नजिकैको स्थानीय निर्वाचन: नेपालगन्जमा एमाले नियति

नेकपा ( एमाले ) को देशभर गाउँ / नगर अधिवेशन एकसाथ भैरहँदा नेपालगन्ज उपमहानगरको नयाँ नेतृत्व चयन सन्दर्भमा विभिन्न टिप्पणी आइरहेका छन् । यसबेला नेपालगन्जमा नेकपा ( एमाले ) सधैं पछि पर्नु र स्थानीय निर्वाचनमा पराजय ब्यहोर्नुको मूल कारण खोजेर पार्टी कमाण्डर चुन्नु उचित हुने सुझाव दिएका छन् ।

सधैं पुरानै ढर्रा, संरचना र व्यक्तिबाटै पार्टी चल्ने हो भने नयाँं परिणाम कसरी अपेक्षा गर्न सकिन्छ ?


हरेक निर्वाचनका बेला मतदाता नामावलीमा नामै नहुनेहरु र भूगोलमा कार्यकर्ताले भन्दा उपल्लो तहका नेतृत्वले रुचाउनेहरु नै नगरको नेतृत्व गर्दै आइरहेको कारण पनि नेपालगन्ज उपमहानगर मा नेकपा ( एमाले ) कमजोर बन्न पुगेको विश्लेषण अगुवा कार्यकर्ताको छ । उनीहरुको टिप्पणी थियो, ‘नेपालगन्जका रैथानेहरु, आम कार्यकर्ताले रुचाउनेहरु भन्दा माथिल्लो तहका नेताको आशीर्वादका भरमा नेतृत्व स्थापित गरिंदा नेपालगन्जमा एमाले सधैं कमजोर भइरह्यो ।’


मंगलवार नेपालगन्जमा हुने अधिवेशनबाट नगर नेतृत्व चयन गर्न ३ सयबढी प्रतिनिधि बनाइएको छ । एक हजार २ सयबढी संगठित सदस्य रहेको एमाले नेपालगन्जमा अहिले १ हजार ४२ जनामात्रैले नविकरण गरेका छन् । उनीहरुबाटै विभिन्न विधि बनाएर प्रतिनिधि चयन गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताएका छन् । त्यहीं खजुराले ९ सयबढी संगठित सदस्य सबैलाई अधिवेशनमा डाकेको छ भने डुडुवाले ६ सय सबैलाई ।


मधेसी, मुस्लिम र माडवारी तथा नेपालगन्ज मै पुस्तौंदेखि बस्दै आएका अन्य समुदायका ब्यक्तिलाई पार्टी कमिटीमा ल्याउन र नेतृत्वमा स्थापित गर्न अपेक्षित प्रयास भएको देखिन्न । ‘पार्टीलाई अब नयाँ ढंगले लैजानेबारे निर्णय लिन ढिलाइ गर्न हुँदैन,’ सोमवार पार्टी कार्यालयमा भेटिएका अधिकाँश अगुवा कार्यकर्ताहरुको भनाइ थियो, ‘सधैं पुरानै ढर्रा, संरचना र व्यक्तिबाटै पार्टी चल्ने हो भने नयां परिणाम कसरी अपेक्षा गर्न सकिन्छ ?’

प्रतिक्रिया

प्रतिक्रिया