महाधिवेशनमा न नीतिको चर्चा छ न त नेतृत्व नै

आजबाट नेपाली काँङग्रेसको चौधौं महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ । देशको सबैभन्दा जेठो पार्टी, आजसम्म भएका प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्रका आन्दोलन मात्रै नभएर ’संसार कै उत्कृष्ट‘ भनिएका २०४७र २०७२ सालको संविधान निर्माणको अगुवायी गरेको पार्टीको राष्ट्रिय महाधिवेशनको चर्चा नहुने पनि करै भएन ।

नेपाली राजनीतिमा पहिलोपटक अत्याधिक बहुमत सहित शक्तिशाली बनेको कम्यूनिष्टहरुको सत्तारोहणको दुईबर्षमै वास्तविक चेहरा उदाङ्एिपछि आपसमा नै हिलो छेपाछेप गर्न थाले । त्यो नाटक र नौटङ्कीको श्रंखलाका कारण सत्ताबाट रिँङ आउट भएका कम्यूनिष्टहरु चोइटिए ।

कुनै पनि संख्याबलले सत्तासम्भावना नरहेको काँङ्ग्रेसले सत्तारोहण हुने अवसर पायो । यसमा शेरबहादुर देउवाको पाँचौं पटक चिठ्ठा परेर देशको प्रधानमन्त्री बन्न पुगे । यसरी सत्ताको मझेरीमा बसेर दोश्रोपटक सभापति र छैठौंपटक प्रधानमन्त्रीको सपना बुनेका देउवाको नेतृत्वमा रहेको पार्टीको हुनलागेको महाधिवेशन चर्चामा नहुने कुरा पनि भएन ।

लोकतन्त्रमा पार्टीहरु हुन्छन् र पार्टीहरुका सर्वोच्व निकाय भनेको नै महाधिवेशन हुन्छ । यहि सर्वोच्व निकायले पार्टीको कार्यदिशा निर्धारण गर्छ । नीति र त्यो नीतिलाई बोक्ने सहि नेतृत्व छान्छ । तर नेपाली काँग्रेसको यो महाधिवेशन नेपालीको एउटा उखान झैं हुँदैछ ’घुमीफिरी रुम्जाटार‘ ।

एमालेमा जस्तै नेपाली काँग्रेसमा पनि आजसम्म देउवा तहका नेतालाई बिश्राम गराउने कुनै नेता देखापरेको अवस्था छैन् । बाहिर शेरबहादुरको बिरोधमा गफहरु गरेता पनि नेतृत्वको निर्णय गर्ने महाकुम्भमा आफ्नो नीति र नेतृत्व देखाउने ल्याकत आजसम्म कुनै काँग्रेसजनबाट राखेको देखिँदैन । पछिल्लोपटक पछारिएका रामचन्द्र पौडेलले फेरिपनि शेरबहादुर देउवासँग शिँगरी खेल्न त खोजेका छन् तर यसपटक शेरबहादुरलाई भन्दा रामचन्द्रलाई नै बिश्राममा पठाउने गरि आकांक्षीहरुको लर्को लागेको छ ।

लामो समय शेरबहादुरलाई साथ र सहयोग गर्दै आएका बिमलेन्द्र निधिले यसपटक शेरबहादुर देउवाको साथ छोडेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेर शेरबहादुरलाई मात्रै सकस बनाएका छैनन् संस्थापनइतर समुहको नेतृत्वको दाबीलाई धरापमा पारिदिएका छन् । यहिकारण होला आजसम्म पनि सस्थापनइतरको साझा उम्मेदवार कोइ हुनसकेको छैन । पटकपटकका बैठकहरुबाट पनि कुनै निश्कर्षमा नपुगेको संस्थापनइतर पक्ष पनि झुण्डझुण्डमा नै देखिएको छ । यसको फाइदा नीति न नेतृत्व भएका शेरबहादुर देउवालाई भएको देखिन्छ ।

देश निर्वाचनको संघारमा छ । नेपाली काँग्रेसले कम्यूनिष्टहरुको बिभाजन र एकले अर्कोलाई सिध्याउने लडाइँको सित्तैमा फाइदा हुने देखिराखेको छ । तर जुन एजेण्डा देखाएर कम्यूनिष्टको सरकार बिस्थापन गरि काँग्रेस गठबन्धनको सरकार आएको थियो त्यसको औचित्य नै आजसम्म पुष्टि हुनसकेको छैन भने आगामी निर्वाचनसम्म यहि नेतृत्व सरकारमा रहिरहे देखिनेपनि छैन । यसले नेपाली काँग्रेसलाई सत्ताबिरुद्धको लहर (इन्टीइन्कम्बेन्सी) को सामना गर्न पनि पर्नसक्छ । हुनसक्छ वर्तमान सत्तामा साझेदारहरुले प्रधानमन्त्रीका लोभी शेरबहादुर देउवालाई नै सत्तामा राखिराखेर निर्वाचनमा आफ्नो चेहरा बचाउने योजना पनि बनाउन सक्नेछन् ।

शेर बहादुर देउवा जतिपटक प्रधानमन्त्री भए चिठ्ठा परेरै भएका छन् । उनलाई एकपटक निर्वाचन जितेर बहुमत ल्याएरै प्रधानमन्त्री हुने धोको पनि होला । हुनुपनि पर्यो । यस्तो अनुकुलतामा पनि नभए कहिले हुने ? यो अवसर गुमाउनै नचाहेका देउवा यसपटको महाधिवेशनमा सामदाम गरेरै भएपनि सभापति हुनैपर्छ भन्ने सोचमा देखिन्छन् । यसका लागि उनको सत्ता र शक्ति सबै लाग्ने नै छ ।

उसैपनि सत्तासीन पार्टीको महाधिवेशनको चर्चा जहिलेपनि हुने गर्छ । अझ लोकतान्त्रिक भनिने पार्टीको चर्चा लोकतान्त्रिक प्रक्रियाको महाकुम्भमा नहुने कुरै भएन । तर काँग्रेसको यो महाधिवेशनमा न नीतिको चर्चा छ न त नेतृत्व नै चर्चामा आउन सकेको छ । नेपाली काँग्रेसभित्र नीतिको बारेमा महाधिवेशनमा कुनैपनि नीतिगत चर्चा हुन छोडेको दुई दशक नै हुनथाल्यो ।

नेपाली काँग्रेसको एघारौं महाधिवेशन पछि करीबकरीब कुनैपनि नीतिको छलफल नै हुन छाडेको हो भन्दा पनि अतिशोक्ति हुँदैन । देशको जेठो राजनीतिक दल नै राष्ट्रिय एजेण्डा, देशको अबको मार्गचित्र, शासन प्रशासनमा सुधार र जनजिवीकाका सवालमा चर्चामा बसेको दृष्टान्त भेट्न गाह्रो भैसकेको छ । काँग्रेसको बिगतको १३औं महाधिवेशनको कार्यकाल त झन चुनिएकाहरुलाई कामको जिम्मेवारी समेत दिन नसकिकनै बितेको छ भन्दा पनि हुन्छ ।

हप्तौं, महिनौंसम्म सानेपामा बिभिन्न समूहका सत्याग्रहहरु, पार्टीभित्रको भागबण्डाका झगडाहरु, गुटको शक्ति बढाउने र घटाउने खेलखण्डहरु मै पाँचबर्ष बिताएको काँग्रेसले पार्टीको नै अस्तित्व समेत जोगाउन सत्ताको दाउपेच चल्नु पर्यो । प्राविधिक जोडघटाउ मिलाएर महाधिवेशन गरि पार्टी बचाउने काममा लाग्ने बाहेक नेतृत्वले कुनै काम कुरा गरेको देखिएन ।

विपीको आर्दशको काँग्रेस र किष्ण प्रसाद भट्टराईको त्याग र सादगीको नेतृत्वको काँग्रेस पनि पाएन । न त हठी आन्तरिक तानाशाह गिरिजा प्रसाद कै जस्तो कार्यकर्तालाई मुठ्ठिीमा राख्न सक्ने नेतृत्व नै पायो । २०७० सालपछि संविधान निर्माणको जिम्मेवारी पाएको काँग्रेसले सुशील कोइरालाकोे देहावसन पछि न कुनै एजेण्डा नै पायो न नेतृत्व नै ।

२०७४ सालको निर्वाचनमा २०७२ को संविधान आफ्नो पार्टीको प्रधानमन्त्रीको नेर्तत्वमा जारी गरेको एजेण्डालाई जनतासम्म पुर्याउन नसकेको नेतृत्वले आफ्नै कार्यकर्ता माथि विश्वास गर्न सकेन र कहिले माओवादीका छोरी बुहारी गुहार्न पुग्यो त कहिले बाबुरामलाई बोकेर बैतर्णी तर्न खोज्यो ।जिन्दगीभरी काँग्रसी बनेर निष्ठाको राजनीति गरेका कार्यकर्ताको अवमूल्यनको परिणामले काँग्रेसको नैया पार लगाउने कुरा पनि भएन ।

अर्कोतिर २०५१ सालमा महाकाली सुम्पेर छिमेकीको आर्शिवाद पाएका ओलीलाई सुनियोजित रुपमा नाकाबन्दीको रिहल्सल गरेर राष्ट्रवादी नेताको पगरी गुँथाएर चर्चित बनाइयो । राष्ट्रवादको राप, काँग्रेसभित्र कै खुट्टा काटाकाटले गतनिर्वाचनमा भएको दुर्दशा अहिले सित्तैमा सुध्रिएको त छ तर बीना नीति र कुसल नेतृत्व फेरिपनि नैया पार लाग्ने छैन । यसका लागि पनि काँग्रेसको यो महाधिवेशन महत्वपूर्ण छ ।

जिन्दगीभरी इण्डियाको नजिक रहेको कोइराला परिवार इतरबाट काँग्रेसको नेतृत्वमा पुगेका शेरबहादुर देउवा अमेरिकी सामिप्यताका कारण भारतबाट टाढिए । पछिल्लो समय भारत अमेरिका सामिप्यता र बीआरआई बिरुद्धको एमसीसीले ल्याएको सामिप्यताले शेरबहादुरलाई प्रधानमन्त्रीमा रहिरहन टेवा त पुगेको छ तर पाँचपाँच लाख नयाँपुस्ता सक्रिय सदस्य थपिएको काँग्रेसको सभापति नै बनिहाल्न त्यतिले पक्कैपनि पुग्ने छैन ।

अहिले राजनीति फेरिएको छ । भर्खरै सम्पन्न भएको राजावादी पार्टी राप्रपाका कार्यकर्ताहरुले पुरानो नेतृत्वलाई अस्वीकार गरेको छन् । राजा र हिन्दुराष्ट्रको वकालत गरेका कमल थापालाई धर्मनिरपेक्ष संविधानको सपथ खाएर उपप्रधानमन्त्री खाएको सजाएँ मात्रै कार्यकर्ताले दिएका छैनन् पार्टीभित्र प्रष्ट नीति र इमान्दार नयाँ नेतृत्व पनि चाहेका छन् भन्ने संकेत दिएका छन् ।

यसले नेपाली काँग्रेसमा पनि हिन्दुराष्ट्रको एजेण्डा र कुसल नेतृत्वको मागले बल पाएको छ । तर काँग्रेसीहरुमा अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो नीति र नेतृत्व ल्याउने आँट कसैमा देखिएकोछैन । अहिले काँग्रेसको संस्थापनपक्ष र केहि इतरपक्षका समेत हिजो धर्मनिरपेक्षताको पक्षको दवावमा छन् । उसैपनि शेरबहादुर देउवाले यसबिषयमा कहिल्यै कुनै मञ्चमा बोलेका पनि छैनन् । शेरबहादुरसँग देशको दिर्घकालिन भलाई या जनताको आवश्यकता र अभिरुचिको सम्बन्धमा कुनै नीति नै छैन ।

काँग्रेसजनहरुले देशको मूलप्रवाह, जनताको चाहनालाई पनि बुझ्ने प्रयास गरेका छैनन् । सायद यसैलाई काँग्रेसले लोकतन्त्र भन्छ । नीति र नेतृत्व बीनाको पार्टीलाई नै लोकतन्त्र भन्नु काँग्रेसको भूल हो । शेरबहादुर देउवाको प्रधानमन्त्रीत्व जसरी देश र जनताका लागि ‘कौवालाई बेल पाक्यो हर्ष न बिस्मात’ भैरहेको छ त्यसैगरि उनी नेपाली काँग्रेको सभापतिमा निर्वाचित भएमा काँग्रेसजनहरुका लागि नीति न नेतृत्वको बेल हुने पक्का छ ।

प्रतिक्रिया

प्रतिक्रिया