निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेको आयोजनामा भएको प्रथम प्याब्सन नेपालगन्ज अण्डर–१४ फुटवल प्रतियोगिता मंगलबार सकिएको छ ।

प्रतियोगिताको उपाधि पशुपति मावि राँझाले हात पारेको छ भने उपविजेता नेपालगन्ज मोडेल एकेडेमी, तृतीय सिद्धार्थ बिद्या सदन र सान्त्वना स्टार फ्युचर सेकेण्डरी स्कूल हुन सफल भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको १६ वटा विद्यालयका १४ बर्ष मुनिका छात्रहरुले प्रतिष्पर्धा गरेका थिए ।

मंगलबार पशुपति मावि र नेपालगन्ज मोडेल एकेडेमी बीच भएको फाइनल खेलमा पशुपति शून्यको विरुद्ध २ गोलले विजयी भएको थियो ।
तेश्रो स्थानको लागि सिद्धार्थ मावि र स्टार फ्युचर भएकोमा खेलको निर्धारित समयमा खेल बराबरी भएकोले ट्राई बेकरमा सिद्धार्थ विद्या सदन विजयी भएको थियो ।
प्रतियोगितामा बेस्ट स्कोर खेलाडी पशुपति माविका हिमाल पुन, बेस्ट गोलकिपर पशुपतिकै हृदयजङ्ग शाही र बेस्ट प्लेयर नेपालगन्ज मोडेल एकेडेमीका समिर रावत घोषित भएका थिए ।
सो फुटबलमा रेफ्री अमर घले, असिस्टेण्ड रेफ्री तारा शाही, सन्जय थापा, सानु तामाङ र रविन्द्र श्रेष्ठले भुमिका निभाएका थिए ।

प्रतियोगिता समापनमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले विद्यालयमा अध्ययनको साथ साथै अतिरिक्त कृयाकलापमा पनि जोड दिनु पर्ने बताइन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेका अध्यक्ष बिकास बर्जाचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मान बहादुर थापाले गरेका थिए ।