बाघ आक्रमणमा एकको मृत्यु

बाँके नरैनापुर गाउँपालिका वडा नं.४ स्थित चुरे क्षेत्रमा बाघ आक्रमणमा परि एकजनाको ज्यान गएको छ । बाघले आक्रमण गर्दा नरैनापुर गाउँपालिका वडा नं.४ बस्ने लखन गडरियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले बताए ।

कार्तिक २५ गते देखि गडरिया गाई चराउन गएको र सोही मिति देखि एउटा गाई र उनी हराएको सम्बन्धमा खोज तलाश गर्दै जाँदा हिजो अबेर राति उनको पहाडी क्षेत्रमा उनको शव फेला परेको हो, उनले भने, गाई र गडरिया दुबैलाई बाघले आक्रमण गरि मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गडरिया लामो समय देखि नरैनापुर गाउँपालिका वडा नं.४ खोदावाँ गाउँ देखि उत्तर चुरे क्षेत्रमा अवस्थित गोवद्र्धन धाम आश्रम नजिक बस्ने र गाई सोही स्थानमा राख्ने कार्य गर्दै आएका थिए ।

२५ गते साँझ गाई चरेर पहाडमा रहेको गोठमा फर्किएपनि लखन गडरिया नफर्केको, र एउटा गाई समेत हराएको सूचना त्यहाँ स्थित गोवद्र्धन धाम आश्रमका बाबाले फोन सम्पर्क गरि जानकारी दिएपछि परिवारका सदस्यले प्रहरीलाई जानकारी दिएका थिए ।

हिजो शनिवार नै गडरियाको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बाघ आक्रमण पछि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चर्चामा रहेको सन्तानेश्वर महादेव मन्दिर, बर्फानी आश्रम र गोवद्र्धन धाम आश्रममा श्रद्धालुहरुको आवागमन प्रभावित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया