कोरोनाः भेरीमा एकको मृत्यु, १८ वर्षमाथिका सबैलाई खोपका लागि अभियान

कोरोना संक्रमणका कारण उपचारका लागि आएका एक बिरामीको भेरी अस्पताल नेपालगन्जमा आइतवार मृत्यु भएको छ । कैलालीबाट उपचारका लागि आएका घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

टिटिरिया स्वास्थ्य चौकी, बाँकेमा कोभिड विरुद्धको खोप लगाउनेको भिड । तस्विर सौजन्यः नरेश श्रेष्ठ

उपचारको क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएका उनलाई मंसिर २५ गते पीसीआर गर्दा संक्रमण पाइएपछि उपचारका लागि ल्याइएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आएका ४ सय ३६ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा आइतवार थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

कोभिड विरुद्ध को खोप लगाउनेको भिड । तस्विर सौजन्यः नरेश श्रेष्ठ

पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ भने ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

त्यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेमा २७ हजारलाई खोप

बाँकेका चार वटा पालिकामा सञ्चालन गरिएको अभियानमा २७ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, मंसिर २३, २४ र २५ गते नेपालगन्ज, कोहलपुर, जानकी र खजुरा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । नेपालगन्जमा ९ हजार ३३५, कोहलपुरमा ७ हजार ७१०, जानकीमा चार हजार ५०० र खजुरामा ६ हजार ३२९ जनाले पहिलो मात्रा र ५ हजार ७९६ जनाले दोस्रो मात्रा खोप लगाएका हुन् ।

आइतबारदेखि बैजनाथ, राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका १८ वर्षमाथिका सबैलाई खोप लगाउन शुरु गरिएको छ । १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयले सबै पालिकामा अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया