असुरक्षित आमा, बाँकेमा मात्रै अढाई बर्षमा ८३ गर्भवतिको मृत्यु

कुनै बेला एक जना सुत्केरी, गर्भवतिको मृत्यु हुँदा निकै चासो र चिन्ता व्यक्त गरिन्थ्यो । राज्यका निकाय हुन् वा त्यस क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले त्यसलाई गम्भीर रुपमा लिएर मृत्युको कारण खोज्ने र नदोहोरियोस् भनेर नीतिगत व्यवस्था गर्नुका साथै सचेतना लगायतमा केन्द्रित हुन्थ्यो । तर, पछिल्ला दिन गर्भवति, सुत्केरी आमाको मृत्युमा बेवास्ता गरिएको जस्तो देखिएको छ । राज्यका तीनै तहदेखि संघ संस्था कोरोना नियन्त्रण, उपचारमा मात्रै केन्द्रित हुँदा गर्भवति आमाको सुरक्षामा ध्यान नगएको स्वास्थ्यकर्मीहरु बताउँछन् । हुन त गर्भवति मृत्युका धेरै कारण र जिम्मेवार पक्षहरु रहने गरेका छन् ।

बाँके सुगम क्षेत्र हो । वडादेखि जिल्लामा सयौं स्वास्थ्य संस्थाहरु रहेका छन् । जसमा गर्भवतिको स्वास्थ्य चेकजाँच हुने गर्दछ । स्वास्थ्यमा राम्रो पहुँच भएकै जिल्लामा मातृ मृत्यु बढ्नु चिन्ताजनक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, गत तीन आ.व. र चालु आ.व.को चार महिनामा गरी ८३ जना आमाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले आ.व. २०७६\०७७ मा ३५ जना आमाको बाँकेमा मृत्यु भएको तथ्यांक रहेको जानकारी दिइन् । जसमध्ये बाँकेका १४ जना रहेका छन् । अधिकांस आमाहरुको मृत्यु स्वास्थ्य संस्थाहरुमा हुने गरेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सीमावर्ती जिल्ला भएका उपचारकालागि भारत गएर त्यही मृत्युभएमा त्यो तथ्यांक भने जनस्वास्थ्यको तथ्यांकमा समावेश नभएको हुन नसक्ने सम्बद्ध अधिकारी बताउँछन् ।


आ.व. २०७७/०७८ मा ४१ जना गर्भवति, सुत्केरी आमाको मृत्यु भएको छ । जसमध्ये बाँकेका मात्रै २४ जना रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ । चालु आ.व.मा ७ जना आमाको मृत्यु भैसकेको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ मातृ मृत्यु चिन्ताजनक विषय भएकाले यसतर्फ सरोकारवाला सबै निकायले गम्भीर रुपमा लिनुपर्ने बताउँछिन् । ‘आमाको मृत्यु हुनुमा धेरै कारण हुने भएकाले त्यसलाई न्यून गर्न राज्य, स्वास्थ्यकर्मी, परिवार तथा स्वयं आमाले स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्दछ’, उनी भन्छन् ।


गर्भवतिको स्वास्थ्य प्रति परिवार सचेत नहुँदासम्म गर्भवति आमाको मृत्यु रोक्न निकै कठिन हुने नर्स श्रेष्ठ बताउँछिन् । ‘बृहत जनचेतना जगाउने, गर्भवतिको नियमित स्वास्थ्य परीक्षण गर्ने, जटिल देखिनेको समयमै उपचार गर्ने हो भने मातृ मृत्यु घट्न सक्छ’, उनी भन्छिन् ।
स्वास्थ्यकर्मीहरु आमा सुरक्षाका लागि धेरै कार्यक्रम विगतमा चलेको र अहिले पनि आमा सुरक्षाका सचेतनामूलक कार्यक्रमहरु भैरहेपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताउँछन् । ‘कोरोनाकै बेलामा पनि आमाको सुरक्षामा ध्यान नै पुर्याइएन, त्यसका लागि छुट्टै व्यवस्था गरेको भए केही आमाको ज्यान पक्कैपनि जोगिन सक्थ्यो’, स्वास्थ्यकर्मी भन्छन् ।


गम्भीर अवस्थामा अस्पताल पुर्याउँदा कतिपय आमाको ज्यान जाने गरेको श्रेष्ठ बताउँछिन् । ‘घरमै बच्चाको जन्म होला भनेर कुर्ने र अवस्था जटिल भएपछि अस्पताल पुर्याउँदा पनि आमाको ज्यान जाने गरेको हो’, उनी भन्छिन् । पोषणको कमी, रगतको कमी, गर्भवस्थामा हेरचाहको कमी हुँदा आमाको ज्यान जाने गर्दछ ।


‘घरमा जन्माउँदा बच्चा र आमा दुवैलाई संक्रमणको जोखिम हुन्छ, अत्याधिक रक्तश्राव हुँदा दुवैको ज्यान समेत जान सक्छ, त्यसकारण स्वास्थ्य संस्थामै जन्माउँदा शिशु र आमाको ज्यान जोगाउन सकिन्छ,’ स्वास्थ्यकर्मी भन्छन् ।
किशोरी अवस्थामा आमा बन्नेहरु पनि निकै जोखिममा हुने गरेका छन् । भेरी अस्पताल नेपालगन्जका नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले एक औपचारिक कार्यक्रममा कम उमेरमा आमा बन्दा किशोरीहरुको ज्यान जोखिममा पर्ने गरेको बताएकी थिइन् ।

उनले गर्भवतिको मृत्यु दर कर्म गर्न किशोरी अवस्थामा आमा नबन्ने, गर्भवतिको स्वास्थ्य परीक्षण र स्वास्थ्यको हेरचाह नियमित गर्नुपर्ने बताएकी थिइन् । नेपाल जनसांख्याकी तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार, बिवाहको औसत उमेर पुरुषको हकमा २१.७ बर्ष र महिलाको हकमा १७.९ बर्ष रहेको छ । तथ्यांक अनुसार, नेपालमा १७ प्रतिशत किशोरी आमा बनिसकेका हुन्छन् वा गर्भवति हुन्छन् । जसले गर्दा किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया