मधेस विद्रोहको प्रतिफल गणतन्त्र: उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

नेपालगन्जमा आइतवार भएको बृहत अगुवा कार्यकर्ता भेला एवं अभिमूखिकरण कार्यक्रममा अध्यक्ष यादवले मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र, समावेशीकरण, संघीयता आएको दावी गर्दै त्यसलाई ओलीले समाप्त गर्न खोजेको आरोप लगाए ।
धेरै त्याग र बलिदानबाट आएको लोकतन्त्रलाई प्रधानमन्त्री हुँदा ओलीले समाप्त पार्न खोजेको आरोप लगाउँदै पूर्व उप–प्रधानमन्त्री यादवले भने, ‘ओलीले दुई दुई संसदलाई बिघटन गरेर लोकतन्त्रको अन्त्य गर्न खोजेको प्रष्ट हुन्छ ।’ ‘दुई पटक संसद विघटन गरियो । त्यो पनि यी सबै उपलब्धी मास्ने षड्यन्त्र थियो,’ यादवले भने, ‘हामी त्यसको सशक्त विरोध उत्रियौँ र बचायौँ ।’
अध्यक्ष यादवले नेपालमा भएका आन्दोलनहरुले सत्ता परिवर्तन गरे पनि मधेस विद्रोहले शासन प्रणाली नै परिवर्तन गरेको बताए । ‘नेपालमा विभिन्न समयमा जनआन्दोलन भए । ती सबै आन्दोलनले सत्ता परिवर्तन गरे,’ अध्यक्ष यादवले भने, ‘मधेस जनविद्रोहले मात्रै शासन प्रणाली परिवर्तन गरेको छ ।’

नेपालमा विभिन्न समयमा जनआन्दोलन भए । ती सबै आन्दोलनले सत्ता परिवर्तन गरे, मधेस जनविद्रोहले मात्रै शासन प्रणाली परिवर्तन गरेको हो ।
मधेश आन्दोलनपछि नै देशमा महिलालाई ३३ प्रतिशतको सहभागिताको अधिकार सुनिश्चित भएको धारणा दावी पार्टी अध्यक्ष यादवको
थियो । पूर्वमन्त्री इस्तियाक राई, प्रदेश अध्यक्ष अशहोक यादव, जिल्ला अध्यक्ष कमरुद्दिन राईलगायतले मधेसी जनताको अधिकारका लागि जसपा लडिरहेको दावी गरेका थिए ।
कार्यक्रममा पूर्व प्रहरी निरीक्षक अरूण सिंह, राप्रपाका क्षेत्रीय सदस्य रोशन भट्टराईलगायतका युवाहरु पार्टी प्रवेशको घोषणा गरेका थिए । उनीहरुलाई पार्टी नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।