निर्मला कुर्मी बेपत्ता घटनाका मुख्य आरोपीलाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । घटना प्रकरणमा सुरु देखि नै आन्दोलनरत् अधिकारकर्मी, महिला अधिकार मञ्च बाँकेकी पूर्व महासचिव रुबी खानको नेतृत्वमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको हो ।
२४ घण्टाभित्र मुख्य आरोपी भनिएका बादशाह कुर्मीलाई पक्राउ गरी कानुनी कारवाही अगाडि नबढाइए पुनः आन्दोलनको चेतावनी
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री समक्ष ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र मुख्य आरोपी भनिएका बादशाह कुर्मीलाई पक्राउ गरी कानुनी कारवाही अगाडि नबढाइए पुनः आन्दोलन गरिने चेतावनी दिइएको छ । ‘मुख्य अभियुक्त नै बाहिर चलखेल गर्दा मुद्दा प्रभावित भयो’, अधिकारकर्मी खानले ज्ञापनपत्र बुझाएपछि दैनिक नेपालगन्जसँग भनिन्, ‘अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिने कुराको पृष्ठपोषण गर्न सकिंदैन ।’
अधिकारकर्मी खानकै नेतृत्वमा १९ दिनसम्म स्थानीय प्रशासनमा धर्ना, २० दिनको पैदल यात्रा र १२ दिनको आमरण अनसनपछि सरकारले छानबिन समिति गठन गरी निर्मला कुर्मी घटना र नन्कुन्नी धोबीको विषयलाई गम्भीरतापूर्वक लिएको थियो ।
बिहीबार स्थानीय प्रशासन मार्फत बुझाइएको चार बुंदे ज्ञापनपत्रमा छानबिन समितिको सिफारिस अनुसार, निर्मला कुर्मीको सम्पत्ति छानबिन गर्न सिआइबी अथवा अख्तियार अनुसन्धान आयोग सहितको विज्ञ टोलीलाई अगाडि बढाउन माग गरिएको छ । घटना प्रकरणमा आठै जनालाई पक्राउ गरेको बाँके प्रहरीले बयान लिइसकेको भन्दै बादशाह कुर्मीलाई हाजिरीजमानीमा रिहा गरेको छ भने एक जनालाई उमेर हदका कारण हिरासतमा राखेको छैन ।