सबै क्षेत्रमा बन्दै प्यानल
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा आज बुधबारबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
क्षेत्रीय सभापति माधबराम खत्री र युवा नेता पोषण केसी बीचकै निरन्तर द्वन्द्वले भदौमा हुनुपर्ने महाधिवेशनका जिल्ला स्तरीय निर्वाचन कार्यक्रमहरु प्रभावित हुँदै मंसिरसम्म आइपुगेको हो
जिल्ला निर्वाचन परिचालन समितिका अनुसार, आज बुधबार तीन वटै निर्वाचन क्षेत्रमा मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायतका निर्वाचन सम्बन्धी काम गरिनेछ । ‘मनोनयन पश्चात भोलि बिहीबार मतदान कार्यक्रम गरिनेछ’, निर्वाचन अधिकृत अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीले भने ।
बाँकेका तीन वटा क्षेत्रमा हुने निर्वाचनमा संस्थापन र संस्थापन इतरका प्यानल नै निर्वाचन प्रक्रियामा आउने सम्भावना देखिएको छ । सबैभन्दा बढी प्रतिस्पर्धात्मक देखिएको निर्वाचन क्षेत्र नं. १ का लागि दुवै प्यानलले मंगलबार औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थापन पक्षबाट माधव प्रसाद खत्रीले तेस्रो पटकका लागि दाबेदारी औपचारिक सार्वजनिक गरे भने पोषण केसीले संस्थापन इतरबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि बलियो रहँदै आएको संस्थापन क्षेत्र नं. १ मा कमजोर हुँदै गएको विश्लेषण सम्बद्ध नेतृत्वको रहेको छ । ‘बहालवाला नेतृत्वको खुराफातले संस्थापन कमजोर हुँदै गयो’, जिल्लाका संस्थापन नेता भन्छन्, ‘जसले गर्दा प्रदेश सभा नेतृत्व आधा गुम्यो ।’ खत्री र केसी बीचकै निरन्तर द्वन्द्वले भदौमा हुनुपर्ने महाधिवेशनका जिल्ला स्तरीय निर्वाचन कार्यक्रमहरु प्रभावित हुँदै मंसिरसम्म आइपुगेको उनको भनाइ थियो ।
क्षेत्र नं. २ मा संस्थापन भित्र नै प्रतिस्पर्धा हुने भएको छ । बहालवाला क्षेत्रीय सभापति रमेश गुप्ता विरुद्ध युवा नेता वीरेन्द्र बहादुर शाहले दाबेदारी गरेपछि संस्थापन इतरले यिनै दुई मध्ये एकलाई आफ्नो पक्षमा तान्ने रणनीति अख्तियार गरेको देखिन्छ । ‘हिजो डुडुवाको खेल आज नेपालगन्जमा खेलिंदैछ’, सम्बद्ध स्रोतको संकेत थियो । संस्थापनबाटै दुई जना भिडेपछि इतरले बुद्धिसागर सुवेदीलाई उठाउन जोरबल गरेपनि निर्णय आउन सकेको छैन । निकै बलियो संस्थापनसँग इतरले भिड्ने आँट नगरेको सम्बद्धको भनाइ छ ।
क्षेत्र नं. ३ मा सुरु देखि नै सर्वसम्मत ढंगले निर्वाचन प्रक्रिया अगाडि बढ्दै आएको छ । ‘तर, क्षेत्रीय सभापतिमा सर्वसम्मत हुन नदिने रणनीति छ’, संस्थापन इतर स्रोत भन्छ, ‘त्यसका लागि देब बहादुर केसीलाई उम्मेदवारीका लागि तयार गरिरहेका छौं ।’ तर, केसीले आँट नगरे प्रकाश शाहीलाई तयार गरेरै भएपनि खाँलाई सर्वसम्मत हुन नदिने योजना संस्थापन इतरको देखिन्छ ।
क्षेत्र नं. ३ मा बहालवाला नेतृत्व नक्की खाँ नै प्रभावशाली देखिन्छन् । सम्भवत उनै खाँलाई दोहोर्याउने संस्थापनको प्रयास सफल हुने दाबी उनीहरुको छ । (आजको दैनिक नेपालगन्ज www.dainiknepalgunj.com बाट)