कब्रिस्तान संचालक समिति खोज्ने प्रशासनको आश्वासन

क्रियाशिल कुनै पनि संघ, संस्थाको समिति खोज्न खासै समस्या हुँदैन । तर, बाँकेमा एउटा यस्तो समिति छ जसको समिति खोज्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेसँग दुई पटक सूचना माग्नु परेको छ ।
नेपालगन्ज वडा नं. ४ मा रहेको कब्रस्तानको सञ्चालन समिति आधिकारिक रुपमा सार्वजनिक भएको छैन । मुस्लिम समाज सेवा संघ कब्रिस्तान संचालक समिति माथि अनैतिकताका विभिन्न प्रश्न उठ्दा पनि समितिले आधिकारिक रुपमा सार्वजनिक भएको त छैन नै हरहिसाब त अझै परको कुरा भयो ।
कब्रस्तानमा अपारदर्शी हरहिसाबदेखि विभिन्न विषयमा जानकारी लिनका लागि कब्रस्तान सञ्चालक समिति खोज्न कब्रिस्तान संघर्ष समिति नै गठन भएको छ । संघर्ष समितिले दोस्रो पटक जिल्ला प्रशासन कार्यालय बाँकेमा सूचना माग गरेको छ ।
मंगलबार सुचनाको हक ऐनको व्यवस्था अनुसार दोस्रो चरणमा पुनः लिखित रुपमा सुचना माग गरिएको हो । संघर्ष समितिले पहिलो चरणमा सुचना माग गर्दा संस्था दर्ता ऐन २०३४ बमोजिम बांके जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको मुस्लिम समाज सेवा संघ कब्रिस्तान संचालक समितिको नामावली, संस्था नविकरणका कागजात, २०६३ देखि हालसम्मको आर्थिक कारोबारको अडिट रिपोर्ट, सार्वजनिक लेखा परिक्षण, सार्वजनिक भेला आदि लगायतको कागजात माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय मार्फत बुझाइएको सूचना कागजात अपुरो वा फरक रहेकोले समितिले दोस्रो चरणमा पुनः सुचना माग गरेको हो ।
संघर्ष समितिका अध्यक्ष बाबु खां पठानका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेले वडा समितिको प्रतिवेदन अनुसार बुझाएको कागजातमा याकुब अंसारी (गोबरे) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको उल्लेख रहेको छ । जुनकि आÞधिकारिक कागजपत्र जस्तैः कार्य समितिको बैठकको माइन्यूट, अडिट रिपोर्ट, सार्वजनिक लेखा परिक्षण आदि बिनाको रहेको छ । ‘मागेको पूर्ण सूचना आएन त्यसैले पुनः सूचना माग गरिएको हो’, पठानले भने ।
संघर्ष समितिले सुचनाका लागि दिएको निवेदन बुझ्दै बांकेका प्रमुख जिल्ला अधिकारीले आफु भर्खरै आएकोले विस्तृत रुपमा बुझेर कागजात संकलन र समितिका पदाधिकारी हाजिर गराउने तर्फ यथाशिघ्र आवश्यक पहल चाल्ने आश्वासन दिएका छन् ।
यसअघि कब्रस्तानमा चिहान माथि अवैध निर्माण कार्य थालिएपछि विवाद सिर्जना भएको थियो । कब्रस्तानमा निर्माण रोक्नका लागि प्रशासनमा ज्ञापन पनि दिइएको थियो । विवाद पछि कब्रस्तान सञ्चालक समितिको खोजबिन तथा हरहिसाब खोज्न सुरु गरिएको थियो ।