
तपाईको राजनीतिक जीवनको आरोह, अवरोह बारे चर्चा गरौं ?
राजनीति सुरु गर्दा पञ्चायत व्यवस्था थियो । २०४२ सालमा प्रधानपञ्चको निर्वाचन लडेको थिएँ । झिनो मतले सफल हुन सकिन । प्रजातन्त्रको लडाईमा परिवारनै नेपाली काँग्रेस नजिक थियौं । प्रजातन्त्र आइसकेपछि २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएँ । गाविस महासंघको अध्यक्ष पनि भएँ । त्यो कार्यकालमा राम्रै कामहरु भए । सबै गाविस अध्यक्षहरु यूनाइटेड भएर मलाई सभापति लड्नु पर्छ भनेर प्रेसर गरेर लडाएका हुन् । तीन वटा दलको गठबन्धनमा ३९ भोटले म पराजित भएँ ।
त्यसपछि राजनीतिले कोल्टो फेर्यो । र, एउटा राजनीतिक स्वतन्त्र विचार मोर्चा गठन भयो । र, त्यसको हिसाबले संसदीय निर्वाचन लड्यौं । हामी स्वतन्त्र नै थियौं । त्यो समयमा राप्रपा सत्तामा पनि थिएन, ओझेलमा पनि थियो । राप्रपाको केन्द्रीय अध्यक्ष लगायतका धेरै नेताहरु आउनु भयो र उहाँहरुले अनुरोध गर्नुभयो र हाम्रो टिमलाई लिएर राप्रपामा लैजानुभयो । हामी २०६२ सालसम्म राप्रपामा थियौं ।
फेरि देशमा राजनीतिक परिवर्तन भयो । राजतन्त्रको अन्त्य भयो । प्रजातन्त्र आयो र व्यवस्था पनि परिवर्तन भयो । गणतन्त्र आइसकेपछि पनि एउटा निर्वाचन राप्रपाबाटै नै सहभागी भएर लड्यौं । हुनत राप्रपाको अरु उम्मेदवार भन्दा हाम्रो समूहको भोट राम्रो आएको थियो, त्यो समयमा पनि । म राजाको कालमा पनि जिविस सभापति भएकाले अलि नेगेटिभ कुरा हुँदाहुँदै पनि जनताले समर्थन गरेकै हो ।
मधेस आन्दोलन चल्दा पनि हाम्रो सहयोग र साथ थियो । तमलोपा, त्यो समयमा महन्थ ठाकुरजीहरु आउनु भयो र अनुरोध गर्नुभयो । त्यो समयमा ठूलै समूह तमलोपामा प्रवेश गरेको हो । तमलोपाको राजनीति पनि सहमहामन्त्रीदेखि आन्दोलनको नेतृत्व हामीले नै गरिरहेका थियौं ।
अब यहाँ के भयो भने, जब ६ वटा दल मिलेर राजपा भयो, राजपाको पनि सहमहामन्त्री म थिएँ । तर, स्थानीय निर्वाचनमा प्रदेश ५, १ र ७ मा बहिष्कार भयो । २ नम्बर प्रदेशमा मात्रै निर्वाचनमा भाग लिएपछि हामीले असन्तुष्टि व्यक्त गर्यौं । हामीले केन्द्रीय अध्यक्ष र केन्द्रीय समितिलाई के भन्यौं भने पहिलो कुरा त्यसलाई रियलाइज गर्नुपर्दछ । अर्को कुरा, उहाँहरुले खाली २ नम्बर प्रदेश केन्द्रित हुनुभयो । २ नम्बर प्रदेश केन्द्रित केन्द्रीय टिम बनाउनु भयो । त्यसपछि हामीले त्यसो गरिरहने हो भने हामी तपाईहरुसँग बस्न सक्दैनौं भन्यौं । त्यो कुरा वास्ता नगरेपछि हामीले स्वतन्त्र राजनीतिक समूह गठन गरेका हौं ।
स्वतन्त्र राजनीतिक समूह गठन गरेपछि पहिलो चरणमा कुरा हुँदा नेकपा एमालेसँग सहकार्य गरेर जाने भन्ने निर्णय भयो । त्यो हिसाबले हामी निर्वाचनमा पनि भाग लियौं । निर्वाचनमा पनि माओवादी र एमालेको एकता भयो । त्यो एकताले गर्दा हामीले कल्पना गरेको भन्दा भिन्न स्थिति आयो । निर्वाचनमा हामी सहभागी भयौं । जुन हिसाबले माओवादीले हामीलाई सहयोग गर्नुपर्ने, त्यो हिसाबले सहयोग भएन । हामी जहाँ उठ्यौं, त्यहीका स्थानीय नेताले हामी विरुद्ध काम गर्नुभयो । हामी पराजित भयौं ।
नेकपा र त्यसपछि नेकपा एमालेसम्म हाम्रो सहकार्य जारी नै थियो । बीचमा हाम्रो सरकारमा सहभागिता पनि भयो । सरकारमा सहभागिता हुँदा बाँकेमा हेल्थ सम्बन्धी ठूला कामहरु पनि गर्यौं । अहिले आएर साथीहरुमा पार्टीनै ज्वाइन गर्नुपर्दछ भन्ने भयो, र नेकपा एमालेका साथीहरु र हाम्रो केन्द्रको कुरा हुँदा पनि यही मंसिर १ गते नेकपा एमाले पार्टी अध्यक्ष आउँदै हुनुहुन्छ, त्यतिबेला हामीसँग जोडिएका सबै साथीहरु नेकपा एमाले प्रवेश गर्ने कुरा भयो ।
हृदयेश त्रिपाठीको संयोजकत्वमा भएको स्वतन्त्र राजनीतिक समूह सबै जान लाग्नु भएको हो कि तपाईको नेतृत्वमा मात्रै नेकपा एमाले प्रवेश गर्न लागेको हो ?
अहिले स्वतन्त्र राजनीतिक समूहको टिम नै नेकपा एमाले जान लागेको होइन । स्वतन्त्र राजनीतिक समूहका साथीहरु बिस्तारै केही साथीहरु अझै पनि आउँछन् जस्तो लाग्छ मलाई । उहाँहरुसँग कुरा पनि भैरहेको छ । हृदयेशजीले पार्टीनै खोल्ने भन्नु भएको छ, उहाँले पनि खोल्नुहोला । अहिले जान लागेको म मात्र हो । म लगायतका साथीहरु एमाले प्रवेश गर्न लागेका हौं ।
उसो भए हृदयशजीसँग तपाईको सहकार्य टुट्यो ?
सहकार्य सकियो भन्दा पनि हाम्रो र उहाँको सम्बन्ध राम्रो छ । तर, के छ भने पार्टीमा आइसकेपछि त्यो पार्टीको हिसाबले काम गर्ने हो । एमालेसँग उहाँको सहकार्य छ, सहकार्य भएपछि हामीसँग पनि सहकार्य जारी नै रहन्छ । स्वतन्त्र राजनीतिक समूह अहिले पनि नेकपा एमालेसँगको सहकार्यमा छ । टुटेछुटेको छैन । उहाँले भोलि कुनै अर्कोपार्टी सँग सहकार्य गर्नुभयो भने सहकार्य टुट्छ । अहिले उहाँको पनि सहकार्य एमालेसँग छ, हामी पनि एमाले जाँदैछौं भनेपछि सहकार्य अहिले रहिरहन्छ ।
राप्रपा, काँग्रेससँगको लिगेसी बोकेको मान्छे एमाले चाहिं किन रोज्नुभयो नि ?
स्वतन्त्र राजनीतिक समूहमा आइसकेपछि हामीले मधेसको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ भनेका थियौं । एमालेसँगको दुई बूँदे सहमतिमा पनि हामीले के भनेका थियौं भने विभेदलाई सहकार्य गरेर हटाउनुपर्छ । परिस्थिति हेर्नुहुन्छ भने नागरिकता मुद्दामा जुन समस्या थियो, त्यो समस्या एमालेले अध्यादेश ल्याएर समाधान गर्यो । हुनत अध्यादेशमा मुद्दा पर्यो र अदालतले स्टे गरिदियो । तर, हामीले के बुझ्यौं भने एमाले मधेस विरोधी होइन, साथीहरुमा पनि कुनै पार्टी ज्वाइन गर्नुपर्दछ, हामी पनि आफ्नो समाजको, मधेशको मुद्दा राष्ट्रिय रुपमा उठाउन राष्ट्रिय पार्टीमा लगेर स्थापित गर्नुपर्दछ भन्ने हिसाबले हामीले एमाले प्रवेश गर्ने निर्णय गरेको हो ।
अहिले मधेसवादी पार्टीमा पनि सत्ताकै लागि टुटफुट भैराखेको छ । एउटा गु्रप टुटेर नेकपा एमालेसँग सहकार्य गर्यो, अर्को फेरि काँग्रेस तर्फ सहकार्य गर्न गयो ।
पदको बार्गेनिङ गरेर एमाले पसेको चर्चा पनि छ त ?
अहिलेसम्म मेरो एउटा रेकर्ड छ, म कुनै सत्तासिन पार्टीमा गएकै छैन । सत्ता भन्दा बाहिर छु । अहिलेसम्म हेर्नुस्, म राप्रपामा जाँदा राप्रपा सत्ता भन्दा बाहिर थियो । तमलोपामा जाँदा सत्ता भन्दा बाहिर थियो । अहिले नेकपा एमालेमा जाँदा एमाले सत्ता भन्दा बाहिर छ । सत्ताको लागि गएको होइन, नत्र अहिले अफर आइरहेको छ, सत्ता तर्फ जान्थ्यौं होला । सत्ताको कुरा नै छैन । हामी सत्ताको पक्षमा त गएका छैनौं ।
उसो भए चुनावी तयारी त हो नि ?
राजनीति गर्ने मान्छेले चुनाव लड्छ । त्यसको तयारी पनि गर्दछ । त्यो कसैले आँकलन गर्दछ भने सही कुरा हो । भोलि चुनाव आउँछ, चुनावको लागि पनि तयारी गर्नुपर्दछ । जुन पार्टीमा हामी जान्छौं, त्यो पार्टीलाई जिताउनु पर्दछ त्यसका लागि पार्टी बलियो बनाउनु पर्दछ । त्यसैले नेकपा एमालेलाई बलियो बनाउन, आगामी निर्वाचनमा जिताउनका लागि हामी पार्टी प्रवेश गर्दैछौं । संगठन मजबुत बनाएर एमालेलाई एक नम्बरको पार्टी बनाउँछौं ।
चुनावमा उठ्ने शर्तमा प्रवेश गर्न लाग्नु भएको हो त ?
होइन । मैले चुनावको शर्त किन गर्नुपर्यो । उहाँहरुले मलाई पार्टीमैं नहुँदा त सांसदको निर्वाचन लडाउनु भएको हो । अहिले हामीलाई चुनाव लडाउनुस् भनेर शर्त राख्नु पर्छ र ? नेकपा एमालेमा जानका लागि !
व्यक्तिगत कि सामूहिक प्रवेश हो ?
यो सामूहिक प्रवेश हो । ३ हजार मानिस नेकपा एमाले प्रवेश गर्दैछन् । ठूलो समूहमा मानिस प्रवेश गर्दैछन् एमालेमा । यो मेरो व्यक्तिगत प्रवाहले मात्रै प्रवेश गर्न लागेका होइनन् । एउटा के हो भने यो पार्टी बलियो हुन्छ, हाम्रो भविष्य पनि सुरक्षित हुन्छ भन्ने हो । मानिसहरुको सोंच परिवर्तन भएर एमाले प्रवेश गर्न लागेका हुन् ।
एमालेमा दशकौं राजनीति गरेकाप्रति तपाईको आगमनले अवमूल्यन त हुँदैन ?
होइन, गलत कुरा हो । झन् मजबुत हुन्छ । पार्टी बलियो भने पार्टीमा भएका सबैको भविष्य बलियो हुन्छ । त्यसकारणले गलत प्रचार गरिएको छ । कसैको भाग खोज्नका लागि एमाले प्रवेश गर्न लागिएको होइन । र, पार्टीले जुन निर्णय गर्दछ त्यसमा हामी अगाडि बढ्ने हो । पार्टीले निर्णय नगरिकन मैले त्यहाँ गएर मलाई यो देऊ, त्यो देऊ भन्ने कुरा नै छैन । पार्टीले जे निर्णय गर्दछ त्यसलाई सघाउने, जे जिम्मेवारी दिन्छ त्यो निर्वाह गर्ने काम हाम्रो हो ।