शनिवार वडावडामा उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सि आइतबार बाँकेमा वडा तहको निर्वाचनका मतदान अधिकृत र सहायक मतदान अधिकृत परिचालिन गरिएको छ । शुक्रवार जिल्ला निर्वाचन परिचालन समितिले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम गरि लागि ८१ वटै वडाका लागि निर्वाचन सामाग्री हस्तान्तरण गरिएको हो ।
शनिवार निर्वाचन गर्नेगरि खटिएका निर्वाचन अधिकृतलाई बाहिर निकाली पार्टी कार्यालयमा ताला लागेपछि निर्वाचन कार्यक्रम प्रभावित भइ एकदिन पर सरेका कारण आइतवार मतदान र शनिवार मनोनयन गर्ने गरि व्यवस्था मिलाइएको काँग्रेस सभापति किरण कोइरालाले जानकारी दिइन् ।
जिल्ला निर्वाचन अधिकृत रेवती रमण भट्टराईले निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे अभिमुखिकरण गरिएको जानकारी दिए । ‘त्यसपछि सबैलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ वरिष्ठ अधिवक्ता भट्टराईले भने ।
अभिमुखिकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी निर्वाचन समितिले जनाएको छ ।
अभिमुखिकरणमा समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत भएर खटिसकेपछि तटस्थ भूमिका खेल्नुपर्ने धारणा राखे । निर्वाचन सम्पन्न गर्दासम्म आफुलाई पार्टीभन्दा बाहिर राखेर काम गर्न जोड दिंदै यादवले भने, ‘तपाईको निश्पक्षतामाथी प्रश्न उठ्नु भनेको सिंगो शिक्षक संघ नै बद्नाम हुनु हो, यसमा विशेष ध्यान दिनुहोला ।’
निर्वाचन परिचालन समितिका प्रवक्ता अर्जुन ओलीका अनुसार, अभिमुखिकरणमा निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले निर्वाचनका प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
ओलीका अनुसार, निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम गरिनेछन् । बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार, कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका÷नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् । पूर्व निर्धारित तालिका सदस्यता विवादका कारण सर्दै गएको हो ।