काँग्रेस पालिका निर्वाचनः अधिकाँशमा प्रतिष्पर्धा, कहाँ भए सर्वसम्मत ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ वटै स्थानीय तह बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । मतदान अधिकृत सुभास गौतमले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह-सचिव पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।


गौतमका अनुसार, सदस्य पदमा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिसहित पदाधिकारी पदमा निर्वाचन भएपनि सदस्यमा सर्वसम्मत हुने भएको छ। नेपालगन्जस्थित जिल्ला समन्वय समितिको सभा हलमा बिहीबार बिहान ९ः३० बजेदेखी ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको बताइएको छ ।
यस्तै कोहलपुर नगर सभापति पदमा २ जना, उप–सभापतिमा ४ जना, सचिवमा ४ र सह–सचिव पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । बाँकी सबै सदस्य पदमा पनि उम्मेदवारी परेको मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए। मतदान बिहीबार बिहान निर्धारित समयमै सुरु हुने बताइएको छ ।


राप्ती सोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । खुल्ला सदस्य १८ (पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको शर्माले बताए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बिहीबारका लागि मतदानको तयारी गरिएको पुरा भएको उनले बताए ।


बैजनाथ गाउँपालिकामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापतिमा ४, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिएका छन् ।
डुडुवा गाउँपालिकामा सभापतिसहित सबै पदमा एक/एक जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा केही प्राविधिक त्रुटी भएका कारण कार्यसमिति पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको मतदान अधिकृत हरिप्रसाद सुवेदीले जानकारी दिए । डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित सबै पदमा एक/एक जनाको उम्मेदवारी दर्ता भएको छ ।


त्यस्तै नरैनापुर गाउँपालिकामा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत गोपाल गिरीका अनुसार, नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह–सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको भएका हुन् ।

खजुरा गाउँपालिकामा पनि सभापति सहित कार्यसमिति पदाधिकारी निर्विरोध भएको छ । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत महारुप जैसीले जानकारी दिए । उक्त गाउँपालिकाको ४४ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित भएको उनले बताए । खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधी (अपांग)मा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।


जानकी गाउँपालिकामा उपसभापति पद बाहेक अन्य सबैमा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सभापति पदमा दयाराम यादव, सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका हुन् । उक्त पालिकामा १८ जना खुल्ला सदस्य र समावेशीबाट ८ जना सदस्य पनि निर्वाचित भएको मतदान अधिकृत गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया