‘प्रदेशका प्रत्येक घरमा विद्युत पुर्याउने योजना’

इलेक्ट्रिसियन एशोसिएसन बाँकेको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन



लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले लुम्बिनी प्रदेशका प्रत्येक घरमा बिजुली पुर्याउने योजना प्रदेश सरकारको रहेको बताएका छन् । शनिबार नेपालगन्जमा इलेक्ट्रिसियन एशोसिएसन बाँकेको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री हमालले प्रदेश सरकारले प्रदेशका सबै जिल्लाका जनता अध्याँरोमा बस्नु नपरोस् भन्ने उद्देश्यले काम गरिरहेको बताएका हुन् ।


मन्त्री हमालले कुनै बेला इलेक्ट्रिसियन पाउन गाह्रो पर्ने नेपालगन्जमा अहिले जनशक्ति धेरै वृद्धि भएको बताए । उनले भने, ‘जोखिम मोलेर गर्नुपर्ने पेशा हो, तर पहिले भन्दा अहिले धेरै जनशक्ति इलेक्ट्रिसियन क्षेत्रले तयार गरिसकेको छ ।’ मन्त्री हमालले इलेक्ट्रिसियन क्षेत्रमा कार्यरतहरुको आय त्यति धेरै नहुने र जोखिम मोलेर काम गर्नुपर्ने भएकाले बीमाको आवश्यकता रहेको बताएका थिए । उनले त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।


मन्त्री हमालले इलेक्ट्रिसियनले आफ्नै भवन बनाउने तयारी गरेमा त्यसका लागि सरकारबाट सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका थिए ।
एशोसिएसनका अध्यक्ष दिपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले इलेक्ट्रिसियन व्यवसाय गर्दा जोखिम हुने, राज्यको नीतिगत समस्या, भन्सारका समस्या लगायतका बारेमा आफ्ना धारणा राखेका थिए ।


कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली, विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सदस्य नन्द लाल ढकाल, विजुली व्यवसायी संघ कोहलपुरका अध्यक्ष विष्णु पौडेल, पलम्बर एशोसियसन बाँकेका अध्यक्ष अशोक चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

इलेक्ट्रिसियन एशोसिएसन खनाल

प्रतिक्रिया

प्रतिक्रिया