पटकपटकको सदस्यता सम्बन्धी विवादका कारण रोकिएको नेपाली काँग्रेस बाँकेका वडाको निर्वाचन अब भने हुने भएको छ । यसले काँग्रेस नेता कार्यकर्तामा निर्वाचनको माहोल तयार गरेको छ ।
‘अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्ने निश्चित छ’, नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइरालाले भनिन्, ‘अब निर्वाचन हुन्छ, विथोलिनु हुँदैन, निर्वाचन अधिकृत पनि मंगलबार आइपुग्दै हुनुहुन्छ ।’
काँग्रेस केन्द्रीय निर्वाचन समितिले बाँकेका लागि रेवतीरमण भट्टराईलाई निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृत आए लगत्तै निर्वाचनका सन्दर्भमा नेपाली काँग्रेस बाँकेको बैठक पनि बस्ने तयारी भएको छ । समितिले निर्वाचन बाँकी रहेका १३ वटै जिल्लामा निर्वाचन अधिकृत खटाएका कुनै विवाद नआए निर्वाचन निश्चित रहेको छ ।
बाँके काँग्रेस सभापति कोइरालाले निर्वाचन अधिकृतले मतदाता नमावली ल्याउने र त्यो नै अन्तिम हुने बताएकी छन् । अन्य जिल्लामा निर्वाचन हुँदा पनि बाँकेमा नहुनुमा क्रियाशिल सदस्यताको विवाद रहेको सभापति कोइरालाले बताएपनि उनले निर्वाचन अधिकृत ल्याउने नामावली अन्तिम हुने जिकिर गरिन् ।
क्रियाशिल सदस्यतामा केही थपघटको अपेक्षा बाँके काँग्रेसका नेता, कार्यकर्तामा रहेको उल्लेख गर्दै सभापति कोइरालाले अब निर्वाचनको महोल सुरु भैसकेको बताइन् । उनले वडा अधिवेशन आगामी कार्तिक २७ मा हुने जानकारी दिइन् ।
‘सकेसम्म सर्वसम्मतको प्रयास छ’, काँग्रेस बाँके सभापति कोइरालाले भनिन्, ‘स्थानीय तहको निर्वाचन आइरहेकाले सबैको एकमत आवश्यक छ, एक/दुई ठाउँ निर्वाचन भएपनि बाँकी सर्वसम्मत नै हुन्छ भन्ने लागेको छ ।’ उनले सर्वसम्मतको प्रयासमा आफु पनि गाउँगाउँ पुगिरहेको बताएकी छन् ।