मनोरथ

आदरणीय सनत दाइ

आज मलाई किन किन एउटा नोस्टाल्जीयाले बेस्सरी चिथार्यो । तपाईले मेरो एक लेखमा गर्नु भएको टिप्पणीले मनमा एकखाले तरंग ल्यायो । खासमा ‘रेशम विरही आफन्त झैँ ’ लाग्छ नै मेरो लागि नोस्टाल्जियाको घाउमाथि लागेको एउटा पाप्रो हो । त्यो अलिकति उप्कियो, रगतै त आएन थोरै बासी पानी बग्यो ।

आफन्तको कुरा खोज्ने हो भने मेरो नेपालगन्ज बसाइमा निकटताको कारण साहित्यिक व्यसन नै थियो । यसका अतिरिक्त तपाइको पुर्खाको नाभी र मेरो नाभी गढेको भूगोल पनि उही थियो । यसले पनि आफन्तीको भाव थोरै मुखर गर्छ कि !

यतिबेला म तपाईलाई सम्झँने र बिर्सने मनोरोगले ग्रसित छु । क्यान्सरले थिलेको शारीरिक नाजुकतामा मानसिक प्रताडनालाई खेप्नु पर्ने अर्को दुःसाध्य पीडा थपिएको छ । हुन त म यस्ता झिनामसिना रोग र प्रताडनासँग पराजित भैहाल्ने मानिस होइन । तथापि मनको एउटा कुनामा खिल पल्टिएर बसेको रोगी मनोविज्ञानले कहिलेकाहीँ बेस्सरी डस्ने रहेछ । र, तपाईहरुजस्ता शुभचिन्तकहरुलाई सम्झेर दिन काट्नु सिबाय मसँग अर्को विकल्प भनेको यस्तै लेखनका व्यसन नै हुन् । तपाईँ नेपालगन्जको स्थापित र सम्मानित आदिमनुवा हुनु भो म त भतुवा भएर फर्किएँ । तपाइँभित्रको रैथाने मनोविज्ञान कहिँकतै पोखिएन तर त्यहीँको एउटा उपियाले मलाई एकपटक अत्यन्त नराम्रोसँग टोक्यो । उभित्रको रैथाने मनोविज्ञान एउटा महान साहित्यकारको मुकुन्डोमा स्खलित भयो । मलाई त्यतिबेला कत्ति पीडा भएन तर त्यो स्मृतिले यहिले पो डस्दैछ दाइ ! के म साँच्चै नेपालगन्जमा भतुवा नै थिएँ ?

म क्यान्सरले थलिएर अस्पतालमा रहँदा देशाभरिबाट पाएको प्रेमको पहिलो संदेशवाहक तपाइँ नै हुनुहुन्थ्यो । नेपालगन्ज नै मेरो बाँकी जीवनको रक्षक र प्रेरक भूमि भैदिए हुन्थ्यो झैँ लाग्छ कहिलेकाही । तर त्यो सम्भावनाको तगारो नाघेर टाढा पुगिसक्यो । मेरा थुप्रै मित्र र भाइहरु छन् त्यहाँ, म यहाँ छु र औँला भाँचेर गन्दैछु असली रैथानेहरूको मप्रतिको प्रेम र सद्भावको मूल्यसूचिका नामांकित स्वर्ण अक्षरहरु । अहिले पनि म चिकित्सा परामर्शका लागि जब अस्पताल पस्छु तब मेरो मथिंगलमा नेपालगन्ज घुम्न थाल्छ । मनले भन्छ –‘अब त यसपछि एकपटक नेपालगन्ज जान्छु’ तर म ‘तर’ मा नै रोकिन्छु । यो ‘तर’ को पर्खाल कहिले भत्कन्छ कुन्नि ! म यो पर्खाल भत्काउन त सक्दिन तर पनि आशाको एउटा त्यान्द्रो भने चुडिने रहेनछ ।

मलाइ यतिबेला तपाईंको ७५ औँ जन्मदिनमा भएका कार्यक्रमको फेसबुक हेरेर खुसी भएका क्षणको झझल्को आइरहेको छ । साथसाथै तपाईको षस्टिपूर्ती कार्यक्रमको योजना तर्जुमाका संवादको स्मृतिले पनि रोमान्चित बनाएको छ ।

म तपाइको विचारको होइन साधना र सामाजिक योगदानको सम्मान अभिव्यक्त गर्ने एक सामान्य प्राणी हँु । तपाइको वैचारिक धरातल र मेरो धरातल जति फरक भए पनि एकखालको संवेदनाले तपाईलाई र मलाइ जोडेको छ । हुन त तपाइले आस्थाको साङ्लो चुडाउनु भो भन्ने पनि सुनेँ यो तपाइको निजी अन्तरक्रियाबाट निस्केको व्रम्हचेत होला । मैले त यस्ता ढोँगी रक्तवर्णको मुकुन्डो च्यातेको धेरै भयो ।
नेपाल एउटा यस्तो देश हो दाइ ! जहाँ तपाइले शिरशिखामा कथित आस्थामंडलको लगौटी झुन्ड्याउनु भएन भने स्वेच्छाले सास फेर्न पनि पाउनु हुन्न । अब यो गम्भीर ढंगको सास फेर्न गारो पार्ने जोखिम तपाइले उठाउनु भएको छ । जो मैले धेरैकालदेखि भोगी आएको छु । तपाईलाई पत्र लेख्नु एउटा बहाना मात्र हो । पत्रको नाममा केहि भावाबेग पोख्ने काम गरेको छु जसले गर्दा तपाइको पनि त ध्यान तानिएला भन्ने पनि लग्यो । किन कि नेपालमा आफैले मात्र पढेर आत्मामुग्धतामा रम्नेको संख्या गनेर सम्भव छैन ।

मेरो साहित्य र पत्रकारिताको सन्दर्भमा केहि स्मृतिहरु छन् । तपाइँसँग भन्दा पहिला मेरो बसाउठी ज्यादा मात्रामा भएका केहि अरु नै पात्रहरु छन् । जो आज सबैले आफुलाई आआफ्नो क्षेत्रमा कठोरसँग स्थापित गरिरहेको देखेको छु ।

प्रारम्भमा मलाई नेपालगन्जमा एउटा दैनिक पत्रिका प्रकाशनको हुटहुटी थियो तर मेरो साघुरो सम्पर्कले कामयाब हुनसकिरहेको थिएन । त्यतिबेला युवावयको संघार टेक्दै गरेका यस पत्रिकाका सम्पादक झलक गैरेलाई म झलकजी विकल्प नामले चिन्दथेँ । उनका अर्का निकट दोस्ती भोजराज शर्मा, नादिर भइसकेका थिएनन् । उनीहरुको एउटा राम्रै उत्साही टिम थियो, साहित्यिक उन्नयनको । मैले एकपटक उनीहरुलाई एउटा दैनिक पत्रिकाको प्रस्ताव गरेँ । तर, साप्ताहिक त नचल्ने ठाउँमा दैनिकको कल्पना असम्भव भएको उनीहरुको जिकिरले म हतोत्साहित भएँ । कालान्तरमा नेपालगन्जमा साप्ताहिक पत्रिकाहरु ठिँमुरिदै गए र दैनिकाले नै वर्चस्व कायम गरे । यो पङ्तिमा आज ‘दैनिक नेपालगन्ज’ले जुन गति लिइरहेको छ यसबाट सम्पादक झलकभन्दा म ज्यादा खुसीले फुरुङ्ग छु भन्दा अतिसयोक्ती नसोचियोस् ।

साहित्यिक माहोलको प्रवेशद्वारमा मसँग पहिलो पटक नरेन्द्रजंग पिटर ठोक्किन आइपुगे । उनको निम्तोमा म पहिलो पटक नेपालगंजीया कविगोष्ठीमा सहभागी हुन पाएँ । मैले सुनाएको ‘उ हिमाल चड्दैन’ शीर्षकको कविताबाट प्रभावित नादिरले धेरै पटक मलाई आत्ममुग्ध तुल्याएका छन् । त्यस भूमिमा पटकपटक सुगठित र प्रभावी कार्यक्रमहरु गर्ने प्रयास समूह को विसर्जनमा त्यतिबेला मेरो भूमिका भए पनि यतिबेला क्षोव सागरमा डुबिरहेको प्रतित हँुदैछ । तर, त्यहाँबाट उतार्ने संकल्प गरेका मित्र पिटर सायद सुतिरहेका छैनन् । तर, समवेदना हराउँदै गएको समयको चालमा उनको मानसिक छाल नमिलिरहेको अनुभव गरिरहेछु । सनत दाइ ! झलक भाइ ! नादिर ! आदि सबैले आआफ्नो आग्रह वा कुनै प्रकारको पर्दा भए च्यातेर अग्रसर हुनसके तपाईहरु कै इतिहास जीवित होला कि !

आज म सनत दाइलाई पत्रको बहानामा केहि नोस्टाल्जीयाको परिक्रमा गरिरहेछु । यो मेरो सनत दाइप्रतिको गहिरो सम्मान पनि हो । यतिबेला ‘दैनिक नेपालगन्ज’ प्रकाशनको सन्दर्भमा आएका यी बिषयहरु मेरा नितान्त निजी अभिव्यक्ति हुन् । त्यो ठाउँलाई सम्झनु र जीवनको निरन्तरताको सन्देश सम्प्रेषित गर्नका लागि पनि मलाइ यो जरुरी भएको थियो । जब झलक भाइले यसको प्रकाशन शुरु गरे त्यतिबेलै मैले केहि न केहि लेखेर पठाउने बचन दिएको थिएँ, तर समय र प्रविधिको जोखाना मिलिरहेको थिएन । पछि त झन् अचानक रोगले आक्रान्त पार्यो र दुइबर्ष थालिएँ । आजको अवस्थामा केहि स्वस्थ अनुभव गरेकोले सनत दाइको नामबाट लेखनीको श्रीगणेश गरेको मात्र हुँ । अहिले म स्वास्थ र प्रविधि दुबैमा औसत सुविधाजनक अवस्थामा छु । त्यसैले अब सम्भवत म हरेक हप्ता नेपालगन्जका सुधिपाठकहरुसँग संवाद गरिरहनेछु । मलाई एकताका नेपालगन्जमा पाठकहरुसँगको संवादले निकै उत्साहित र रोमान्चक तुल्याउँथ्यो र त्यसको स्मृतिले पनि मलाइ दैनिक नेपालगन्जमा हाँजिरीका लागि धचघच्याएको हो । म आफु स्वयम् यो नियमित हाजिरीका लागि आफैलाई शुभकामना दिइरहेको छु ।

अहिले म सत्ताको महानगर र जनताको निमुखो गाउँमा बसिरहेको छु । प्राचीन नगर नेपालगन्ज र आधुनिक सहर भरतपुरका बीचमा घेरे कुराहरु फरक छन् तर केही कुराहरुमा भने समानता देखिरहेको छु । हरेक क्षेत्रमा भित्री बाहिरी खेल र षड्यन्त्र त उस्तैउस्तै पो हुँदा रहेछन् । एकप्रकारको निष्ठा र आफ्नो कर्ममा विश्वास गरेर हिड्नेलाई कसैको अनावश्यक भजनमा नगएकै कारण उपेक्षित गर्ने काम जताततै हुनेरहेछ । मैले त्यहाँ पनि सदासयतापूर्वक एउटा बृहत सिर्जनशील संस्थाको परिकल्पना गरेँ र प्रयोगमा ल्याउने काम गरेँ जसबाट प्रयासको आत्माले खुब धिक्कार्यो तर मेरो परिकल्पनाको घरले मलाई नै गरेको उपेक्षाले म अन्योलमा परेको छु । उता पनि यस्तै सहेँ, यता पनि त्यस्तै । अहिलेको समय अत्यन्त पेचिलो छ ,यस्तो अवस्थामा स्वाभिमानीहरुलाई स्वाभिमानपूर्वक बाँच्न कठिनै छ तथापि बाँच्नु पनि वोधत्वको एउटा अध्याय रहेछ । यहि ज्ञानले शायद बाँच्ने उर्जा दिइरहेको छ ।

अन्त्यमा सनत दाइप्रतिको सम्मान र झलक तथा आम पाठक, दिलदर्दी शुभचिन्तक सबैमा सादर स्मरण गर्दछु । र, नियमित संवादको चेष्टा गरिरहने कबोल गर्दछु । वास्तवमा यो कुनै पत्र नै होइन मेरो जीवन र संवेदनाको एउटा सन्देश मात्र हो ।

तपाइको
रेशम विरही

प्रतिक्रिया

प्रतिक्रिया