संकटमा मेडिकल कलेज !

नेपालगन्ज मेडिकल कलेज बाँके मात्रै नभएर पश्चिम नेपालका बिरामीहरु उपचार गर्न आउने अस्पताल हो । २०५३ सालमा स्थापित मेडिकल कलेजले स्वास्थ्य सेवासँगै एमबिबिएस, स्टाफ नर्सको अध्यापन गराउँदै आएको छ । अस्पतालको प्रमुख स्रोत अस्पतालमा आउने बिरामीबाट प्राप्त शुल्क र एमबिबिएस विद्यार्थीले भुक्तानी गर्ने शुल्क हो ।

झट्ट हेर्दा अस्पताल निकै चलेको जस्तो देखिन्छ । तर, गत दुई आ.व. देखि अस्पतालले आर्थिक संकट झेलिरहेको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । जसका कारण कर्मचारीको तलब समेत समयमा भुक्तान गर्न नसकेको बिहीबार अस्पताल व्यवस्थापनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कर्मचारीहरु विभिन्न माग गर्दै आन्दोलन गरिरहेका छन् । कर्मचारीले अस्पतालको ओपिडि समेत बन्द गरिदिएका छन् । जसका कारण दैनिक १५ देखि २० लाख रुपैयाँ क्षति हुने अस्पताल व्यवस्थापन समितिको भनाइ छ ।

पत्रकार सम्मेलनमा अस्पतालका बित्त निर्देशक श्याम शर्माले कोभिडका कारण बिरामी संख्यामा कमी आउनु, एमबिबिएस विद्यार्थी भर्ना नहुनु, पहिले भन्दा विद्यार्थी संख्या भर्ना गर्न क्रमशः सरकारकै मापदण्ड अनुसार घटाउनु परेको, एमबिबिएस शुल्क घटाउनु पर्दा कर्मचारीको तलब भुक्तानी समयमै गर्न नसक्ने अवस्था आएको बताए । ‘यो कोभिड र विद्यार्थी भर्ना गर्न नपाउँदा सिर्र्जिएको आर्थिक संकट हो’, उनले भने, ‘अहिले नोक्सानमा छौं, अस्पताल राम्रो सँग चल्यो र विद्यार्थी भर्ना गर्न पाइयो भने नोक्सान पूर्ति हुनेछ ।’
बित्त शर्माले गत आ.व.मा १ सय ४२ करोड रुपैयाँ अस्पतालले आम्दानी गर्दा १ सय ४६ करोड भन्दा बढी खर्च भएको जानकारी दिए । त्यसअघिको आ.व.मा पनि अस्पतालले ठूलो नोक्सानी ब्यहोरेको छ । ‘१८ करोड जति नोक्सानीमा छौं’, उनले भने, ‘कर्मचारीको तलब भुक्तानी समस्या होइन, हामीले एमबिबिएस विद्यार्थी दशैं अघि भर्ना हुन्छन् भन्ने अनुमान गरेका थियौं तर अहिलेसम्म विद्यार्थी भर्ना भएका छैनन्, जसले गर्दा कर्मचारीको तलब भुक्तान समयमा गर्न नसकिएको हो ।’

नेपालगन्ज मेडिकल कलेजले २०७७ चैत्र देखि २ महिना ढिलो गरी तलब भुक्तानी गरिरहेको छ । यसैक्रममा ३ महिना अघिदेखि तलब नपाएको भनी कर्मचारीले तालाबन्दी गरेका हुन् । अस्पतालका कर्मचारीहरुको मुख्य माग भने तलब वृद्धि हो । तर, अस्पताल घाटामा रहेको अवस्थामा तलब बढाउन नसकिने अस्पतालका प्रबन्ध सञ्चालक सुरेशकुमार कनोडियाले जानकारी दिएका छन् । ‘नाफामा हुँदा २०७५ सालसम्म कर्मचारीलाई कुनै न कुनै रुपमा थप लाभ दिइएको थियो’, उनले भने, ‘घाटामा रहेको कम्पनीले अहिले कसरी तलब बढाउन सक्छ ।’ प्रबन्ध सञ्चालक डा. कनोडियाले आ.व. २०७५÷०७६ सालसम्म एमबिबिएस भर्ना शुल्क ४८ लाख रुपैयाँ रहेकोमा सरकारले घटाएर ४२ लाख ३६ हजार तोकेको जानकारी दिए । ‘भर्ना शुल्क घटाइदियो सरकारले, कोभिडका कारण गत आ.व.का विद्यार्थी अझै भर्ना हुन आएका छैनन्’, उनले भने, ‘४८ लाख शुल्क लिएका विद्यार्थीलाई रकम फिर्ता गर्नु पर्यो जसले गर्दा थप संकट अस्पतालले ब्यहोरिरहेको छ ।’ डा. कनोडियाले अस्पताल नोक्सानमा गएपछि श्रम ऐन अनुसार तलब सुविधा भने कर्मचारीलाई ऋण लिएर भएपनि दिएको बताए । ‘दुई महिनाको रोकिएको छ, हामी विद्यार्थी भर्ना भएपछि त्यो पनि दिन्छौं’, डा. कनोडियाले भने, ‘तर, अहिले तलब बढाउने माग कुनै पनि हालतमा पुरा गर्न सकिंदैन ।’ डा. कनोडियाले यसबारेमा श्रम कार्यालयमा समेत मजदुर संगठनका प्रतिनिधि, श्रम अधिकारी र अस्पताल व्यवस्थापन पक्ष बीच छलफल भएपनि सहमति हुन नसकेको जानकारी दिए ।
‘कोभिडका बेला १० देखि १५ प्रतिशत क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्यो’, डा. कनोडियाले भने, ‘तर, हामीले बर्षौदेखि काम गरिरहेका कर्मचारी कटौती गरेनौं, पुरै तलब दियौं ।’

हाल मेडिकल कलेजमा टिचिङ्ग तर्फ १ सय ६० र अन्य १ हजार २ सय ५० बढी कर्मचारी कार्यरत रहेका छन् । अस्पतालमा विभिन्न कर्मचारी संगठन सक्रिय रहेको छ । संगठनका कतिपय व्यक्ति हाजिर मात्रै गरेर तलब बुझ्ने गरेको विषय पनि पत्रकार सम्मेलनमा चर्चा भएको थियो । अस्पताल व्यवस्थापनले अस्पतालको समस्या बुझ्ने र यसलाई बलियो बनाएर सेवा, सुविधा बढाउने भन्दा पनि मजदुरका नेतृत्वहरु कर्मचारीलाई भ्रममा पार्ने काम गरिरहेको बताउँछन् । व्यवस्थापनले राजनीतिक आडमै केही कर्मचारी हाजिर गरेर हिड्ने, तोकिएको काम नै नगर्ने गरेपछि जिम्मेवारी पनि दिन छाडिएको बताउँछ । ‘अहिले धेरै कर्मचारीलाई अस्पतालको वास्तविक अवस्थाबारे भ्रम छरिएको छ, उनीहरुलाई वास्तविकता बुझाउने हो भने आन्दोलन नै हुँदैन’, कर्मचारीलाई अस्पतालको अवस्था बुझाउन नसकेको हो कि भन्ने प्रश्नमा अस्पताल व्यवस्थापनले भनेको छ ।

‘यो संकट सधै रहँदैन, बिस्तारै हट्दै जान्छ, अहिले अस्पताल बचाउने बेला हो, कर्मचारीले आन्दोलन होइन अस्पतालले सघाउने तर्फ सोच्नुपर्दछ’, डा. कनोडियाले भने । उनले महामारीमा समेत रोक्न नमिल्ने अस्पतालका सेवा कर्मचारी आन्दोलनले ठप्प भएको बताए । ‘अस्पताल सबैको हो’, उनले भने, ‘सञ्चालनमा बाधा नआओस् भनेर यहाँको प्रहरी, प्रशासन, नागरिक, अस्पताल व्यवस्थापन सबै जिम्मेवार हुनुपर्दछ, आवश्यक भूमिका खेल्नु पर्दछ ।’ डा. कनोडियाले आगामी आ.व.मा अस्पतालको आर्थिक अवस्थामा सुधार आए तलब तथा सुविधा कसरी बढाउन सकिन्छ त्यसबारे छलफल गर्न सकिने बताए ।

अस्पतालले सन् २०१४ देखि अस्पतालको आम्दानी घट्दै घाटामा गएको दाबी गरेको छ । अस्पतालमा १ सय ५० जना एमबिबिएस विद्यार्थीको अध्यापन हुँदै आएकोमा अहिले घटेर १ सय रहेको छ । त्यसमा पनि पूर्ववत् शुल्क घटाइएको छ । जसले गर्दा अस्पतालको मुख्य आम्दानीको स्रोतमा नै कमी आएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए ।
सहायक निर्देशक डा. नितेशले अस्पतालमा बिरामी संख्या कम हुँदा पनि आफ्नो क्षमता अनुसार कर्मचारी राख्नुपर्ने बाध्यताले पनि खर्च बढी हुने गरेको बताए । ‘स्वास्थ्य सेवा शुल्क अन्य मेडिकल कलेजको तुलनामा हाम्रो कम छ’, उनले भने, ‘एउटै मेडिकल कलेज भएपनि कोहलपुर र नेपालगन्जबाट सेवा दिएकाले सबै सामान, विशेषज्ञ चिकित्सक सहित अन्य कर्मचारी पनि दुवै ठाउँमा व्यवस्था गर्नुपरेको छ, जसले खर्च झन् बढेको हो ।’ डा. नितेशनले कोभिडका बेला कोहलपुर अस्पताललाई कोरोना विशेष अस्पताल बनाएर शल्यक्रिया सहितको व्यवस्था गरेपनि दैनिक ३ लाखबाट आम्दानी घटेर ७० हजारसम्म झरेको सुनाए । ‘कोभिडका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी सहितका अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्नुपर्यो, उनीहरुको खानपान र बासका लागि पनि अस्पतालले ठूलो खर्च गर्नु परेको छ’, हाल अस्पतालमा नोक्सानमा गएको कारणबारे जानकारी दिंदै उनले भने ।

अस्पतालका सहायक निर्देशक डा. नितेशले विभिन्न जिल्लामा अहिले राम्रा अस्पताल सञ्चालनमा आएको, सरकारले पनि स्थानीय तहदेखि नै स्वास्थ्य सेवामा विशेष ध्यान दिएकाले सामान्य उपचारका लागि मेडिकल कलेज आउने बिरामीको संख्या घट्दै गएको बताए । ‘जटिल बिरामीहरु मात्रै मेडिकल कलेज आउने वातावरण बनेको छ, जसले अस्पतालको आम्दानी घटाउँदै लगेको छ’, उनले भने ।
अस्पतालले दैनिक १ हजार २ सय बढी बिरामीको स्वास्थ्य परीक्षण सँगै ६० को हाराहारीमा मुटु बाहेक अन्य बिरामीहरुको शल्यक्रिया गर्दै आएको छ ।

यसअघि मेडिकल कलेज बिक्री हुने चर्चा चलेपनि अहिलेसम्म त्यो भएको छैन । ५१ प्रतिशत शेयर किन्न चाहेकाले ३५ प्रतिशत भन्दा शेयर नपाउने अवस्था भएपछि अहिले अस्पताल बिक्री गर्ने भन्ने विषय टुंगोमा नपुगेको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । ‘लगानीकर्ताले नाफा खोज्छ, अस्पताल घाटामा छ अहिले, हालको घाटा पूर्ति गर्न अस्पताल राम्ररी सञ्चालन गर्ने हो भने अझै दुई बर्ष लाग्छ’, अस्पताल व्यवस्थापन भन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया