
माक्र्सवाद, लेनिनवाद, सर्वहाराअधिनायकवाद, श्रमजीवी जनताको अधिनायकत्व, लालसलाम, सर्वसत्तावाद, फासीवाद, विस्तारवाद, दलालपूँजीवाद, सामन्तवाद, आत्मसर्मपणवाद, अवसरवाद,प्रधानशत्रु, आत्मसमिक्षा, आत्मआलोचना आदी शब्दहरुले नेपालको कायापलट गरेको गर्यै छ । यी तमाम शब्दहरुमा झण्डै दुई तिहाइको संख्यामा रहेको दावा गर्ने नेपालका कम्यूनिष्टहरुको कहिँकतै पनि भिन्नता देखिँदैन । उनीहरुका घोषणपत्रहरु, विधान देखि हरेक दस्तावेजहरुमा यी शब्दहरु परेनन् भने उनीहरुको भनाइ हुन्छ कि त्यो कम्यूनिष्ट नै होइन । यी शब्दावलीहरु सबै कम्यूनिष्ट भनिने गुटका साझा छन् । अध्यक्ष बन्न, महासचिव बन्न, पद र पैसाको कुनामा पुग्न वा सत्ताको चास्नीमा डुब्नका लागि जतिसुकै मतभेदको नाटक गरिएता पनि यी केहि शब्दावलीमा भने उनीहरु बीचमा कुनै नाटक नौटङ्की वा मतभेद देखिँदैन । नेपाली कम्यूनिष्ट आन्दोलनको इतिहासमा जति पनि जोडिने र छुट्टिने कामहरु भ्ने यिनै शब्दहरुबाट एकाध छानेर सर्मथन र बिरोध गर्ने गरिएको छ ।
यी शब्दाहरुमा एउटा शब्दको यहाँ आज चर्चा गर्न खोजिएको छ । त्यो शब्द हो ‘प्रधानशत्रु’ । ‘प्रधानशत्रु’ भन्ने शब्दको कम्यूनिष्टहरुको भाषामा व्याख्या सधैं उनीहरुको सिद्धान्त आर्दश र मान्यता नमान्नेहरु, सत्तामा जानअवरोध गर्ने व्यक्ति समूहहरु, उनीहरुले गलत गरे भन्नेहरु, उनीहरुलाई आफुले नखाएर भएपनि भात नखुवाउनेहरु, उनीहरुलाई चन्दा नदिनेहरु, दुइचारजनालाई रोजगार दिएका तर उनीहरुलाई तल्लोकर नबुझाउनेहरु र उनीहरुको झोलाभन्दा बाहिरका सबैलाई साझा रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । तर यो शब्दले नेपालीहरुको वास्तविक प्रधानशत्रु को हो भन्ने बारेमा यिनीहरुबाट कहिल्यै प्रयोग भएको महसुस नेपाली जनताले कहिल्यै गर्न पाएनन् ।
नेपाल भूगोलमा दुइसय बढि देशमा सयवटा देशभित्र पर्छ । आधुनिक भौतिक विकासका हिसाबले पनि अतिकम विकसित देशमा पर्छ भन्छन् । भौगोलिक कठिनाईका हिसाबले पनि असहज अवस्थामा नै छ । ‘नेपालीले त खान पनि जानेको छैन, हातधुनपनि जानेको छैन, यहाँ त भोकरोग बाहेक केहि छैन, नेपाली असभ्य छन्, केहि जानेकै छैनन् ’ भन्ने जस्ता भाष्य निर्माण गरिएको छ । त्यहि अनुसार नेपालीहरु प्रति नेपाली राजनीतिक दलहरु, नेताहरु, बुद्धिजीविहरु र विदेशीहरुले गरेका ब्यवहारलाई आजसम्मपनि कसैले प्रधानशत्रु भन्न चाहेन र सकेनन् पनि ।
उनीहरुले भनेजस्तो वा व्यवहार गरेजस्तो के नेपाल त्यति गएगुज्रेको देश हो त ? किमार्थ होइन । मानव सभ्यताको इतिहास नै हेर्ने हो भने नेपाल त संसारका प्राचिनतम् सभ्यताको केन्द्र नै रहेको पाइन्छ । शिक्षाको कुरा गर्ने हो भने संसारमा जब शब्द र बोली प िनबन्दै हुनुपर्छ नेपालमा शब्द बोली ब्याकरणको शुरुआत भएको हुनुपर्छ । साँस्कृतिक सम्पन्नताको कुरा गर्ने हो भने नेपाल जत्तिको साँस्कृतिक विविधता र सम्पन्नता न संसारको कुनै मुलुकमा हिजो थियो न आज छ । धार्मिक सहिष्णुता, सर्वधर्म समभाव र धार्मिक विविधतालाई साझा बनाउने सँस्कृति र ज्ञान नेपालीमा जत्तिको संसारका कुनैपनि मुलुकमा न हिजो थियो न आज छ । कृषिका हरेक बीजहरुको संरक्षणको ज्ञान नेपाली भन्दा पहिला कसैमा थिएन । धान, मक,ै कोदो, फापर आदी अन्नबालीको बीऊ कहाँ उत्पत्ति भयो वा पहिला यो खानका लागि प्रयोग र खोज कस्ले गर्यो भन्ने कुरामा पनि नेपालीका भूमिका नै सर्वोपरि छ भन्नेकुरा बिभिन्न आधारहरुबाट प्रष्टिएको छ । खगोलशास्त्रको ज्ञान, चिकित्सा पद्धतिको ज्ञान, प्राकृतिक जडीबुडीको पहिचानमा नेपाली नै प्रथम हुन यसमा कसैले शंका गर्ने ठाउँ नै छैन । विरताको गाथा भौगोलिक विविधताको सौन्द्धर्यताको संगम, हिमालयको शिर देखि समस्त हिमवतखण्ड र मानसखण्डको मूलभूमिको हैसियतले नेपाल र नेपाली संसारको कुनैपनि देशभन्दा न हिजो कमजोर थियो न आज छ । मात्रै कमजोर र निकम्मा छ भन्ने अर्नगल भाष्य बनाइएको मात्रै हो । यस्तो भाष्य बनाउने जुनसुकै व्यक्ति, समूह, संगठन, वा देश यी सबै नेपाल र नेपालीका प्रधानशत्रु हुन् ।
नेपालीको स्वभाव कहिल्यै पनि कसैसँग मागेर खाने रहेको छैन । कसैसँग आफ्नो स्वाभिमान बन्धकी राखेर खाने पनि रहेको छैन । कसैसँग कुनै साँस्कृतिक बिरासत सापटी मागेर आफ्नो काम चलाउने नेपालीको शान नै होइन । जहाँ जुन कुनाकन्दरामा बस्यो त्यहिँ आफ्नो पद्धतिको निमार्ण गर्ने, आफ्नै साँस्कृतिक बिरासतमा गर्व गरेर पूर्खाको पदमार्गलाई आफ्नो उपासना ठान्ने र ठाडो शिर गरेर आफ्नै पाखुरामा विश्वास गर्ने र आफ्नो पौरखमा रजगज गर्ने नेपाली स्वाभिमान एउटा हातधुन नजानेको, खान नजानेको, केहि नभएको, साँस्कृतिक पाखण्ड भएको भनेर विदेशी संस्था या तीनले कलो खुवाएर पालेका नेपाली गोठालाहरुले भनेको पत्याउनुपर्ने हो र ?ती गोठालालाई सलाम गरेर तीनका सामु कठैबराको स्थितिमा जानुपर्ने हो र ?कहिल्यै कसैका सामु नफैलेका हात, नझुकेको शिर ती गोठालाहरुको सामु फैलाएर शिर झुकाएर आफ्ना पूर्खाको आफ्नो सँस्कृति र सभ्यताको अपमान गरेर र सहेर बस्न पर्ने हो र ? त्यस्ता परचक्रितत्वहरु, त्यस्ता गोठालाहरु नेपाल र नेपालीका वास्तविक प्रधानशत्रु हुन ।
नेपाल गरिब बिपन्न देश हुँदै होइन । नेपालमा नभएको पनि केहि छैन । नेपाल कसैको दास बनेको देश पनि होइन । नेपालको भूगोल केहि नफल्ने वा कुनै एउटा मात्रै चिज रहेको देश पनि होइन । यो कथा होइन, यो मिथ्या होइन यो वास्तविकता हो हाम्रो भौगोलिक वातावरणीय यथार्थ हो । फेरिपनि यसलाई स्वीकारे व्यवहारमा लागू गर्न नचाहने वा लागू गर्न नदिने र सधैं गलत भाष्य बनाएर नेपालीको मनमा गरिब र बिपन्नताको नकारात्मकता भराइराख्ने तत्वहरु नेपाल र नेपालीका प्रधानशत्रु हुन ।
नेपाली आफ्नै खानपीन छ । आफ्नै चाडवाड रितिरिवाज र परम्परा छ । कसैको खानपीनको वा रितिरिवाजको देखासिकी गरेर मात्रै हाम्रो समाजमा चाडवाड वा रितिथिती बसाउनु पर्ने दरकार छैन यसैले हाम्रो अस्मिता र मौलिकतालाई अविकसित, पाखण्ड भन्नेहरु नेपाल र नेपालीका प्रधानशत्रु हुन । हामी आफ्नै पद्धतिको शासन प्रशासन त्यो पनि कसैलाई विभेद नगरीकन चलाएको इतिहास छ । उदारचरितानां तु बसुधैव कुटम्बकम् र अतिििथ देवो भवः जस्ता विश्व बन्धुत्व र आत्मीयताको भाव सिद्धान्त र व्यवहार रहेका समाजमा नेपाली नेपाली बीचमा घृणवाद र कित्ताकाट अनि पानी बाराबार को अवस्था ल्याउने, विदेशीको वाद र प्रतिमानलाई जबरजस्ती लादेर विदेशीलाई महान देख्ने र सलाम ठोक्ने तर नेपालीत्व माथि नैतिक, भौतिक,समाजिक र साँस्कृतिक आक्रमण गर्नेहरु नेपाल र नेपाली वास्तवमा नै प्रधानशत्रु हुन ।
नेपालको समाजिक सुन्दरता आत्मीयता, कृषिमा भएको आत्मनिर्भरता, आफ्नै बीउबजिन र आफ्नै शीपबाट बचाएको आर्थिक अवस्थालाई तिरस्कार गराएर, त्यसको अन्त्य गराएर अरुको बजारीकरणको थलो बनाउन नीति र गोठालाहरु नै नेपालका प्रधानशत्रु हुन ।
नेपालको जैविक विविधतालाई विदेशीको पोल्टामा पार्नेहरु, यसलाई मास्न विदेशी वनस्पति र बीउहरु आयात गर्न दिने र पैसाको लागि नेपालका सम्पदामाथि आक्रमण गर्नेहरु नेपालका प्रधानशत्रु हुन । विकासको नाममा र शहरीकरणको नाममा विदेशी बैंकहरुको पैसा ब्याजमा लगाइदिन अहोरात्र खटिएका नेपालका व्यक्तिहरु, नेपालीको करबाट सातुखाएर नेपालका आफ्ना मौलिक भाषालाई हेलोहोंचो गर्दै यसमाथि हरेक क्षणक्षणमा आक्रमण गर्नेगराउनेहरु, नीति निर्माण गर्नेहरु, प्रायेजित एजेण्डा बोकेका आइएनजिओलाई नेपालको शिक्षा स्वास्थ्य लगायत हरेक ठाउँमा हालिमुहाली गर्न लगाउनेहरु नेपाली प्रधानशत्रु हुन ।
नेपालको इतिहासमा गर्व गर्दै, नेपाली स्वाभिमान ठाडो राखेकाहरु, पौरख गरेर खानेहरु, आफ्नो धर्मसँस्कृति भाषा र सभ्यताका साथै नेपाली मौलिकतामा गर्व गर्नेहरुलाई गाली गलौच गर्नमा आफ्नो बौद्धिकता खर्चिनेहरु कहिल्यै पनि नेपाल र नेपालीका मित्र होइनन् र हुनपनि सक्दैनन् । यी त नेपाल र नेपालीका प्रधानशत्रु हुन । समग्रमा भन्नुपर्दा नेपाली मौलिकतालाई जुनसुकै तहतप्का आचारव्यवहारले अपमान गर्ने र मास्नेहरु नेपाल र नेपालीका प्रधानशत्रु हुन । सबैको बेलैमा प्रधानशत्रुको पहिचान गरौं ।