पठन संस्कृतिको विकासमा व्यवसायीको संस्थागत अग्रसरता

पुस्तक व्यवसायीको लुम्बिनी प्रदेश अधिवेशन नेपालगन्जमा आज

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संस्था, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको लुम्बिनी प्रदेश अधिवेशन आज शनिबार नेपालगन्जमा हुने भएको छ । अधिवेशनमा सहभागिताका लागि प्रदेश अन्तर्गतका सबै जिल्ला शाखाबाट प्रतिनिधिहरु नेपालगन्ज आउने क्रम सुरु भएको शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


आज शनिबार औपचारिक कार्यक्रम बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्ने संघका प्रदेश अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए । संघले दिएको जानकारी अनुसार, अधिवेशनले नयाँ नेतृत्व चयन सँगै व्यवसायीहरुका समस्या र समाधानका उपायहरुका बारेमा बृहत छलफल गर्नेछ ।


‘पठन संस्कृतिको अभ्यास कमजोर हुँदै गएको बेला त्यसलाई कसरी बढोत्तरी गर्न सकिन्छ भन्ने मुख्य चासो हाम्रो छ’, प्रदेश अध्यक्ष लामिछानेले पत्रकारहरुसँग भने, ‘त्यसका लागि हामी स्थानीय तथा प्रदेश सरकार सँगको सहकार्यमा पुस्तकालय स्थापनाको अवधारणालाई अगाडि बढाएका छौं ।’


प्रत्येक जिल्लामा इ–लाइब्रेरी स्थापनाको अवधारणा कार्यान्वयनमा आइसकेको जानकारी दिंदै प्रदेश अध्यक्ष लामिछानेले रुपन्देहीको बुटवलमा स्थानीय जिल्ला शाखाले आफ्नै भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा ल्याउन लागेको बताए । ‘अन्य जिल्लालाई पनि हामी इ–लाइबे्ररीका लागि हामी पहल गरिरहेका छौं’, अध्यक्ष लामिछानेले स्थानीय सरकारको सहभागिता खोजिएको जानकारी दिंदै भने, ‘पठन संस्कृतिको सवाल प्रत्येक नेपालीको चासोको विषय हुनुपर्छ ।’

पठन संस्कृतिको सवाल प्रत्येक नेपालीको चासोको विषय हुनुपर्छ ।

बसन्त लामिछाने,अध्यक्ष
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको लुम्बिनी

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ सय ५० जना प्रतिनिधि र ५० जना पर्यवेक्षकको सहभागिता अधिवेशनमा सुनिश्चित गरिएको संघका प्रदेश अध्यक्ष बसन्त लामिछाने र सचिव द्रोण प्रसाद भुषालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, केन्द्रीय सदस्य बुद्धिप्रसाद अधिकारी, केन्द्रीय सदस्य होमराज पाण्डे, प्रदेश कोषाध्यक्ष कमलराज तिमिल्सिना लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया