नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ । बर्षाले देशभर जनधनको क्षति पुर्याएको छ ।
दसैंको बिदाका बेला काटिएका धान बर्षात्का कारण खेतमै बगेका छन् । काट्न ठिक्क परेका धान बषात्को पानीले खेलमै ढलेका छन् । देशभर बर्षात्ले धानमा नोक्सान पुर्याएको छ । बाँके, बर्दिया सहित पश्चिम नेपालमा यसपटक धान खेती राम्रो भएको थियो । ‘उत्पादन त राम्रो थियो, काट्ने बेलामा बर्षात्ले धानमा ठूलो क्षति पुर्यायो’, बाँके जानकी गाउँपालिकाका किसान गंगा काँदु भन्छन् ।
नियमित वर्षा भइरहेकाले किसानले खेतमा काटेको धान पानीले डुबाएको छ । हावाहुरीसहितको वर्षा हुँदा नकाटेको धान पनि पुरै ढलेर नोक्सानी भएको राप्तीसोनारी गाउँपालिका– ७ फत्तेपुरका किसान लालबहादुर थापाले बताए । ‘हावाहुरीसँगै आएको पानीले पाकेको धान सबै डुबाएर ठूलो नोक्सानी पुगेको छ’, थापाले भने, ‘पानी परिरहेकाले धान स्याहार्न पाइएको छैन, ढलेको धान कुहिन थालिसकेको छ । बीउ जोगाउन पनि गाह्रो हुने भयो ।’
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।
दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ’, दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भने । उनले भने, ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।’
पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । तुलसीपुर–६ का किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको जानकारी दिए ।
वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको बाँकेका किसान बताउँछन् । लगातारको कात्तिके झरीले पश्चिम नेपालका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।
तीनदिनदेखि हावाहुरीसँगै भएको वर्षात्ले बाँकेमा काटेर खेतमा राखेको र काट्ने तयारी अवस्थामा रहेको धानबालीमा ठूलो नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिएका छन् । उनका अनुसार, काटेकोमध्ये २० प्रतिशत बढी धानमा नोक्सानी पुगेको छ भने ४० प्रतिशत जति धान हावा र पानीका कारण ढलेर क्षति भएको अनुमान छ । धान बालीमा क्षति हुनेक्रम जारी रहेकाले केही दिनपछि मात्रै पूर्ण जानकारी आउने छ ।
बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धानखेती लगाइएको छ । त्यसमध्येमा २५ देखि ३० प्रतिशत क्षेत्रफलमा राधा–४ धान किसानले लगाएका छन् । यो वर्ष समयमै धान रोपाइँ भएका कारण उत्पादन बढ्ने आशा गरिएको थियो । स्याहार्ने बेला धेरै पानी परेर उत्पादनमा नोक्सानी पु¥याएका कारण किसान निराश बन्न पुगेका छन् ।
जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ ।
आइतबार देखि परेको पानी सँगै चलेको हावाका कारण बर्दियामा ३५ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । एकीकृत कृषि तथा पशुपक्षी बिकास कार्यालय बर्दियाका अनुसार, जिल्लामा धानले ओगटेको क्षेत्रफल ५० हजार २ सय ५० हेक्टर रहेकोमा १० हजार हेक्टर क्षेत्रफलमा काटेको धानमा नोक्सानी पुगेको छ, भने नकाटेको खडा बालीलाई हावाले ढालेर २५ हजार २ सय क्षेत्रफलमा नोक्सानी पुगेको छ ।
बर्दिया जिल्लाका किसानहरूले सुरक्षित कटान १५ हजार ५० हेक्टरमा गरेको एकीकृत कृषि तथा पशुपक्षी बिकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले जानकारी दिए । समाचार तयार पार्दा सम्म काटेको धानमा भएको क्षति १९.९ प्रतिशत पुगेको छ भने सुरक्षित कटान २९.९५ प्रतिशत रहेको कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
यसैबीच, धानमा आएको समस्या, समाधानका लागि उपाय खोज्न र किसानलाई जोगाउन तत्काल केही ठोस निर्णय लिन किसानका संगठनहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउदै किसानलाई यो वर्ष वर्षाले थप पीडा दिएकाले सरकारले धान खरिद गर्दा राहत पुग्ने गरी खरिद गरिदिन आग्रह गरेका छन् । धान उत्पादन गर्दा लगानी किसानले धेरै लगाउनुपर्ने भएकाले यसलाई मध्यनजर गर्दै तोकेको मूल्यमा थप राहत दिनेगरी वृद्धि गरेर धान खरिद गर्न जोड दिएका थिए । धान भित्राउने बेला लगातार परेको पानिका कारण भएको नोक्सानीको क्षतिपूर्ति सरकारले दिनुपर्नेमा जोड दिएका थिए ।
सरकारले धान खरिद गर्दा निश्चित मात्रा नतोकेर धेरै भन्दा धेरै खरिद गर्नुपर्नेमा समेत ज्ञापन पत्र बुझाउन आउने किसानका अगुवाहरुले जोड दिए । किसानले उत्पादन गरेको कृषि वस्तुले उचित मूल्य नपाएको भन्दै यस तर्फ पनि सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका छन । ज्ञापन पत्रमा किसानका समस्या जस्ताको त्यस्तै रहेको भन्दै यसतर्फ अखिल किसान महासंघको गम्भिर ध्यानाकार्षण भएको उल्लेख गरिएको छ ।
सघंले किसानले उत्पादन गरेको धानमा भएको क्षतिलाई स्थानीय, प्रदेश र संघीय सरकारले गम्भीर रुपमा लिएर उचित राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । साथै किसानले उत्पादन गरेको धानले उचित मुल्य नपाइरहेको अवस्थामा सरकारले तोकेको समर्थन मुल्यमा छिटो खरिद प्रक्रिया अघि बढाउन समेत सचेत गराएको छ । सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद नभए आन्दोलन समेत गरिने चेतावनी सघंले दिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्रि आरती पौडेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक खडक बहादुर खड्का, अखिल नेपाल किसान महासंघ बाँकेका संयोजक केबल प्रसाद शर्मा, राष्ट्रिय कृषक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सर्वजित विष्ट लगायत किसानका अगुवाहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीलाई ज्ञापन पत्र बुझाएका थिए । धान खरिद प्रक्रियाका लागि निर्देशन आए लगतै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी खरिद गरिने मात्रा र दिन तोकिने बताए । प्रमुख जिल्ला अधिकारीले तत्काल कृषि ज्ञान केन्द्रलाई धान खेतीमा भएको नोक्सानीको डाटा लिन निर्देशन समेत दिए । उनले किसानको समस्या समाधान गर्न पहलकदमी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाए ।