असुलीका लागि भएको आक्रमणले सुरक्षामाथि सवाल
नेपालगन्जको फत्ते मुस्लिम मुसाफिरखानामा मंगलवार भएको आपसी झडप्ले तनाव सिर्जना गरेको छ । एउटा वैवाहिक समारोहमा भएको झडप्ले दिनभर तनाव सिर्जना गरेको हो ।
दुई जना भारतीय नागरिकको आपसी लेनदेनको विवाद बैबाहिक समारोहमा प्रवेश गरेरपछि हातपात र गाली गलौच भएको थियो । प्रत्यक्षदर्शीका अनुसार, जहीर हल्वाईको छोरा र छोरीको विवाह भोज चल्दै गर्दा एउटा समूहले आएर महिलाहरुसंग अभद्र व्यवहार गरेको थियो ।
दुलहीका बुवा जहीर हल्वाईका अनुसार, आफ्ना तीन छोरासहित बैवाहिक समारोहमा पसेका जबीउल्लाहको समूहले अपशब्द गाली गलौच गर्दै महिलाहरु माथि हातपात गरेका थिए । ‘हातपात गर्ने क्रममा महिलाहरुको गरगहना हराएका छन्,’ जहीर भन्छन्, कसैको कंगन झिकिएको छ, भागदौडमा कसैको नाकको फुली त कसैको शिरको टीका आदि खसेको छ ।’
सम्बद्ध परिवार स्रोतका अनुसार, ब्याज रकम असुलीको विवादलाई लिएर नबोलाइएका मानिसको समूह बैबाहिक समारोहमा परेको थियो । भारत यूपीस्थित बाबागंजका दुई व्यक्तिबीचको लेनदेनको असुली गरिदिने जिम्मा लिएका व्यक्तिले हंगामा गरेको पीडित परिवारको भनाइ छ । ‘रकम दिने मान्छे भने यहांँका छन् भन्ने थाह आएर बवाल गर्ने जबीउल्लाह भन्ने व्यक्तिको ज्वाई हुन् ,’ प्रत्यक्षदर्शी भन्छन्, ‘उनी ज्वाईले दिएको व्याज रकम असुल गर्न प्रहरीनै लिएर आएका रहेछन् ।’
मुसाफिरखानाभित्र घटेको उक्त घटनाले आफुहरु सन्त्रस्त रहेको स्थानीयवासीको भनाइ छ । ‘हामी आफ्नो घरका महिलालाई बिहेमा पठाएका हुन्छौं, मुस्लिम मुसाफिरखानामै यस्तो घटना आपत्तिजनक छ,’ घटनाका प्रत्यक्षदर्शी राशीद कमालले दैनिक नेपालगन्जसँग भने, ‘बैवाहिक समारोहमा यसरी अभद्र व्यवहार गरिन्छ भने महिलाहरुको लागि सुरक्षाको ठुलो सवाल बन्छ ।’
बाँके प्रहरी प्रमुख, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले औपचारिक जानकारी नआएपनि बुझेर आवश्यक कारबाही गर्ने प्रतिक्रिया दिए ।
आक्रमण भएकै होइनः जबी उल्लाह
घटनामा आक्रमणकारी भनिएका जबी उल्लाहले भने सबै घटनामा नेपाल प्रहरी साक्षी रहेको दावी गर्दै आक्रमण गरेको नभइ आफ्नो बक्यौता असुलीका लागि जाँदा महिलाहरुले दुव्र्यबहार गर्दा समस्या भएको बताएका छन् । ‘नौ वर्षदेखिको बक्यौता रकम नदिएर भागेकोले बोलाउन गएको हो,’ जबी उल्लाहले बैबाहिक समारोह बाहिर बोलाउदा लुकेको दावी गर्दै भने, ‘उनी आउनुको साटो परिवारका महिला सदस्यहरुलाई पठाएपछि समस्या भएको हो ।’
जबी उल्लाहले नौ वर्षअघि गरेको गल्ला कारोबारबाट तिर्नुपर्न रकम नदिएर भागिरहेका व्यक्ति नेपालगन्ज आएको थाह पाएपछि प्रहरी लिएर गएको बताए । ‘सात लाखबढी लिनुपर्नेछ,’ उनले भने । ब्याज असुली नभइ आफ्नो लगानी लिनका लागि बाँकी रहेको उनको भनाइ छ ।