न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार विरुद्धको आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएनले आइतबारदेखि दशैभरि आन्दोलन थालेको छ ।
यस क्रममा बाँकेको नेपालगन्ज लगायत ७७ वटौ बार इकाई र उच्च बार इकाईले कार्तिक २८, २९ र ३० गते बिरोधका कार्यक्रम गर्ने जनाएको छ । नेपालगन्जको बार भवन अगाडि भएको विरोध कार्यक्रम बाँके जिल्ला बार र नेपालगन्ज उच्च बारले संयुक्त रुपमा आयोजना गरेका थिए ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, पूर्व उपाध्यक्ष टिकाजंग सिंह, नेपालगन्ज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठ, सचिव पदम पाण्डे, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही लगायतका लगायतका कानून ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार विरुद्धको नेपाल बार एशोसिएसनको अभियानमा हाम्रो ऐक्यवद्धता मुल नाराका साथ विरोध कार्यक्रम गरिएको नेपालगन्ज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश माथि उठेका टिकाटिप्पणी र न्यायालयको विकृति र विसंगतिका बिषयलाई लिएर विगत सर्वोच्च अदालतमा न्याय सम्पादनको कार्य अवरुद्ध छ ।
कानुनको शासन, न्यायको प्रत्याभूति, लोकतन्त्रको संस्थागत विकास तथा शक्तिपृथकीकरणको सुढृढीकरणका लागि न्यायिक सुशासन कायम हुनु पर्ने कानून ब्यवसायीहरुले बताएका छन् । स्वतन्त्रता, निष्पक्षता र इमानदारिता प्रभावकारी न्यायपालिका र न्याय प्रणालीका पूर्वशर्त भएकाले न्यायपालिकामा रहेको विकृति र विसंगतिको अन्त्य हुनु पर्ने नेपाल बार एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बताए ।
नेपाल बार एशोसिएनका पूर्व उपाध्यक्ष टिकाजंग सिंहले गम्भीर आरोप लागेका प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणाले उच्च नैतिकताका आधारमा राजीनामा दिई निकास दिनु पर्ने बताए । न्यायालयमा विकृति र विसंगति रहेको कुरा न्यायाधीश हरिकृष्ण कार्कीकै प्रतिवेदनमा उल्लेख भएकाले यसको कार्यान्वयन हुनु पर्ने सिंहले बताए ।
नागरिक अधिकार र प्रजातन्त्रको पहरेदारका रूपमा रहेको न्यायपालिकामा अनियमितता भएमा अन्याय र अराजकताको अवस्था सृजना हुने भएकाले न्यायालयमा रहेको विकृति, विसंगति र भष्टाचारको अन्त्य हुनु पर्ने अधिकारकर्मी रहेका अधिवक्ता वसन्त गौतमले बताए ।