धारा सातौं नेपालगन्ज म्याराथनको विश्व साइकलयात्री पुष्कर शाहले पनि सहभागिता जनाउने भएका छन् ।
किर्तिमानी शाहलाई मंसीर ४ गते नेपालगन्जमा हुने म्याराथनको अगुवासँगै साइकल यात्रामा सहभागिताका लागि सहमति लिइएको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

‘विश्व साइकलयात्री शाहले साइकलबाट अगुवा म्याराथन धावकको स्कटिङ गर्ने भएका हुन्,’ नेपालगन्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगन्ज साइक्लिङ क्लबले स्कटिङ गर्दै आएको जानकारी दिंदै आयोजक क्रियटिभ ह्याण्डस्ले मंगलवार विज्ञप्तिमा भनेको छ, ‘पर्यावरणतर्फ ध्यान दिदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउदै आएको छ ।’
गतवर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको साइकलयात्री यमलाल रसाइलीले स्कटिङ गरेको जानकारी दिंदै अध्यक्ष ठकुरीले एक जना म्याराथन धावकको एकजना साइकलयात्रीबाट स्कटिङ हुने व्यवस्था रहेको बताए । ‘यसपालीको म्याराथनका अगुवाको विश्व साइकलयात्री शाहले स्कटिङ गर्नेछन्’, अध्यक्ष ठकुरीले विश्व साइकलयात्री शाहले नेपालगन्ज म्याराथनका धावकको स्कटिङ गर्ने कुराले आयोजकलाई थप हौसला बढेको प्रतिक्रिया दिए ।
आयोजकका अनुसार, सातौ धारा नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले छन् । यसपालीको म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । नेपालगञ्ज म्याराथनमा देशका चर्चित धावकहरु दौडिने गर्दछन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुने गरेका छन् । फूल म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) मा देशकै चर्चित धावकहरु दौडिदा १० किलोमिटर, ५ किलोमिटरमा लामो दौडको अभ्यास गरिरहेकाहरु दौडिने गर्दछन् । कर्पोरेट रन र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वहरुको सहभागिता रहदै आएको छ ।