१० बर्षमा १ लाख २५ हजार बढ्यो जनसंख्या, ३७ हजार बढी घर थपिए

बाँकेमा एक दशकमा १ लाख २५ हजार जनसंख्या थपिएको छ । सहरी क्षेत्र भएकाले अस्थायी बसोबास गर्ने सबैले आफ्नो गणना यही गर्दैनन् । जसले गर्दा यो संख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।
वि.सं. २०६८ को जनगणनामा बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको थियो । जसमा पुरुषको संख्या २ लाख ४४ हजार २ सय ५५ र महिलाको संख्या २ लाख ४७ हजार ५८ थियो । हालै भएको जनगणनामा बाँकेको कुल जनसंख्या ६ लाख २० हजार ५ सय २६ पुगेको अनुमान रहेको छ । जसमा महिलाको संख्या ३ लाख ७ हजार रहेको छ ।
२०७८ को जनगणना अनुसार, बाँकेमा घरपरिवार संख्या १ लाख ३१ हजार ८ सय ९७ रहेको छ । वि.सं. २०६८ सालमा भएको जनगणना अनुसार बाँकेमा ९४ हजार ७ सय ७३ घरधुरी संख्या रहेको थियो ।
बाँकेमा एक दशकमा ३७ हजार घर थपिएका छन् । वि.सं. २०६८ सालमा भएको जनगणना अनुसार बाँकेमा ९४ हजार ७ सय ७३ घरधुरी संख्या रहेको थियो । वि.सं. २०७८ को गणनामा उक्त संख्या १ लाख ३१ हजार घरधुरी नाघेको अनुमान छ ।
जिल्ला जनगणना अधिकारी वेद प्रसाद ढकालका अनुसार, नेपालगन्ज उपमहानगरपालिको जनसंख्या १ लाख ६६ हजार, राप्तीसोनारी गाउँपालिकाको जनसंख्या ६७७००, कोहलपुर नगरपालिकाको १ लाख १२ हजार, बैजनाथ गाउँपालिकाको ७० हजार ३ सय, खजुरा गाउँपालिकाको ६३७००, जानकी गाउँपालिकाको ४६ हजार ६ सय ५०, डुडुवा गाउँपालिकाको ४३ हजार, नरैनापुर गाउँपालिकाको ४३ हजार ८ सय जनसंख्या पुगेको अनुमान गरिएको छ ।
जिल्ला जनगणना कार्यालय बाँकेका अनुसार, राप्ती सोनारी गाउँपालिकामा १७ हजार ९ सय ७२ घरधुरीमा १४ हजार ५ सय ५५ घर परिवार, कोहलपुर नगरपालिकामा २५ हजार ५ सय ७० घरधुरीमा २५ हजार ७ सय २० परिवार, बैजनाथ गाउँपालिकामा १८ हजार ४ सय १७ घरधुरीमा १६ हजार ४ सय ८५ परिवार, खजुरा गाउँपालिकामा १३ हजार ४ सय ४० घरधुरीमा १३ हजार ६ सय १७ घरपरिवार, जानकी गाउँपालिकामा ७ हजार ७ सय ९७ घरधुरीमा ९ हजार ५३ घरपरिवार, नेपालगन्जमा ३३ हजार ७१ घरधुरीमा ३६ हजार ८ सय ८० घरपरिवार, डुडुवा गाउँपालिकामा ८ हजार ३ सय ६० घरधुरीमा ७ हजार ९ सय ९३ घरपरिवार, नरैनापुरमा ६ हजार ६ सय ५६ घरधुरीमा ८ हजार २ सय ४९ घर परिवार रहेको अनुमान गरिएको छ ।
बाँकेमा प्रथम चरणमा घरधुरी र परिवार संख्या संकलन गरिएको थियो । बिस्तृत विवरण संकलनका लागि दोस्रो चरण कार्तिक २५ गते सुरु भई मंसिर ९ गते सकिएको थियो । हाल भएको जनगणनाको परिणाम केन्द्रीय कार्यालयमा प्रशोधन भएपछि सार्वजनिक हुने जिल्ला जनगणना अधिकारी ढकालले जानकारी दिएका छन् ।
१९६८ सालमा प्रधानमन्त्री चन्द्रशमशेरले गराएको जनगणनालाई पहिलो आधिकारिक जनगणना मानिन्छ । त्यसपछि क्रमशः १०–१० वर्षमा जनगणना हुँदै आइरहेका छन् । यद्यपि राणाकालीन चारवटा गणनालाई सामान्य व्यक्ति गणनाका रूपमा लिइन्छ भने २००९÷२०११ सालमा सञ्चालन भएको जनगणनालाई वैज्ञानिक जनगणनाको सुरुवातको रूपमा लिइन्छ । आजसम्म आइपुग्दा नेपालले जनगणनाको ११ वटा अनुभव गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया