नेपालगन्जमा मधुमेह उपचार केन्द्र

लायन्सकर्मीहरुको पहलमा रामनारायण मेमोरियल मधुमेह सेवा केन्द्र स्थापना गरि मधुमेह रोगका सबै प्रकारका उपचार सेवा प्रदान गर्न लागिएको हो ।

प्रथम वार्षिकीमा लायन्य क्लब अफ नेपालगन्जका तर्फबाट समाजसेवामा पुर्याएको योगदानका लागि सम्मान ग्रहण गर्दै स्व. रामनारायण श्रेष्ठका परिवार । क्लब अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स लिडरहरुले उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।


नेपालगन्जमा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको छ । बाँकेमा लायन्सवाद स्थापनाका अगुवा, स्वर्गीय रामनारायण श्रेष्ठको स्मृतिमा उनकै परिवारको अग्रसरतामा नेपालगन्जमा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको हो । त्यसलाई साकार पार्न लायन्सकर्मीहरुले पहल लिएका छन् ।


रामनारायण श्रेष्ठ, लायन्स क्लब अफ नेपालगन्जका संस्थापक हुन् । उनको निधन भएको प्रथम वार्षिकी पारेर छोरा राजेशनारायण श्रेष्ठले रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र घोषणा गरेका हुन् । त्यसका लागि प्रारम्भिक १५ लाख रुपिया श्रेष्ठले प्रदान गरेको जानकारी दिंदै लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का संस्थापक गभर्नर शेमराज शाक्यको संयोजकत्वमा सेवा केन्द्रले आवश्यक काम गरिरहेको बताए ।


लायन्स क्लब अफ नेपालगन्जले सञ्चालन गरिरहेको लायन्स डेन्टल अस्पताल परिसरमा रामनारायण ममोरियल मधुमेह सेवा केन्द्रले आवश्यक उपकरण सहितको उपचार सेवा सञ्चालनका लागि प्रक्रिया अगाडी बढाएको छ ।


‘टेन्डर प्रक्रिया अगाडी बढिसकेको छ,’ संयोजक शाक्यले अत्याधुनिक उपकरण सहित क्याबिन, शैयाको व्यवस्थापन डेन्टल अस्पतालकै माथिल्लो तलामा बनाउन लागिएको जानकारी दिंदै भने, ‘त्यसका लागि विभिन्न लायन्स लिडरहरुले सहयोग गर्नु भएको छ ।’ शाक्यका अनुसार, लायन्स लिडर श्यामकुमार शर्मा, यज्ञप्रताप राणा, हरि प्रसाईंलगायतले उपकरण लगायतमा सहयोग गरिसकेका छन् ।


रामनारायण श्रेष्ठ मधुमेहबाट ग्रस्त थिए । ‘बुबाको इच्छालाई पुरा गर्न हामीले साना पहलमात्रै लिएको,’ बुबाको प्रथम वार्षिकीमा लायन्य क्लब अफ नेपालगन्जका तर्फबाट समाजसेवामा पुर्याएको योगदानका लागि सम्मान ग्रहण गर्दै स्व. रामनारायण श्रेष्ठका कान्छा छोरा राजेशले भने, ‘सबैको सहकार्यले यो काम अगाडी बढ्यो भने सार्थक परिणाम दिनेमा ढुक्क छु ।’

रामनारायण ममोरियल मधुमेह सेवा केन्द्रले यस क्षेत्रका मधुमेश विरामीहरुका लागि उपचारमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । ‘मधुमेह उपचारका लागि यो सेवा केन्द्र एउटा हब हुनेछ,’ लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि २ का पूर्व गभर्नर मधुसुदन शर्मा रिजालले भने, ‘लायन्सले त्यसका लागि इन्टरनेशनल फण्डका लागि पनि पहल लिनेछ ।’


रामनारायण ममोरियल मधुमेह सेवा केन्द्रले मधुमेहका क्षेत्रमा विशेषज्ञ सेवाको लक्ष लिएको छ । ‘नाफाभन्दा सेवामूखि अस्पतालका रुपमा अगाडी बढाइनेछ,’ केन्द्रका संयोजक शाक्यले रोगको पहिचानका लागि ‘आउटरिच’ कार्यक्रमसमेतको योजना सुनाउँदै भने, ‘मधुमेहको पहिचान, उपचार र विशेषज्ञ सेवाका लागि रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र सक्रिय हुनेछ ।’ जहाँ फिजिसियन देखि स्तरीय ल्याब अनि आवश्यक उपकरणको व्यवस्थापनका लागि काम शुरु भइसकेको संयोजक शाक्यले जानकारी दिए ।

उद्योगपति रामनारायण श्रेष्ठको अध्यक्षतामा १९९७ लायन्स क्लब अफ नेपालगन्ज स्थापना भएको थियो । क्लबकै अगुवाइमा लाइन्सकर्मीहरुले नेपालगन्जको खजुरारोडमा लायन्स डेन्टल अस्पतालका लागि १० कठ्ठा जग्गाको व्यवस्थापनसँगै लायन्स क्लब अफ नेपालगन्जले लायन्स डेन्टल अस्पताल सञ्चालन गरिरहेको छ । सोही परिसरमा रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र स्थापना गरि अब मधुमेहका बिरामीहरुलाई सहुलियत सेवा प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया