आज नेपालगन्जमा देशभरका किशोर–किशोरी भेला हुँदै

आज देशभरका जेसीज आबद्ध २ सय बढी किशोरकिशोरी नेपालगन्जमा भेला हुँदैछन् । नेपाल जेसीजको आयोजना र नेपालगन्ज जेसीको आतिथ्यतामा हुन लागेको १० औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी (सम्मेलन)मा सहभागी हुन देशका करिब २८ जिल्लाका प्रतिनिधिमूलक किशोर, किशोरी नेपालगन्ज आउन लागेका हुन् । लिडर्स एकेडेमीको तयारी पूरा भएको नेपालगन्ज जेसीजका कार्यकारीणि उपाध्यक्ष समेत रहेका सम्मेलनका निर्देशक आशिष आनन्दले जानकारी दिएका छन् ।

आज शुक्रबारदेखि हुने दुई दिने सम्मेलनमा सहभागी हुन बिहीबार नै सय बढी प्रतिनिधिहरु नेपालगन्ज आइसकेका छन् । सम्मेलनमा ३ सय सहभागी हुने लक्ष्य रहेपनि परीक्षाका कारण केही प्रतिनिधिहरु सहभागी हुन नसक्ने भएका हुन् । ‘२० बर्ष मूनिका किशोर, किशोरी सम्मेलनमा सहभागी हुनुहुनेछ’, सम्मेलन निर्देशक आनन्दले भने ।

पूर्व मन्त्री इस्तियाक राई उद्घाटन गर्ने सम्मेलनमा विभिन्न इभेन्टहरु समावेश हुने छन् । ‘बालबालिका, किशोरकिशोरी नै भविष्यका कर्णधार हुन्’, सम्मेलन निर्देशक आनन्दले भने, ‘त्यसैले उनीहरुमा प्रेरणा जगाउनका लागि विभिन्न इभेन्ट सम्मेलनमा राखिएको छ ।’
सम्मेलनमा मोटिभेसन, लिडरशीप र पब्लिक स्पीकिङ्ग सँगै माइन्ड म्यानेजमेन्ट प्रशिक्षण हुनेछन् । जसमा उत्प्रेरक व्यक्तित्वहरुले प्रशिक्षण दिन सम्मेलन निर्देशक आनन्दले जानकारी दिए । खेल क्षेत्रका एलबी क्षेत्री, व्यवसायी कालु हमाल, कृष्ण चौधरी तथा ओम शान्तिका प्रतिनिधिले प्रशिक्षण दिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘जेसीज के हो ? उद्देश्य केहो भन्ने बारे पनि किशोर, किशोरीलाई प्रशिक्षण दिइनेछ’, सम्मेलन निर्देशक आनन्दले बताए ।
जेसीजको अभियान नै युवाहरुको क्षमता अभिवृद्धि गराउने, सामाजिक उत्तरदायित्व वहन गराउने रहेको सम्मेलन निर्देशक आनन्द बताउँछन् । जेसीजले व्यक्तिगत, सामाजिक क्षेत्र, व्यवसायिक क्षेत्र र इन्टरनेशन फोरममा पहिचान बनाउनका लागि काम गर्ने उल्लेख गर्दै नेपालगन्ज जेसीजका कार्यकारीणि उपाध्यक्ष आनन्दले हाल १ सय ३५ देशमा जेसीजको संगठन रहेको जानकारी दिएका छन् ।
‘किशोरकिशोरीको व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व वहन र भविष्यको सुनिश्चितता नै जेसीजको उद्देश्य हो,’ नेपालगन्ज जेसीजका कार्यकारीणि उपाध्यक्ष आनन्द भन्छन् । जेसीज युवा केन्द्रित रहेको उल्लेख गर्दै उनले ४० बर्ष मूनिका व्यक्तिले मात्रै जेसीजको सदस्यता पाउने गरेको बताए ।

जेसीजमा एक पद, एक बर्षको नीति छ । जसले गर्दा सबैले त्यसको नेतृत्व पाउने सम्भावना हुने नेपालगन्ज जेसीजका कार्यकारीणि उपाध्यक्ष आनन्द बताउँछन् । नेपालमा जेसीजका १ सय ६० वटा शाखा रहेका छन् । जसले गर्दा जेसीजमा आबद्धलाई अप्ठ्यारो बेला सहयोग समेत पुग्ने उनी बताउँदछन् ।

‘दैवीप्रकोप होस् वा महामारी जस्तो विपद् जेसीजले सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ’, नेपालगन्ज जेसीजका कार्यकारीणि उपाध्यक्ष आनन्द भन्छन्, ‘त्यसका लागि हामीले बार्षिक कार्ययोजना नै बनाएका हुन्छौं ।’ जेसीजले रक्तदान, वृक्षारोपण, स्टेशनरी वितरण, हेल्थ क्याम्प, दैवीप्रकोप पीडितलाई राहत वितरण सँगै विभिन्न इभेन्टहरुको आयोजना गर्दै आएको छ । ‘देशभरका विभिन्न जिल्लामा शाखा रहेकाले एक जिल्लामा संकट पर्दा सबैले सहयोग गरेर राहत वितरण समेत गर्दै आएका छौं’, उनी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया