पृष्ठभूमि

बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा आज हामी अहिले सम्मको मध्ये एकदमै फरक मुद्दामा चर्चा गर्नेछौं । अहिले हरेक जिल्लाभित्र ठांउ ठांउमा सेल्टर, अनाथालय र वृद्धाश्रम छ । बालबालिका र महिलाहरुको शसक्तीकरण, विकास, उद्धार र पुनर्स्थापनमा सरकारी तथा संघसंस्थाले वर्षेनी करोडौं बजेट खर्चिन्छ । महिला र बालबालिकाहरुको शसक्तीकरण, विकास, उद्धार र पुनर्स्थापना गर्ने निकाय र संस्थाको प्रतिनिधि भएर नाममा देश विदेश भ्रमण गरिन्छ । उनीहरुको भविष्य सुरक्षित गर्न आफु र आफ्नो संस्थाले पहल गरेको भनी ठुलाठुला कार्यक्रममा स्टेजमा उभिएर भाषण गरिन्छ । केही हद सम्म महिला तथा बालबालिकाहरुको उद्धार र पुनर्स्थापना गरिएको पनि छ । तर यसरी उद्धार गर्ने बालबालिकाहरुमा घरबाट भागेका वा बेचवबिखनमा परेका वा पर्न सक्नेहरु बढी रहेका हुन्छन् । यसै गरी महिलाका कुरा गर्दा तिनीहरुमा पनि बेचबिखनका जोखिममा रहेका वा बेचबिखन गरिएका महिलाहरु हुन्छन् साथै घरेलुहिंसा पीडित महिलाहरु पनि रहेका हुन्छन् ।   यसरी उद्धार गरिनेहरुमध्ये अधिकांशको घर परिवार रहेको हुन्छ । उनीहरु विभिन्न अन्य कारण र समस्याले गर्दा जोखिममा परेका हुन्छन् । हामी आज ती महिला र बालबालिकाहरुको विषयमा कुरा गर्नेछौं जो सडकमा बस्छन् । कोही एकदमै मानसिकता सन्तुलन गुमाएका हुन्छन् , कसैको आंशिक मनस्थिति बिग्रेर सडकमा हुन्छन् , भने कसैको घरबार नहुदां बाध्यतावश सडकमा बस्नुपर्छ । ती सडकमा बस्ने महिला र बालबालिकाहरु सबभन्दा बढी जोखिममा हुन्छन् ।  यसरी सडकमा बस्नुको कारण के छ ? अहिले सम्म यस विषयमा कसैले ध्यान पुर्याउन नसक्नुको कारण के छ? यसमा चुनौती के छन् ? यिनका लागि सरकार र संघसंस्थाले कस्ता पहल गर्दा उनीहरु सुरक्षित हुनेछन् ? भन्ने सेरोफेरोमा रहेर परिचर्चा गर्नेछौं ।

परिवेश

जहां हामी महिला तथा बालिकाहरुको लागि खोलिएका संघसंस्था र निकायले करोडौं बजेट खर्च गरी गरेका कार्य प्रगति विवरण पढ्दै गरेका हुन्छौं । त्यहीं दैनिक सडकमा बेवारिसे महिला तथा बालबालिकाहरु हिडेका पनि हेरेका हुन्छौं नै । यहां कसैमाथि आरोप लगाउने आशयले अथवा कसैको कार्य माथि प्रश्न उठाउने मनशाय पनि होईन् । यसरी चर्चा गरिनुको मुख्य कारण सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण होस् भनी लेखिएको हो । हुन त महिला र बालबालिकाहरुका लागि सरकारी निकाय र संघसंस्थाले पहल नगरेको होईन् अवश्य पनि गरेको छ । तथापि यिनै बालिका र महिलाहरु मध्येको एक यस्तो जमात ओझेलमा परेको छ जस बारे चियागफ त गरिन्छ । तर तिनका लागि दीर्घकालीन पहल र प्रयास गरिदैंन् । हो ती जमात हुन् सडकमा बेवारिसे अवस्था रहेका मानसिक सन्तुलन गुमेका वृद्धवृद्धा, महिला र बालबालिकाहरु जसको कुनै घर ठेगाना र आफन्त नातागोता भए पनि कोही हुदैंन् । यिनीहरुलाई सुरक्षित र व्यवस्थित गरी राख्ने ठांउ कतै देखिदैंन् । कसैलाई दया लाग्यो भने घरको पुरानो लुगाफाटो, तन्ना लगाउन र ओढ्न दिइहाल्छ । भने कसैलाई दया लाग्यो भने आफुले खादैं गरेको चिया पसलमा भनेर एक गिलास चिया खुवाइदिन्छ । कसैले खाना दिइहाल्छ । तर बस्ने ठांउ कसैले दिदैन् बस्ने भनेको सडकमा नै हो । जहां उनीहरु यौनजन्य हिसां , बलात्कारका सिकार हुने गरेको घटना सुनिएकै हुन्छ । आफ्नो घरभित्र रहेका मानिसको अस्मिताको ख्याल त सबैलाई छ रहेको हुन्छ र हुनु पनि पर्छ । तर प्रश्न यो उठ्छ कि ती सडक बालबालिका, वृद्ध वृद्धा, महिलाको अस्मिता जोगाउन तर्फ कसैको ध्यान किन जादैंन् ? हामी कहिले कांही खबर सुन्छौ नि कि फलाना ठांउमा गाईवस्तुको करणी गर्यो । फलाना ठांउमा घरभित्र ९० वर्षीय वृद्धा लाई बलात्कार गरियो । यो पनि पढेकै छौ होला कि ६ महिनाकी दुधमुखे बालिकालाई फलाना ठांउमा फलानोले बलात्कार गर्दा मृत्यु भयो वा स्वास्थ्य अवस्था गम्भीर रहेकोले मर्ने अवस्थामा ।

  तब हाम्रो मनमा यो प्रश्न आउंछ कि आउदैंन् यसो हो भने के सडकमा बस्ने बालबालिका,वृद्ध वृद्धा र महिलाको अस्मिता सुरक्षित होला त ? अवश्य पनि आउंछ होला तर हामीले त्यसलाई नजरअंदाज गर्छौं किनभने हामीले हाम्रो सरोकारको विषय वा मुद्दा ठान्दैनौं । यसको मुख्य कारण मानसिक स्थिति सन्तुलित नहुनेहरुको हेरचाह बढी गर्नुपर्छ । उनीहरुको सरसफाई देखि खानपिन सबैमा खटिएर ध्यान दिनुपर्छ । नत्र उनीहरु खानेकुरा खानुको सट्टा फाल्दिन्छन् । भुइमा वा आफ्नै जिउमा मिल्काईदिन्छन् । लुगाहरु फोहोर गरिहाल्छन् । बुद्धिले साथ नदिएकोले आफु बस्ने ओछ्यानमै दिसापिसाब गरेर फोहोर गरिहाल्छन् । जसले गर्दा उनीहरुको  वरपर झिंगा भन्किरहेका हुन्छन् । फोहोर सफा गर्न नजानेकोले जिउ दुर्गन्धित भइरहेको हुन्छ । त्यस कारण समाजका भद्रभलादमी सज्जन पुरुष महिलाहरु उनीको नजिक जान हिचकिचाउंछन् ।मनमा उनीहरुप्रति दयामायाको भाव उम्लिए पनि कोही न आफु उनीहरुको नजिक जान चाहन्छन् , न उनीहरुलाई आफ्नो घर बोलाउन रुचाउंछन् यस्तै अवस्था छ यो समाजको ।

मुगु जिल्लामा एक पहल

मुगु जिल्लामा केही दिन देखि सडकमा बेवारिसे अवस्थामा रहेकी एक महिलालाई जिल्ला अस्पताल पुर्याइएको छ । यो पहल मुगुकै समाजसेवी र धार्मिक अगुवा महिला चेतना शाही मल्लको नेतृत्वमा बीबीसी का सम्झना मल्लको पहल र प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतसंगको  समन्वयमा मिति २०७८ कार्तिक बुधबार सांझ केही प्रहरीहरुको सहयोगले एम्बुलेंसमा राखेर जिल्ला अस्पताल लगियो । त्यहां उनको आवश्यक औषधी उपचार पश्चात सुरक्षित साथ राख्न नजिकको वृद्धाश्रममा राख्ने छलफल र निर्णय गरेकाछन् । “मानसिक रुपमा बिक्षिप्तमुगु रारा नगरपालिका वडा नं. ९मा स्थायी घर भएकी मकाने बुढा अन्दाजी ३५ वर्ष उमेर रहेको छ । उनका पति बल बहादुर बुढा जो चर्चमा पास्टर थिए ६/७ वर्ष अघि असमायिक निधन भएकोले उनी शोकमा मानसिक रुपले विछिप्त भईन् । उनका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । जो चर्चमा नै बस्दै आएको भनी उनी सुनाउछिंन् । पतिको अल्पायुमा  भएको मृत्यु पश्चात उनी एकोहोरो रुपमा कराउने बरर्बराउने हिड्ने गर्दा बच्चाहरु पागल भनी गिजाउंछन् भने टोलछिमेकले ढोका नै लगाईहाल्छन् । उनको यो अवस्था देखेर आफुले सहन नसिकेर प्रमुख जिल्ला अधिकारीसंगको समन्वयमा जिल्ला अस्पतालमा आवश्यक उपचार पश्चात वृद्धाश्रम पठाउनेछौं हालसम्म उनको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेछ। तिहारका कारण टिकट बनाउन नसकिएर आज मिति २०७८ कार्तिक २६ गतेका दिन उनको हवाईजहाजको टिकट बनाइदैंछ । उनलाई थप उपचारका लागि हवाईजहाजबाट सुर्खेत पठाउने तयारी गर्दैछौं ।” भनी समाजसेवी हिन्दु धार्मिक अगुवा चेतना शाहीले बताउनुभयो ।

हालको अवस्था

अहिले उनीहरुको गर्न सकेका र गरिएका कार्य भनेको यदि भोकाएछन् भने खाना दिने, नाङ्गै छन् वा चिसो छ भने लुगा लगाइदिने यदि बिरामी छन् भने सरकारी जिल्ला अस्पतालमा पुर्याइदिने मात्र हो । सरकारी र गैर सरकारी अस्पतालमा मानसिक सन्तुलन गुमाउनेहरुलाई राख्ने छुट्टै ठांउ र व्यवस्था हुदैंन् । लागेका घाउचोटमा  अलिकति मलमपट्टी गरिए दिएर पठाईन्छ । उनीहरु अस्पतालबाट आएर फेरि सडकमा बस्न थाल्छन् । यस्ता व्यक्तिहरुका लागि स्थायी बसोबास गर्न सक्ने स्थान छैन् । स्थायी व्यवस्थापनका लागि पहल, योजना र आवश्यक बजेट हुनुपर्छ भनी सोच र दीर्घकालीन रणनीति छैन् ।

चुनौती

हरेक कार्यमा चुनौती रहेका हुन्छन् । कुनै कार्य सफल बनाउन त्यसलाई प्राथमिकतामा पारिनु पर्छ । बेवारिसे सडक बालिका, वृद्ध वृद्धा, महिलाहरुलाई व्यवस्थापन गर्न उनीहरुको लागि खाना बस्न लाउन व्यवस्था गर्न राज्य र संघसंस्थामार्फत बजेट छुट्टियाइदैंन् । जब बजेट छुट्टियाइदैंन् भने व्यवस्थापन गर्न आर्थिक रुपले समस्या आइ नै हाल्छ । बिना बजेट उनीहरुको लागि पुर्नस्थापन गर्न गृह, ओछ्यान, खाद्यान्न औषधी उपचार आदि सम्भव नै छैन् । यस कारण सबभन्दा ठुलो चुनौती यस शीर्षकमा बजेट न हुनु नै हो । यो मुद्दालाई गम्भीरता साथ नलिनु प्राथमिकतामा नपार्नले चुनौती बजेट र बजेट नहुदां आवश्यक कर्मचारी परिचालन समस्या आइपर्न सक्छ ।

आवश्यक पहल

सडकमा रहेका यस्ता बेवारिसे बालबालिका, वृद्ध वृद्धा र महिलाहरुका लागि राज्यले आवश्यक पहल र योजना लागु गर्नु अति जरूरी छ । यसका लागि संघसंस्थाहरुसंग समन्वय गरी बेवारिसेहरुका पुनर्स्थापना गरी स्थायी रुपमा बस्न, खान, लाउन, ओछ्यान, औषधी उपचार र उनीहरुको मनोरंजनका लागि पार्क आदिको व्यवस्था गर्न पहल गर्नुपर्छ । पहिलो प्राथमिकतामा राखिन जरूरी छ ।

परिकल्पना

बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुलाई सुरक्षित साथ राम्रो सेवासुविधा सम्पन्न पुनर्वासको व्यवस्था गर्न अति आवश्यक देखिन्छ । यदि मुगुमा जस्तै गरिएको पहल जस्तै अन्य ठांउमा पनि गरिन्छ भने यसको सकारात्मक असर देखिन्छ । जब बेवारिसे बालबालिका, वृद्ध वृद्धा, महिला आदिका लागि एक संयुक्त पुर्नस्थापना गृहको सुरुआत गरिनेछ । तब यिनीहरुलाई पनि परिवार मिल्नेछ । बालबालिकाहरुले अभिभावक पाउनेछन् । वृद्धवृद्धाहरुलाई सन्तानको कमी महसुस हुनेछैन् । मानसिक रुपमा विछिप्तहरुलाई पीडा बिसर्ने वातावरण, स्नेह र अप्नत्वको आभास हुनेछ । यसरी सडकमा रहेका यिनीहरु व्यवस्थित भएपछि अन्तर्राष्ट्रीय जगतमा हाम्रो देशको मान सम्मान बढ्नेछ । बेवारिसेहरुलाई सुरक्षित स्थान मिल्नेछ । जहां उनीहरुको जिउज्यानका साथै अस्मिता पनि सुरक्षित हुनेछ । तसर्थ यस विषयमा सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण होस् ।

प्रतिक्रिया

प्रतिक्रिया