आगामी डिसेम्बर १४– १६ नेपालगन्जमा ‘टुरिज्म मार्ट’ आयोजना गर्न लागिएको हो
पर्यटनका लागि पश्चिम नेपालगन्जकै ट्राजिट मानिएको नेपालगन्जमा पहिलो पटक ‘टुरिज्म मार्ट’ आयोजना गरिने भएको छ । नाट्टा, हान लगायतका पर्यटन सम्बद्ध संस्थाहरुको संयोजनमा नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले नेपालगन्जमा पहिलो पटक ‘टुरिज्म मार्ट’ आयोजना गर्न लागेको हो ।
‘सातै प्रदेशको पर्यटकीय गन्तव्यहरुको समानुपातिक प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य अनुरुप यसखालको टुरिज्म मार्ट आयोजनाको नीति बनाइएको हो,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले शनिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आगामी डिसेम्बर १४– १६ नेपालगन्जमा ‘टुरिज्म मार्ट’ आयोजना गर्न लागिएको जानकारी दिंदै भने । उनका अनुसार, नेपालगन्जमा शुरुवात गरिने मार्ट देशका सबै प्रदेशमा क्रमशः गरिनेछन् ।
नेपालगन्जमा शुरुवात गरिने मार्ट देशका सबै प्रदेशमा क्रमशः गरिनेछन् ।
– डा. धनन्जय रेग्मी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले भारत केन्द्रीत पर्यटकलाई लक्षित गरेर यसपटक नेपालगन्जमा ‘टुरिज्म मार्ट’ आयोजना गर्न लागेको हो । ‘हामी बोर्डर पारिलाई लक्षित परेर नेपाली गन्तव्यहरुको व्यापक प्रचारप्रसारमा लाग्नु हितकर हुन्छ,’ त्यसै अनुरुप सीमाका सुरक्षा व्यवस्थालाई पर्यटनमैत्री हुन सुझाएका डा. रेग्मीले कोरोनाको मारले थलिएको नेपाली पर्यटनलाई उभो लगाउने उपाय बारे भने । मार्टको पूर्वतयारी स्वरुप डा. रेग्मीसहितको टोली भारतका विभिन्न ठाउँ पुगेर सम्बद्धहरुसँग छलफल तथा समन्वय पनि गरिसकेको बोर्डले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा हँुदै आइरहेको ‘टुरिज्म मार्ट’ आयोजनाको अभ्यासलाई नेपालगन्जबाट शुरु गरिन लागेको हो । पर्यटन पूर्वाधारले भरिपूर्ण नेपालगन्जले त्यसका लागि सफल नेतृत्व लिने विश्वास नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलको छ । उनले झण्डै २ करोड खर्च अनुमान गरिएको आयोजनामा राखिने विभिन्न स्टलहरुबाट आम्दानीको लक्ष पनि राखिएको छ । ‘यद्धपि नाफा कमाउने भन्दापनि पर्यटकीय गन्तव्यको पहिचान र पर्यटक भित्र्याउनु हाम्रो प्राथमिकता हो,’ अध्यक्ष सिग्देलले भने ।
मुलुकमा कुल पर्यटन आगमनमा बृद्धि गर्ने योजनाका लागि ‘टुरिज्म मार्ट’ सहयोगी सिद्ध हुने विश्वास आयोजकको छ । ‘कोभिडपछिको पर्यटनको पुनःउत्थानको लागि यो ठोस पहलीकदमी हुनसक्छ,’ बोर्डले पर्यटनको क्षेत्रमा कार्यरत सम्पूर्ण निकायहरुलाई परिचालित गर्ने आयोजनाको सोंच रहेको जानकारी दिंदै नाट्टाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईंले भने । उनका अनुसार, पर्यटनका गतिविधिहरुलाई देशका विभिन्न स्थान सम्म पुर्याउने अभिप्रायले आयोजना शुरु गरिएको ‘मार्ट’ले पर्यटन ब्यावसायिकताका लागि नयाँ पर्यटन व्यवसायको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
‘मार्ट मार्फत नेपाल, भारत लगायत दक्षिण एशियाका पर्यटन व्यवसायीहरु संग परिचय, व्यापार आदान प्रदान गरिनेछ,’ आयोजकले नेपालगन्जमा ‘टुरिज्म मार्ट’ आयोजना घोषणा गर्दै भनेका छन्, ‘यस मार्टले नेपालको लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने विश्वास लिइएको छ ।’
शनिवार घोषणा कार्यक्रममा विभिन्न वक्ताहरुले टुरिज्म मार्ट आयोजनाले मुलुकको हितका लागि दूरगामी प्रभाव पार्ने बताए । स्थानीय सरकारको सहभागिताले मार्टलाई सफल बनाउने विश्वास आयोजकले लिएको नाट्टा नेपालगन्जका अध्यक्ष सिग्देलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि, प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले आयोजनामा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता जनाए । प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) ले आयोजनालाई सबैका साझा बनाउन सुझाव दिइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्जको विकासमा पर्यटन पनि एउटा खम्बा भएकाले मार्ट आयोजनामा आफुहरु साझेदार हुने बताए । ‘नेपालगन्जको आर्थिक विकासका मुख्य चार खम्बामध्ये पर्यटन एक हो,’ नगर प्रमुख डा. राणाले भने, ‘पर्यटनको विकासमा नेपालगन्ज उपमहानगरपालिका सधैं साथमा हुन्छ ।’
नाट्टा नेपालगन्जका महासचिव झविलाल शर्माका अनुसार, ‘टुरिज्म मार्ट’ तयारीका लागि पर्यटन बोर्डका प्रमुख कार्यकारी, नाट्टा केन्द्रीय अध्यक्ष सहितको उच्चस्तरीय टोली नेपालगन्जमा आवश्यक गृहकार्यमा लागिसकेको छ ।