पेचिलो बन्दै निर्मला कुर्मी बेपत्ता घटनाः आ–आफ्नै दाबी

घटनालाई लिएर महिला अधिकार मञ्चले मंगलबार गरेको पत्रकार सम्मेलन

नेपालगन्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी बेपत्ता घटना ‘पेचिलो’ बन्दै गएको छ । उक्त घटनामा गृह मन्त्रालयको छानबिन समितिका सदस्य मो. शेर बागवानले निर्मलाको जग्गा हडपेको घटनामा तत्कालीन संविधानसभा सदस्यदेखि सरकारी कर्मचारी सम्म दोषी रहेको बताएका छन् । उनको मृत्यु प्रमाणित भैसकेको अवस्थामा अब घटनाको एकिन विवरण आउला त भन्ने प्रश्न उब्जिएको छ । प्रहरी र अधिकारकर्मी तथा पीडित आफन्तको आफ्नै दाबी रहेको छ । घटनामा सिआइबीदेखि अख्तियारसम्मले थप अनुसन्धान गर्नुपर्ने बागवान बताउँछन् ।

मृतक निर्मला कुर्मीको भारतीय आधार कार्ड

अदालतमा मुद्दा, जिल्ला प्रशासन कार्यालय अगाडि नियमित प्रदर्शनपछि अधिकारकर्मी र पीडित परिवारको न्यायका लागि भन्दै काठमाडौंसम्मको पैदल यात्रा, अधिकारकर्मी रुबी खानको आमरण अनशन पछि बनेको गृह मन्त्रालयको छानबिन समिति, अदालतमा दायर मुद्दाका अभियोगी पक्राउ र थुना लगायतका घटना एकपछि अर्काे ‘नाटकीय’ रुपमा भए ।

निर्मला करोडौं मूल्य पर्ने जग्गाकी मालिक हुन् । त्यही जग्गा हडप्न विभिन्न प्रपञ्च भएको गृह मन्त्रालयको छानबिन समितिले आफ्नो प्रतिवेदनमा समेटेको छ । महिला अधिकार मञ्चले गत बर्ष मंसिर १६ गते निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको ८ जनालाई किटानी गरी जाहेरी दिएको थियो । सुरुमा दर्ता नभएको जाहेरी सरकारी वकिल कार्यालय मार्फत दर्ता भएको थियो । अहिले आएर उनी ८ जनालाईनै कानुनको दायरामा ल्याइएको छ ।

निर्मलाका श्रीमान्को ०६२ सालमै मृत्यु भएको थियो । उनका दुई छोराको पनि १५ दिनको फरकमा भएको मृत्यु रहस्यमयनै छ । तर, ती दुई छोराको मृत्युको रेकर्ड प्रहरीमा छैन । ‘दुई छोराको मृत्यु भएको हामीले पनि थाहा पायौं, तर त्यसको पोष्टमार्टम तथा प्रहरीमा उजुरी गरिएको रेकर्ड फेला पार्न सकेनौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले दैनिक नेपालगन्जसँग भने ।
परिवारमा एक्लिएकी निर्मला माथि सम्पत्ति संरक्षणको बहानामा ज्यादति भएको स्थानीयबासी बताउँछन् । निर्मलाले सम्पत्ति हडप्ने तथा आफ्नो ज्यानकै असुरक्षा महसुस गरेपछि नेपाल मुस्लिम चेतना विकास केन्द्रमा २०६६ सालमा नै निवेदन दिएको देखिन्छ । बादशाह कुर्मीले सोही बेला निर्मलालाई जबर्जस्ती आफ्नो घर लगेको र अर्को दिन प्रहरीले उद्दार गरेको समाचार तत्कालीन समयमा सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

मृतक निर्मला कुर्मीको तस्विर ।

निर्मलाको मृत्यु भैसकेको अनौपचारिक रुपमा प्रहरीले बताएपनि मंगलबार त्यसको प्रमाणसहित पुष्टि गरेको छ । ‘यसअघि उनको मृत्यु भएको प्रमाण प्राप्त भएपनि त्यसको आधिकारिकता पनि पुष्टि गरिएको छ’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने । उनले निर्मलाले भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको र उनको भारतमा नै मृत्यु भएको प्रमाण प्रहरीलाई प्राप्त भएको जानकारी दिए । ‘उनको मृत्यु भएको प्रमाणले देखाएको छ’, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने । प्रहरीले निर्मलाका श्रीमान् अर्जुनले निर्मलाको मृत्यु कालगतिले भएको बयान दिएको जानकारी दिएको छ । ‘हामी पहिलेदेखि नै सुक्ष्म अनुसन्धानमा थियौं, सोही अनुसार मुद्दा अगाडि बढाउँदैछौं’, उनले भने ।

निर्मलाको मृत्यु जगन्नाथपुरको बलहामा विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले शनिबार नेपाल प्रहरीलाई पठाएका छन् । उक्त कागजात अनुसार, निर्मलाको मृत्यु १४ चैत २०७६ मा भएको छ । प्रहरीले निर्मलाले भारतीय नागरिकसँग २०६९÷७० सालमा नै विवाह गरेको बताएको छ । उनको विवाहको तस्विर, प्रमाणित मृत्यु दर्ता, भारतीय आधारकार्ड समेत प्रहरीले संकलन गरेको छ । प्रहरीले भारतमा निर्मलाले दोस्रो विवाह गरेको र मृत्यु भएको कागजात अब अदालत पुर्याउने भएको छ ।

अदालतमा निर्मला अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेपछि अहिले ६ जना थुनामा रहेका छन् । अदालतको पक्राउ पूर्जी जारी गरेपनि प्रहरीले अनुसन्धान जारी रहेको भन्दै ढिलो गरी उनीहरुलाई अदालतमा पेश गरेको थियो । घटनामा अभियुक्त बनाइएका आफै प्रहरी सम्पर्कमा थिए र अदालतमा हाजिर भएका हुन् । घटनामा अभियुक्त बनाइएका तत्कालीन संविधान सभा सदस्य बादशाह कुर्मी बयान पछि हाजिरि जमानीमा रहेका छन् भने अर्का एक अभियुक्तको उमेर ८० बर्ष पुगेकाले उनलाई साधारण तारेखमा अदालतले छाडेको छ ।

कुर्मी श्रीमान् भनिएका अर्जुन लगायतसँग

‘अभियुक्त जोगाउने प्रपञ्चमा प्रहरी’


प्रहरीले घटनाका अभियुक्तलाई अझै पक्राउ नगरेको भन्दै अधिकारकर्मीहरुले प्रहरीले मुख्य अभियुक्तलाई जोगाउन खोजेको आशंका गरेको छ । महिला अधिकार मञ्च बाँकेको पूर्व महासचिव तथा सदस्य रहेकी रुबी खानले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै निर्मलाको न्यायका लागि विगतमा गरिएको आन्दोलन, यसअघि प्रशासनमा भएको छानबिन समितिका संयोजक सहितको छलफलको सहमतिको बेवास्ता भएको बताएकी छन् ।

अधिकारकर्मी खानले पत्रकार सम्मेलनमा घटनाका मुख्य अभियुक्त तत्कालीन संविधानसभा सदस्य बादशाह कुर्मीलाई पक्राउ गरेर अनुसन्धान अगाडि नबढाए पुनः आन्दोलन गर्ने चेतावनी दिएकी छन् । उनले कार्तिक २५ गते बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कलम सहित ध्यानाकर्षण पत्र बुझाउने र २६ गतेसम्म पनि बादशाह कुर्मी पक्राउ नपरे २७ गतेदेखि जिल्ला प्रशासन कार्यालय बाँकेको गेट अगाडि प्रत्येक दिन २ घण्टा धर्ना दिने जानकारी दिएकी छन् ।

पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य मो. शेर बागवानले निर्मलाको जग्गा हडप्नका लागि विभिन्न प्रपञ्च रचिएको बताएका छन् । गृहको प्रतिवेदन सार्वजनिक भने भएको छैन । ‘प्रतिवेदनले ८ जनालाई पक्राउ गरी तत्काल अनुसन्धान गर्न सिफारिस गरेको छ’, उनले भने, ‘तर, प्रहरीले बादशाह कुर्मीलाई अझै पक्राउ गरेको छैन ।’ बागवानले निर्मलाको जग्गा हडप्नका लागि नक्कली विवाह गराइएको उल्लेख गर्दै उनको मृत्यु स्वाभाविक नभै हत्या नै हुनसक्ने आशंका गरे । ‘निर्मलाको दोस्रो विवाह गर्ने उमेर थिएन’, उनले पत्रकारहरुसँग भने ।

निर्मलाको मृत्यु उल्लेखित पारिवारिक रजिष्टर

समितिका सदस्य बागवानले छानबिनका क्रममा भारत पुगेर विभिन्न व्यक्तिसँग बयान लिंदा निर्मलाको हत्या नै भएको देखिएको पत्रकार सम्मेलनमा बताएका थिए । ‘प्रतिवेदनका धेरै कुरा सार्वजनिक गर्न मिलेन, तर कानुनी रुपमा बच्नका लागि विभिन्न व्यक्तिलाई प्रयोग गरी जग्गा हड्पिएको छ, निर्मलाको हत्या भएको छ’, उनले भने ।

समितिका सदस्य बागवानले निर्मला बेपत्ता घटना चर्किएपछि बल्ल प्रहरीले प्रमाण संकलन गरेको भन्दै यसअघि वेवास्ता गर्नुप्रति पनि आशंका गरेका छन् । ‘निर्मलाको जग्गा एक व्यक्ति हुँदै अर्कोमा जानुमा सरकारी कर्मचारीदेखि विभिन्न व्यक्ति दोषी छन्, यसको बिस्तृत अनुसन्धानका लागि पनि प्रतिवेदन मार्फत सिफारिस गरिएको छ’, बागवानले पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया

प्रतिक्रिया