‘रारा म्याराथन’ घोषणा

पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने गरि ‘रारा म्याराथन’ आयोजना घोषणा गरिएको छ । लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको हो ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने छ ।


मुगुको रारा तालबाट शुरु भइ जुम्लामा समापन हुने गरि गर्न लागिएको रारा म्याराथनको आयोजना र व्यवस्थापन अन्तरालले गर्न लागेको संस्थाका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले यसक्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा रारा म्याराथन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको बताए । ‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दलाई उदधृत गर्दै सञ्चार अधिकृत केसीले भनेकी छन्, ‘खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’


रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने म्याराथनमा सहकार्य र सहभागिताका लागि अन्तरालले सबैंसँग आग्रह गरेको छ ।


१५ वर्ष देखि अन्तरालले जयनारायण शाहको नेतृत्वमा खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । विश्व किर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलन सम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको थियो ।

नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन सम्हालेको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद व्यवस्थापनको अनुभव छ ।


नेपालगन्जबाट आफ्नो कार्यप्रारम्भ गरेको अन्तरालले पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया