कोरोना प्रभाव घटेपछि सहजै कर लक्ष्य

आन्तरिक राजश्व कार्यालय नेपालगन्जले प्रत्येक बर्ष निर्धारित लक्ष्य पार गरेको हुन्छ । तर, गत आ.व. २०७६/०७७ मा भने लक्ष्य प्राप्त गर्न नसकेको कर कार्यालय नेपालगन्जले त्यसपछि भने निर्धारित लक्ष्यलाई सहजै पार गरेको तथ्यांकले जनाएको छ ।

आ.व. २०७६/०७७ देखि कोरोनाका कारण आर्थिक क्षेत्रहरु नराम्ररी प्रभावित भए । जसको प्रत्यक्ष असर कर संकलनमा पनि पर्यो । आ.व. २०७६/०७७ को चैत्रदेखि नेपाल पुरै लकडाउनमा गएको थियो । चैत्रदेखि असारसम्म नै प्रभावित आर्थिक क्षेत्रले कर समयमा तिर्न सकेन, सरकारले समेत व्यवसायीलाई कर तिर्न समय दिने नीति लिएपछि उक्त आ.व.मा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले निर्धारित लक्ष्य प्राप्त गर्न सकेन । आ.व. २०७६/०७७ मा ५ अर्ब ९ करोड ५८ लाख, ७७ हजार लक्ष्य पाएकोमा ६८.२७ प्रतिशत अर्थात् ३ अर्ब ४७ करोड ९१ लाख ९८ हजार रुपैयाँ कर संकलन गरेको छ ।

त्यसअघिको आ.व. २०७५/०७६ मा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले ३ अर्ब ५१ करोड ३९ लाख ७८ हजार कर संकलनको बार्षिक लक्ष्य पाएकोमा १ सय २ प्रतिशत कर संकलन गरेको थियो । उक्त आ.व.मा कर कार्यालयले ३ अर्ब ६० करोड ३५ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको तथ्यांक कर अधिकृत समेत रहेका सूचना अधिकारी दमनध्वज क्षेत्रीले जानकारी दिएका छन् ।


२०७६ चैत्रदेखि २०७७ को असारसम्म पूर्ण बन्देजमा रहेको आर्थिक क्षेत्र त्यसपछि विभिन्न मापदण्ड कायम भएपछि खुल्दै गए । यद्यपि, कार्तिक पछि नै पर्यटन क्षेत्र बाहेकको आर्थिक क्षेत्र चलायमान हुन थाल्यो । तर, २०७८ बैशाखमा पुनः कोरोनाका दोस्रो लहर सुरु भयो । अन्तिम चौमासिकको तीन महिना कोरोनाबाट प्रभावित हुँदा पनि आन्तरिक राजश्व कार्यालय नेपालगन्जले भने आफ्नो लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका सूचना अधिकारी क्षेत्रीले आ.व. २०७७/०७८ मा ४ अर्ब ४६ करोड, ९० लाख २३ हजार कर संकलनको लक्ष्य निर्धारण भएकोमा १ सय २.८९ प्रतिशत अर्थात् ४ अर्ब ५९ करोड ७९ लाख ८३ हजार रुपैयाँ कर संकलन भएको जानकारी दिएका छन् ।

चालु आ.व. २०७८/०७९ को ३ महिनामा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले निर्धारित लक्ष्यको १ सय २८ प्रतिशत कर संकलन गर्न सफल भएको छ । आर्थिक क्षेत्र चलायमान भएपछि कर कार्यालयले सहजै तीन महिनाको कर लक्ष्य हासिल गर्न सकेको हो । आन्तरिक राजश्व कार्यालयले असोजमसान्त सम्मका लागि ९२ करोड ४७ लाख २५ हजार रुपैयाँ कर संकलन लक्ष्य राखेकोमा १ अर्ब १८ करोड ८२ लाख ६ हजार रुपैयाँ कर संकलन गर्न सफल भएको छ । सबैभन्दा बढी आयकर संकलन भएको छ । तीन महिनामा निर्धारित लक्ष्यको २ सय प्रतिशत बढी आयकर संकलन भएको छ ।

आन्तरिक राजश्व कार्यालय सबै भन्दा बढी कर असुली आयकरबाट असुल्ने गर्दछन् । कर कार्यालयले पान, मुअकर, अन्तशुल्क, भाडाकर लगायतको कसर असुली गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया