नेपालगन्जमा आकर्षण बन्दै सुपरमार्केटको खरिददारी

पछिल्ला बर्षहरुदेखि नेपालगन्जमा सुपर मार्केट (मार्ट) हरु सञ्चालनमा आइरहेका छन् । यसले खरिददारीमा नयाँ संस्कारको विकास भइरहेको देखिन्छ । स्तरीय सुपरमार्केट, मार्ट, डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएपछि खरिदकर्ताहरु त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।

नेपालगन्जमा सञ्चालित सुपरमार्केटहरुले सहरकै शोभा समेत बढाएको छ । पश्चिमको ठूलो सहरको रुपमा रहेको नेपालगन्ज भारतसँग जोडिएको छ । जसका कारण यहाँ धेरै सामानहरु खरिद गर्नुपरे सीमावर्ती बजार रुपैडिहा जाने चलन छ । तर, नेपालगन्जमा एकै ठाउँमा सबै जसो उपभोग्य सामान पाइने सुपरमार्केट, मार्ट खुल्न थालेपछि केही हदसम्म भएपनि रुपैडिहा जाने ग्राहकहरुको संख्यामा कमी आएको देखिन्छ ।


‘सुपरमार्केटमा सबै खालका सामान निर्धारित मूल्यमा पाइने भएकाले खरिदका लागि आकर्षण बढेको हो’, नेपालगन्जका राजेन्द्र शर्मा भन्छन् । बजारका पसलहरुमा पसल पिच्छे मूल्य फरक हुने, बार्गेनिङ नै गर्नुपर्ने अवस्था रहेपनि सुपरमार्केटमा हुने ‘फिक्स’ मूल्यका कारण पनि उपभोक्ताहरु मूल्यमा ठगिनबाट समेत बच्ने विश्वास उपभोक्ताहरुको रहेको छ ।


सुपरमार्केट तथा मार्ट एकै ठाउँमा उपभोग्य धेरै सामान पाइन भएकाले एकै ठाउँमा खरिद गर्न रुचाउने पनि त्यसतर्फ आकर्षित हुने गरेका हुन् । विशेष अवसरमा दिइने छुटले पनि उपभोक्तालाई सुपरमार्केट तर्फ खरिद गर्न आकर्षित गरेको हो । ‘आफैले रोजेर छानेर किन्न पाइने, मूल्य पनि निश्चित हुने भएकाले बार्गेनिङको झन्झट नै हुँदैन,’ सरोज क्षेत्री भन्छन् ।


नेपालगन्जका सुपरमार्केट तथा मार्टमा एकै ठाउँमा खाद्यान्न सहित लत्ताकपडा, भाँडाकुडा, खेलौना, कष्टमेटिक सामानहरु पाइने गर्दछ । ‘विभिन्न सामान किन्न पसलपसल चाहर्नु पर्ने झन्झट सुपरमार्केटले अन्त्य गरेको छ’, पछिल्ला दिन सुपरमार्केटमै दैनिक उपभोग्य सामान गरिंदै गर्दै आएको बताउने शान्ति शाही बताउँछिन् ।


सुपरमार्केट, मार्टहरुमा सम्पन्न व्यक्तिहरु मात्रै खरिदका लागि जान्छन् भन्ने भ्रम पनि तोडिदै गएको छ । हेर्दा चिटिक्क देखिने मार्ट, सुपरमार्केटमा महंगो होला भ्रम यसअघि आम उपभोक्तामा रहने गरेको थियो । तर, उपभोक्ताको अनुभवले बजारमा भन्दा मार्ट र सुपरमार्केटमा उही अझ त्यो भन्दा पनि सस्तो मालसामान पाइने गरेको देखाउँछ । ‘निश्चित मूल्य भएकाले ठगिएला भन्ने चिन्ता हुँदैन’, सुजिता बराल भन्छिन् ।


पश्चिमकै लागि केन्द्रीय बजारका रुपमा रहेको नेपालगन्जमा मार्ट, सुपरमार्केटहरुले राम्रै उपभोक्ता पाएको देख्न सकिन्छ ।
नेपालगन्ज भाटभटेनी सुपरमार्केट सँगै राही मार्ट, इजीमार्ट लगायतका स्तरीय पसलहरु यसअघि नै सञ्चालनमा छन् । आज मंगलबारबाट वेष्टर्न मलमा वेष्टर्न मार्ट सञ्चालनमा आउन लागेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया