लेख गर्दै परिष्कृत दोस्रो संस्करणको चाँडै आउने विश्वास व्यक्त गरे । अध्यक्ष हरि तिमिल्सिनाले कार्यक्रम समापन गर्दै विषयवस्तु उत्कृष्ट भएको र भाषिक त्रुटिहरु हटाई पुनः प्रकाशन भएमा कृतिको महत्व अझ बढ्ने बताएका थिए । समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका बाँके सचिव कमल डाँगी, पत्रकार कृष्ण अधिकारी, शंकर खनाल लगायत ७० बढी लेखक, शिक्षक तथा पत्रकारको सहभागिता रहेको थियो ।