नेकपा एमालेले देशव्यापी एकै पटक वडा कमिटी र पालिका तह कमिटीको अधिवेशन गरेको छ । यो टिप्पणी यो अधिवेशनले दिएको सन्देशमा केन्द्रित छ । एमाले अहिले एउटा पीडामा छ । यो पीडाभनेको भदौ ९ गतेको दल विभाजनको हो । पीडालाई अभिव्यक्त गर्ने तमाम तरिकाहरु हुन्छन् । कोहि नदुखेको बहाना गर्ने, कोहि अति दुखेको बहाना गर्ने त कोहि सहि उपचार के हुनसक्छ भन्दै औषधि मूलो गर्न लाग्ने । अहिले भइरहेका अधिवेशनहरु उपचारको खोजीमा गरिएको सहि औषधि मूलो हो ।
माओवादी केन्द्रसंगको एकिकरणपछि वन्ध्याकरणमा परेको संगठन निर्माणको आधारभूत कर्मको शुरुवात यी अधिवेशनहरुबाट भएको छ । कार्तिक ४ र कार्तिक ९ एमालेको इतिहासमा दर्ज हुने मिति हो । यो उत्सव सेलिब्रेट गर्ने समय हो । यतिबेला नेकपा निर्माणका प्रक्रिया, त्रुटि वा नेतृत्वको अवसरवादका बारेमा टिप्पणी नगर्ने समय हो ।
कोठे बैठक, हुक्के, बैठके र टिकेहरु जस्ता निमित्तबाट संचालन भइरहेका संरचनाहरुमा आमकार्यकर्ताहरुको सार्वभौमसत्ता स्थापना भएको छ । यतिबेला सहि अर्थमा एमालेको संगठनको परिचय स्थापित भएको छ ।
एक सप्ताहको अन्तरालमा करिब ८ लाख आमकार्यकर्ताहरुले करिब २५ प्रतिशत नेता तथा संगठकहरु चुनेका छन् । त्यो पनि आमरुपमा सर्वसम्मत । यो एमालेको इतिहासमा रेकर्ड गर्न लायक गौरवान्वित क्षण हो ।
यी अधिबेशनहरुको मुख्य सरोकार एमालेको गतिशिलतामा वृद्धि गर्नु नै हो । एमालेलाई जनताका विच लोकप्रिय बनाउनु हो । नेताहरुको जुँगाको लडाइबाट आजित एमालेजनहरुलाई अधिवेशन सन्जिवनी सावित भएको छ । यसको परिणाम आसन्न स्थानीयतह निर्वाचनमा छनोट हुने उम्मेदवारहरु र जीतले देखाउने छ ।
बाँकेका ८१ वडाहरुको अधिवेशन र ८ पालिकाको कमिटि निर्माणमा कार्यकर्ताहरुले देखाएको सुझबुझपूर्ण व्यवहारले प्रमाणित गर्दछ कि एमालेको शक्ति कार्यकर्ता आधारित पार्टी नै हो । टिका लगाएर, नेताको चाकडी भजाएर मात्र हँुदैन भन्ने सन्देश यो अधिवेशनले दिएको छ
हिजोको नेकपाको निरन्तरता आजको एमाले हो भन्ने विधान महाधिबेशनको स्लोगन भूगोलमा चरितार्थ पार्ने अग्रगामी जिम्मेवारीले ओतप्रोत कमिटीको निर्माण भएको छ । यसको अभिप्राय बुझ्न आवश्यक छ ।
माइन्यूटले पार्टी चलाउने उपमा बोकेको एमाले र यो प्रक्रियामा दिक्षित आमकार्यकर्ताहरुले यी अधिबेशनहरुमा सक्रियतापूर्वक भाग लिएका छन् । जिम्मेवारपूर्वक क्षमता प्रदर्शन गरेका छन् । एमाले बनाउने अभियानमा होमिएका नयाँ, उर्जावान नेतृत्वको पहिचान भएको छ ।
यति हुँदाहँुदै पनि यी अधिवेशनहरुमा स्वार्थ टकराएनन् भनेर भन्न हुदैन । तृणमूल तहमा पार्टीको आधारहरुमा रक्तसंचार हुने काम अधिवेशनले गरेको छ । तर यी अधिवेशनहरुमा अधिक केन्द्रियता लागू गर्नै पर्ने धङ्गधङ्गीबाट जिल्लाका नेताहरु मूक्त हुन सकेनन् । यिनलाई के थाहा भएन भने सर्वसम्मतीको अर्थ अधिक छलफल (जनवाद) हो, न कि गोजीबाट नाम प्रस्ताव । यति कुरा बुझ्न नेताहरुलाई समय नलाग्नु पर्ने हो ।
यो अधिवेशनले गुटको अन्त्य गरेको छ । यसको अर्थ फेरि गुट बन्दैन भन्ने हैन । यसको अर्थ गुट एमालेको आधार तहमा न हिजो थियो, न आज छ भन्ने हो ।
आमकार्यकर्ताका आशाको सन्चार गराएको छ । देशैभर एकैपटक मृततुल्य संगठन जुर्मुराएको छ । जुझारु, अपेक्षाकृत युवाहरु, केहि गर्ने अठोट बोकेकाहरु नेतृत्वमा स्थापित भएका छन् ।
नेतृत्वको जोड अबको ढिलोमा ६ महिनापछि हुने स्थानीयतह निर्वाचनबाट एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने हो । नेकपा (एमाले)का तृणमूल तहका नवनिर्वाचित नेतृत्वलाई शुभकामना ।