नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो प्रदेश अधिवेशनले दाङ्गका भैरव रावलको अध्यक्षमा सर्वसम्मत २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिले थप ५ सदस्य मनोनित गर्न पाउने संघको विधानमा रहेको छ ।
संघका निवर्तमान अध्यक्ष बसन्त लामिछानेले सहमतीय प्रणालीलाई अगाडि बढाउँदै कार्यसमिति सर्वसम्मत निर्वाचित गर्न सफल भएको जानकारी दिएका छन् ।
उपाध्यक्षमा विश्व खनाल (रुपेन्देही), उपाध्यक्षमा शालिक सुवेदी (बाँके), सचिवमा केशव श्रीष (रुपन्देही), कोषाध्यक्षमा राम बहादुर अधिकारी (पाल्पा), सहसचिवमा घनश्याम बराल (दाङ्ग) सर्वसम्मत भएका छन् । उपाध्यक्ष निर्वाचित बाँकेका सुवेदी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको निवर्तमान बाँके जिल्ला अध्यक्ष हुन् ।
प्रदेश कार्यसमितिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका व्यवसायीहरुलाई समावेश गरिएको जानकारी दिंदै निवर्तमान अध्यक्ष लामिछानेले नव निर्वाचित कार्यसमितिले आफ्नो नेतृत्वको समितिले अगाडि बढाएका योजना तथा कार्यक्रमहरुलाई पूर्णता दिने विश्वास व्यक्त गरे । ‘पुस्तक तथा स्टेशनरी व्यवसायी मर्कामा छन्, उनीहरुको व्यवसायिक हक हितका लागि अबको कार्यसमिति लाग्नेछ भन्ने मेरो विश्वास हो’, उनले भने । प्रदेश समितिमा बाँकेबाट सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ, सतिश निरौला सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसअघि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको प्रदेश अधिवेशन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समुद्घाटन गरेका थिए । संघका प्रदेश अध्यक्ष बसन्त लामिछानेको अध्यक्षतामा अधिवेशन भएको हो ।