नेवार समुदायको केन्द्रीय विधान महाधिवेशन

नेपालका नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । त्यसका लागि देशभरका नेवार समुदायका अगुवा नेपालगन्ज आइपुग्दैछन् । यही पुस १६ गतेका दिन नेपालगन्जमा नेवाः देयः दबू बाँकेको आतिथ्यमा हुन लागेको हो । केन्द्रीय विधान महाधिवेशनमा ६८ जिल्ला शाखाका करीब ३०० जना बढीको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ ।
आयोजनाको सफलताका लागि आवश्यक तयारी गर्न शुक्रवार नेपालगन्जमा छलफल आयोजना गरिएको छ । नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित नेवारहरुको साझा छाता संगठन नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता छलफल आयोजना गरिएको हो । संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको प्रमुख आतिथ्यमा बाँके जिल्लाका नेवारहरुको प्रतिनिधिमूलक भेलाले विधान महाधिवेशनको तयारीको बारेमा व्यापक छलफल गरेको सल्लाहकार पूर्णलाल चुकेले जानकारी दिए ।
वरिष्ठ पत्रकार चुकेका अनुसार, भेलाले विधान महाधिवेशनलाई भव्यताका साथ सफल तुल्याउनका लागि गठन गरिएको विभिन्न ११ वटा समितिहरुको अनुमोदन गर्दै समितिलाई पूर्णता प्रदान गरी भोलिदेखि नै आआफ्नो जिम्मेवारीको काममा लाग्न निर्देश गरेको छ ।
छलफलपछि नेवाः देयः दबू बाँकेका अध्यक्ष श्रेष्ठको नेतृत्वमा २५१ सदस्यीय मूल समिति, ५१ सदस्यीय सल्लाहकार समिति, २१ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ । अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नेवाः पुच बाँकेका उपाध्यक्ष जितेन्द्र कुमार जोशी रहेको सचिवालय समिति, नेवा मिसाः दबू, बाँकेकी अध्यक्ष शोभा श्रेष्ठको संयोजकत्वमा सगुन व्यवस्थापन समिति, कोषाध्यक्ष विकल श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति बनाइएको छ ।
त्यस्तै, सल्लाहकार मनोज श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, नरेन्द्र श्रेष्ठको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति, ज्ञानेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, सूर्य कुमार श्रेष्ठको संयोजकत्वमा स्वयम् सेवक व्यवस्थापन समिति, पत्रकार समीर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, रुपक श्रेष्ठको संयोजकत्वमा फोटो तथा भिडियोग्राफी समिति, दिपेन्द्र जोशीको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रेमलाल श्रेष्ठको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ ।
भेलामा केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, सल्लाहकार संयोजक अशोक कर्माचार्य, सल्लाहकार पूर्ण लाल चुके र अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले केन्द्रीय विधान महाधिवेशनलाई भव्यताका साथ आयोजना गर्नको लागि बाँके जिल्लाका सबै नेवारहरु एक ढिक्का भई जुट्न आव्हान गरेका थिए ।