नेपालगन्जमा विमानस्थलमा जंगली जनावर पसेर विमानमा ठोक्किएपछि विमानस्थल सुरक्षा अहिले चासोको विषय बनेको छ । बंदेल, स्याल जस्ता जंगली जनावर विमानस्थलमा ठोक्किनु सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील विषय हो ।
नेपालगन्ज विमानस्थलमा यसअघि रहेको झाडी तथा विमानस्थल क्षेत्रमा लगाइएको तारजाली काटिंदा समस्या भएको नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाँ बताउँछन् । त्यसै विषय सहित व्यवस्थापनका विभिन्न पाटोलाई लिएर बासले मंगलबार विमानस्थल प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
नेपालगन्ज विमानस्थल प्रमुख विमानस्थल सुरक्षा आसपासमा बस्ने स्थानीयमा जनचेतना नहुँदा समस्या सिर्जना हुने गरेको बताउँछन् । ‘हामीले लगाएको तार, जाली पटकपटक स्थानीयबासीले घाँस, दाउरा तथा विद्यार्थीहरु बयर खानका लागि काटिदिन्छन्’, उनले भने, ‘काटिएको तारजालीबाट जंगली जनावर छिर्ने गरेका हुन् ।’ उनले विमानस्थल सामूहिक भएकाले यसको व्यवस्थापनमा सबैले सघाउनु पर्ने बताउँछन् ।
‘सीमित स्रोत साधनमा काम गर्दा व्यवस्थापनमा समस्या हुन्छ’, विमानस्थल प्रमुख झा भन्छन्, ‘विमानस्थलमा झाडी बढेपछि सुरक्षाकर्मीहरुले सहयोग गर्नुभयो, उहाँहरु आएर झाडी सफा गरिदिनुभएको छ ।’ उनी झाडी फेरि बढ्दै जाने भएकाले त्यसले समस्या निम्त्याउन सक्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताउँछन् ।
‘विमानस्थलको तारबार काट्नेलाई पक्राउ गरेर कारबाही गर्ने हो भने समस्या समाधान हुन्थ्यो’, विमानस्थल प्रमुख झा भन्छन्, ‘हामी काटिएको बताउँछौं, पुनः काटिन्छ, त्यसैले पनि समस्या हुने गरेको हो ।’
विमानस्थल प्रमुख झा विमानस्थललाई व्यवस्थित बनाउन आफुहरुले सक्दो प्रयास गरेकाले त्यसमा विमानस्थलका लागि खटिएका सुरक्षाकर्मी लगायत सबैले सघाउनु पर्ने बताउँछन् । ‘विमानस्थलमा अनावश्यक भीड नियन्त्रण गर्नका लागि पासको व्यवस्था गरेका छौं’, उनले भने, ‘यसको प्रभावकारी कार्यान्वयन सुरक्षाकर्मीले गरिदिनु पर्दछ ।’ उनले पार्किङ्ग र गार्डेन व्यवस्थित रहेको उल्लेख गर्दै कतै बदमासी भए सुरक्षाकर्मीले निगरानी गर्नुपर्ने बताएका छन् ।